
सूर्य चन्द्र रहेसम्म
नाका बन्द नाक बन्द, समान धेरै देखियो ,
नाका बन्दमा नेपाल, चल्नै सक्दैन थियो ।
नाक बन्दमा कुम्भक, दीर्घायु दायक हुने,
नाका बन्द नेपालीको, स्वाभिमान बढाउने ।
केटी रोटी दिएँ भन्ने, नाता गोता बिर्सिएर,
हिमाल नै ढल्छ अब, भन्दै बसे पर्खिएर ।
आकाश फल झर्दैछ, काटकुट गरी खाऊँ,
नेपालको जलधारा, सबै हामी लान पाऊँ ।
एक खुट्टा उचालेको, बकुल्ला ध्यानमा उनी,
मुखमा त रामराम, मन इन्द्र जाल बुनी ।
योग शिक्षकको अर्ति, नाक मुख हात जोरी ,
बस नचली उत्तर, होइन दक्षिण हेरी ।
नाक मुख, बन्द गरी, औषधि सम्म खाएनौँ ,
दीर्घ कुम्भकमा बस्यौं, देश दीर्घायु बनायौँ ।
कार्य गर अबिराम , समय खेर नफाल ,
सूर्य चन्द्र रहेसम्म, रहन्छ उच्च नेपाल ।
पद्मराज काफ्ले
