Skip to content


भोकै बस्न स्वयं तयार रहने खाना बनाएपछि
मात्रै खान तयार हुन्छ अरु को अर्काे अघाएपछि
पानीकै भरमा निरन्तर यहाँ को बस्छ सन्सारमा
भन्नोस् सज्जन हो अडिन्छ कसको सन्सार आधारमा ?

सोच्नोस् को हुन सक्छ यो भुवनामा आमा सरीको अरु
धर्तीमा सब मिल्न सक्छ तर के पाइन्छ आमाहरु
पैल्यै ध्वस्त हुने थियो यी नभए बाबा र आमाहरु
धेरै वर्णन गर्न सक्दिनँ यहाँ ऐले म खै के गरुँ ?

धर्ती हौ अझ स्वर्ग हौ गगन हौ आमा तिमी प्राण हौ
हाम्रो आश्रय हौ तथा भुवनकै आमा तिमी त्राण हौ
मायाकी प्रतिमूर्ति हौ भुवन यो आमा विना के छ र
हे आमा जगदम्बिके तिमी विना सन्सारको के भर ?

जस्को हार्दिक स्नेहमा भुवन यो मानौं अडेको छ कि
जस्को पावन पुण्य त्यो हृदयमा माया जडेको छ कि
हे माता यस विश्वमा तिमी सरी को हुन्छ त्यो आखिर
माताका चरणारविन्दतलमा मैले झुकाएँ शिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *