Skip to content

दलितका तीन प्रश्न


रिश्म र उदय एकै गाउँका निवासी र क्याम्पसका सहपाठी हुन् । दुवै आपसमा मिल्ने साथी पनि हुन् । क्याम्पस जाँदा सँगैसँगै जानेआउने गर्नु तिनको नित्यकर्म थियो । यथा नाम तथा रूप भने झै रश्मि निकै राम्री थिइन् । रूपले गर्दा उनलाई सबैले मन पराउँथे । उदय एक कट्टर ब्राह्मणका पुत्र थिए । रश्मि सार्कीकी छोरी थिइन् । सहपाठीको नाताले गर्दा दुवै निकै नजिकिएता पनि जातभातको अड्चनले गर्दा उदय निकै सतर्कतासँग रश्मिसँग नजिकिन्थे । आउनेजाने कर्मले निरन्तरता पाएकै थियो ।

एक दिन उदय क्याम्पस नगै आमालाई लिइ अस्पताल जान पर्यो । रश्मि ठिक समयमा क्याम्पस जान उदयको घरमा पुगिन् । रश्मिले उदयलाई देखिनन् र उदयको बाबासँग उदयको बारेमा जानकारी चाहिन् । उदयको बाबाले एकटक्कसँग रश्मिलाई हेरिरहे र भने ‘नानी खाटमा बस’ । रश्मिले हतार छ भन्दै पण्डितको आदेशको पालना गर्दै खाटमा अडेस लगाइन् ।

पण्डितले ‘नानी तिमी त निकै राम्री छौ’ भन्दै कपालमा हात पुर्याए’ ।

रश्मि झस्किइन् र भनिन् ‘ म त दलित परें ।’

पण्डितले भने –‘ सार्कीका त कन्या चोखा भन्छन्’ ।

रश्मिले पण्डितको आसय बुझिन् र उठ्दै भनिन् –‘राम्री पनि छु, उदयसँग मिल्ने साथी पनि हु म, सार्कीका कन्या चोखा हुन्छन् भने बुहारी बनाउन त’ भन्दै क्याम्पसतिर लागिन् ।

रश्मिको मनमा कौतुहल्ता जाग्यो, सार्कीका कन्या चोखा शब्दले उन्को मनमा निकै तर्कना उठे, सार्कीका कन्या चोखा भए ‘के सार्कीमात्रै अछुत हुन् त ? उनी प्रश्नमा नै अल्झिइन् । मान्छे स्वार्थी छ स्वार्थ पूर्ति गर्न, ऊ जे पनि गर्न तयार हुन्छ भन्ने सोच अङ्गाल्दै उनी कक्षा कोठामा पसिन् ।

रश्मिले आफ्नो बाबुसँग ‘सार्कीका कन्या चोखा हुन्छन्’ भन्ने शब्दको अर्थ सोधिन् । रश्मिका बाबुले पनि आश्चर्यमा पर्यो र सोध्यो –‘कस्ले भन्यो ?’ रश्मिले जवाफ दिइन् –‘पण्डित बाजेले’ । रश्मिका बाबुले पण्डितसँगै सोधेर अर्थ बताइदिने धारणा राख्यो ।

डाँडा घरेकोमा चहलपहल बढेको थियो । रश्मिका बाबाले बाँसलाई काट्दै थिए । कामी माइलाले मौलो ताछ्दै थियो । कामी कान्छाले मौलामा गाड्नको लागि त्रिशूल लिएर आएको थियो । दमै टुल्केले झल्लरी सहितको राम्रो चँदुवा लिएर आएको थियो । यिनै दलित लगायत सबै मिलेर ढुङ्गा बोकेर माटो मुछेर चौका बनाए र सप्ताह मण्डप तयार भयो ।

सप्ताहमा मूल बाचकी उदयका बुबा नै थिए । उनीबाट बाचन चलिरहेको थियो । आज दलितहरू पनि फूलपाती, अक्षता, अगरबत्ती आदि लिएर सप्ताह वाचन सुन्न आएका थिए । यस सप्ताह वाचनमा रश्मि र रश्मिका बाबु पनि आएका थिए । रश्मि फूलपाती लगायत पूजा सामाग्रीहरू लिएर पूजा मन्डपतिर अघि बढिन् ।

‘पण्डित बा सार्कीका कन्या चोखा भन्नुहुन्थ्यो, म त सार्कीकी छोरी आजसम्म कन्या नै छु कसरी अक्षुत भएँ, अर्को ढोकाबाट कामीहरू पूजापाठका सामाग्रीका साथमा लिएर पूजास्थलतिर बढे तर तिन्लाई पनि रोक लगाइयो, कामीले मोही पार्ने ठेकी चिरिएकामा फलामे पाताले बाँध्न र आँसी बनाउन जाँदा ठेकी छोइयो पण्डितबा अब के गर्नुहुन्छ ?भन्दा कामीको पानी(पाइन) चोखो हुन्छ भन्नु हुन्थ्यो ? मौले बनाउने त्रिशूलमा पाइन चढाउने कामी आज कसरी अक्षुत हुन्छ ?

अर्को ढोकाबाट दमै टुल्के प्रवेश गर्दै थियो, त्यहाँ पनि रोक लगाइयो, टुल्केले पनि प्रश्न राख्यो, पण्डितबा कपडा सिलाउनको लागि जाँदा कमेज लगाएर हेर्न खोज्दा यस्मा सियोमा धागो राख्दा थुक लागेको छ, धोएर पो लाउन ठिक भनेकोमा हजूरले भन्नुभएको थियो ‘‘दमैको थुक चोखो’’? यो झल्लरी सहितको चँदुवामा त मेरो थुक लागेकै छ । मेरो थुक चोखो म कसरी अक्षुतो ?’’ ३ थरी दलितले प्रश्नको सही उत्तर खोज्दै पूजा मण्डपमा पूजा सामाग्री सहित उभिइरहेका थिए र पण्डित बाजेले नजवाफ हुँदै दलितिर हेर्दै मुन्टो झुकाइरहेका थिए ।

सदानन्द अभागी

1 thought on “दलितका तीन प्रश्न”

  1. राम्रो लाग्यो ।
    समय सान्दर्भिक र राम्रो लाग्यो रचना ।

    भेषराज रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *