“जीवन ! तँ भ्रम होस्, म सत्य हुँ ।” मृत्यु दाबी गर्छ ।
“होइन, म सत्य हुँ, तँचाहिँ भ्रम होस् ।” जीवनले पनि त्यस्तै दाबी गर्छ ।
“कसरी तँ सत्य होस् ।” मृत्युले जीवनलाई प्रश्न गर्छ ।
“त्यसो भए तँ चाहिँ कसरी सत्य होस् त ?” मृत्युको प्रश्नको उत्तर दिनुको सट्टा जीवनले पनि मृत्युलाई उल्टै प्रतिप्रश्न गर्छ ।
“जीवन दुई दिनको घामछायाँ हो । आज छ, भोलि छैन । अस्थायी छस् तँ । जीवनधारी कोही पनि अजम्बरी छैन । दार्शनिकहरूले पनि जीवनलाई भ्रम भनेका छन् । त्यसैले तँ भ्रम होस्, मात्र भ्रम । अनि म मत्यु मात्र सत्य हुँ । हरेकले एक दिन मर्नुपर्छ । हरेकको मृत्यु सत्य भएकाले म सत्य हुँ” मृत्यु आफ्नो दाबीलाई पुष्टि गर्न खोज्छ ।
“जीवनलाई भ्रम देख्ने अनि मृत्युलाई सत्य देख्ने चाहिँ को हुन् । के ती पनि जीवनधारी होइनन् र ?” जीवन भन्छ ।
“हो । त्यो त हो । मृत्युलाई सत्य र जीवनलाई भ्रम देख्ने ती सबै जीवनधारी नै हुन् ।” मृत्यु भन्छ ।
“जीवनलाई भ्रम देख्नेहरूको जीवन पनि भ्रम हो ?” जीवन मृत्युलाई प्रश्न गर्छ ।
“हो, तिनीहरूको जीवन पनि भ्रम हो, जो जीवनलाई भ्रम र मृत्युलाई सत्य देख्छन् ।” मृत्यु गर्वका साथ भन्छ ।
“अनि भ्रमरुपी जीवनले सत्यरुपी मृत्युलाई कसरी बुझ्छ ? के भ्रमले सत्य देख्छ ? बुझ्छ ? जो आफैँमा भ्रम छ भने उसले देखेको बुझेको कुरा कसरी सत्य हुन सक्तछ ? बरु सत्यले भ्रम देख्न सक्तछ, भ्रमले सत्य देख्न सक्तैन । त्यसैले मृत्यु सत्य होइन । बरु जीवन अर्थात् म नै सत्य हुँ ।” जीवनले पुनः दाबी गर्छ ।
“तर जीवन ! तँलाई पनि सत्य कसैले स्वीकार गरेको छैन । म पनि तँलाई सत्य स्वीकार गर्न सक्तीन ।” मृत्यु भन्छ ।
“म पनि तँलाई सत्य स्वीकार गर्दिन ।”
“म पनि गर्दिन”
“म पनि….”
———–
दुवैको असहमतिका बीच सत्य र भ्रमको सहमति भयो । समझदारीपत्रमा लेखियो– “सत्य र भ्रम कसैले स्वीकार गर्ने वा नगर्ने विषय होइन । कसैले स्वीकार गर्दैमा वा नगर्दैमा भ्रम सत्य हुने र सत्य भ्रम हुने होइन । भ्रम र सत्यको कुनै परिभाषा पनि छैन । यो मात्र बुझाई हो । जसले जति बुझ्छ उसको लागि त्यही सत्य हो र बुझ्न बाँकी सबै भ्रम ।”
डा. टीकाराम पोखरेल
बुढानीलकण्ठ १२
कपन, काठमाडौँ ।
मोबाइल: ९८५१०५३१२७
