नझुल्किंदै घामअगावै
आमा त्यो डाँडामा झुल्किएकी हुन्छिन्
एक मुठी भटमासले
आधी रातसम्म पेट धानेर
पिठ्युमा गरिबीको डोकोले
थिचेपछि
उज्यालोमा कहिल्यै छोराछोरीको
अनुहार देख्न पाइनन् ।
समयले कैयौलार्इ ठगेपनि
मेरी आमाको सिन्दुर पोते
उसैदिन लुटेको थियो
जुन दिन
मेरा बा देशमुक्तिको लागि
घर छाडेका थिए
अचेल बेगले
आँगनका डिलबाट हुइकिएका
पँजेरोहरुले
मेरी आमाको सपना उडाएका छन्
धर्तीसँगै,आमाका मनहरू
हल्लाएका छन् ।
यो देशले मुक्तिको स्वास फेरि पनि
मेरी आमाको सेतो साडी
कहिल्यै फेरिएन
बिचरा !
अभावले बीचल्लित बनाएको मन
भित्रभित्रै आँसुले पुरेर
सन्तानको मन भरेकी छन्
काममा
माइला दाइको भाले नबास्दै
झोलुङ्गोमा बहिनीलार्इ सुताएर
कैयौं कोस टाढा पुगेकी आमा
जूनको उज्यालोले बाटो खोज्दै
तिखा ढुंगामा नाङ्गो खुट्टाले कुल्चदै
फर्किदा आँखा भरी आँसु पार्दै
बिर्सिएर पीडाहरू
दु:खलाई पन्छाउदै
सन्तानको भोक मेटाउछिन ।
आज कैयौ युग बितिसक्दा
कलम कापी ल्याउने आश्वासनमा
हिजो त्यही बाटो हुँदै गएका
मेरा बा
अनि बा गए पछि
आमाको रातो साडी खोलियो
सदनको ढोका खोलियो
तर, बालाई गाउँको ढोला कहिल्यै खोलिएन ।
रामकृष्ण अनायास,कविडाँडा
