प्यारा नानीबाबुहरू !
यस पुसे ठण्डीमा न्यानो अभिवादन ।
जीवनमा सुन्नुपर्ने, गुन्नुपर्ने र सही लागेका कुराहरू व्यवहारमा लागू गर्नुपर्ने कुराहरू अनगिन्ती छन् । यद्यपि म यत्तिखेर सुन्न हैन सुनाउन उपस्थित छु । किनभने आफूले बुझेका र मनले खाएका कुरा अरूलाई सुनाउँदा सिकाइ दिगो हुन्छ । मन आनन्दले पुलकित हुन्छ । बेहोसीपन कम हुँदै जान्छ, मनमस्तिष्कमा होसीपन बढ्दै जान्छ ।
प्यारा नानीबाबुहरू ! म उमेरले आधा शताव्दी र पेशाले अढाई दशक चक–डस्टर समातेर कक्षाकोठा धाएको कृष्णगर्तको आलोकाँचो व्यक्ति हुँ । जीवनको बेहोसीपन सुनाउन र थोरै भए पनि प्यारा नानीबाबुहरूलाई होस दिलाउन सकेँछु भने आफूलाई सौभाग्यशाली ठान्ने छु । किनभने आजको युगमा अभिभावकका लागि भरपर्दो सूचनाका संवाहक आजका बालबच्चा नै हुन् । हरेक बालबच्चाका कुरा अभिभावकले सुन्नुपर्छ । जायज कुरा व्यवहारमा लागू गर्नुपर्छ । यस्तै सोचले हातपाउ नचल्दा पनि आफ्ना कुरा देब्रे हातले भए पनि सकसले लेख्न खोज्दै छु ।
म सिरहा जिल्लास्थित श्रीजनता मा. वि., गोलबजार–४मा पढाउँदै थिएँ । मलाई २०७४ कात्तिक १० गते अपरान्ह शिरदर्द भयो । कम हुन्छ कि भनी चिसो पानीले स्नान गरेँ । क्षणिक आराम भए पनि कुसमयमा गरेको कृत्यको फलस्वरूप शिरदर्द जोडतोडले भयो । घरपट्टी सुवर्ण दाहालले अस्पताल पुर्याउनुभयो । रक्तचाप २९०÷१५० पुगेको रहेछ । स्वास्थ्यकर्मी डराए र एउटा क्याप्सुल जीव्रोको जरामा राखीदिएर विराटनगर रिफर गरे । त्यत्तिञ्जेल मेरो दाहिने हात र ख्ट्टा लगायत आधा शरीरमै पक्षाघात भइसकेको रहेछ । चेतना सद्दे भए पनि मेरो बोली नबुझिने भइसकेछ । वरपर उभिएका लक्ष्मी, आमाबुबा, सुवर्ण दाइ, तुलसा म्याडमलगायतका आफन्तजन र शुभचिन्तकहरू अक्क न बक्क पर्नु भएछ । म अर्धचेतन अवस्थामा थिएँ ।
प्यारा नानीबाबुहरू ! म रातारात विराटनगरको विराट अस्पताल भर्ना गरिएँ । जेठा मामा अशोक र माहिला मामा वेदनाथ तिम्सिना मेरा हात र खुट्टाका नङ दाब्न र मलाई जागै राख्न तनमनका साथ लागिपर्नुभएको थियो । त्यत्तिखेर मेरो खाना निमपत्ती थियो । गोलबजारमै कसैले आचार्य सर ! के खानुहुन्छ ? भनेर सोधेको थियो । मैले केवल ‘निमपत्ती’ मात्र भनेर जवाफ फर्काएको थिएँ । कसैले एम्बुलेन्समै एक मुठो निमपत्ती ल्याइदिएछ । कर्यामकर्याम चपाउन थालेँ । तीतोले उच्च रक्तचाप कम हुन्छ, मस्तिष्कघात हुने सम्भावना कम हुन्छ भन्ने सुनेको थिएँ । जति चवाए पनि तीतो हुन्नथ्यो । करिब दुई किलो पत्ता खाँदा पेट त भरियो तर मन भरिएको थिएन । तीतो अति खाए मात्र बाँच्छु नत्र परमधाम पुग्छु भन्ने सोच्न पुगेँछु । यद्यपि अति तीतो सेवन आँखाको ज्योतिका लागि घातक हो भन्ने कुरा भुसुक्कै भुलेँछु । फलस्वरूप अहिले आँखाको शक्ति मधुरो हुँदै गएको अनुभूत हुँदै छ ।
प्यारा नानीबाबुहरू ! उच्च रक्तचाप हुनबाट बच्ने र पक्षाघात भइसकेपछि पनि न्यूनिकरण गर्दै सहज स्थितिमा कसरी आउने भन्ने सन्दर्भमा धेरैतिर सोधखोज, अध्ययन, मनन र चिन्तन गरेँ । यसबाट मनग्यै तथ्यहरू पत्ता लागे । उच्च रक्तचापका रोगीले धेरै मोटाउनु नहुने रहेछ । मादकपदार्थ, धुम्रपान सेवन गर्न त सख्त मनाहिरहेछ । असन्तुलित जीवनशैली, खानपिनमा गडबड र तनावपूर्ण दिनचर्या भएका मान्छेहरू नै उच्च रक्तचापबाट पीडित हुने रहेछन् । यत्तिखेर म पनि त्यसकै शिकार भएर अपाङ्ग जीवन भोग्न वाध्य छु ।
उच्च रक्तचाप रोगीले के खाने र के नखाने भनेर एक हप्ता जति माड मात्र पिएर प्राण बचाएँ । पाइपबाट पानी पिएर सास राखेँ । अहिले आएर थाहा पाएँ– फाइबरयुक्त अर्थात् रेशादार र पोटासियम बढी र सोडियम कम भएका खानेकुरा खाँदा हुने रहेछ । कोलस्ट्रोल घटाउने खानेकुरा उच्च रक्तचापवाला मान्छेलाई जरुरत पर्ने रहेछ । यसको कहिरन त लामै रहेछ । केही कुरा अघि सार्नु यहाँ आवश्यक देख्तछु ।
अदुवा, गाँजर, कागति, तुलसी, लसुन, फ्याट निकालेको दुध–दही, प्याज, मह, मेवा, मरिच, करेला, पाकेको खोर्सानी, चोकरसहितको गहुँको रोटी, मेथी खानु जरुरी हुन्छ । सौंप–जिरा–सख्खरको चूर्ण, सर्पगन्धाको जराको चूर्ण, अनार, स्याउ, अङ्गुर, नास्पति खानुपर्छ । कमल फूलको रस, नरिवल दानाभित्रको पानी, कटहर, हिंग सेवन गर्दा फाइदा पुग्छ । ब्रोकाउली, कोबी, टमाटर, फर्सी, लौका, हरिया सागसब्जी, मसरूम, चुकुन्दर, खरबुजा, तरबुजा, केरा, बदाम, माछा र त्यसको तेल, सोयाबिन जस्ता खानेकुराले लाभ पुर्याउँछ ।
उच्च रक्तचाप र त्यसले भएको पक्षाघातको बिमारीले कम भोजन खानुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । प्रत्येक दिन विहान नाङ्गो खुट्टाले दुबो वा घाँसमा १०÷१५ मिनेट हिँड्नुपर्छ । प्रत्येक दिन पक्षाघात भएका अङ्गको मसाज गराउनुपर्छ । स्वयम्ले पनि कोशिस गरिरहनुपर्छ ।
नानीबाबुहरू ! मैले आफ्ना अनुभूति रिट्ठो नबिराई समेटेँ । उच्च रक्तचाप वंशानुगत गुणका रूपमा पनि पुस्तौंपुस्ता हस्तातरण हुनेरहेछ । त्यस बीचमा मेरो जीवनशैली केही तनाव पूर्ण पनि थियो । मेरी मुमा स्वय म रक्तचापले पीडित हुनुहुन्छ । बेलाबेलामा परीक्षण गराएर आहारविहार सन्तुलन गर्न सकेको भए अहिले अपाङ्ग जीवन भोग्नुपर्ने थिएन भन्ने लाग्दै छ ।
खासमा म हाल उपचाररत् छु । अचल शरीरको दाहिने पाटो सुधार हुँदै छ । दर्जन जति डाक्टरलाई देखाएँ । अनुभवको कमीले गर्दा कसो गर्दा ठिक हुन्छ भनेर चारैतिर भौतारिँएँ । अहिले भने निश्चिन्त भएर ओखती सेवन गर्ने र घरेलु उपाय अपनाउने काम गरिरहेको छु ।
उच्च रक्तचाप साह्रै घातक र छुपारूस्तम बिमार रहेछ । आत्मविश्वासका साथ अघि बढ्न सके मृत्यु पनि पराजीत हुने रहेछ । सहयोगी आफन्तजन भेट्नसके रोगीलाई रोगसँग लड्ने क्षमता आउने रहेछ । दुनियातिर हेर्न धेरै समय बिताए पनि प्रत्येक दिन एकाध घण्टा सिर्फ आफ्ना बाँच्न सके जीवन सुखमय बन्ने रहेछ । स्वास्थ्यविनाको जीवन नरकको घर रहेछ । मेरा यिनै अनुभूतिलाई नानीबाबुले केही पाउन सक्नुभएमा मेरो यस प्रयत्नले सार्थकता पाएको ठान्ने छु ।
–नन्दलाल आचार्य
शिक्षक, श्रीजनता मा. वि., गोलबजार–४, सिरहा ।
