Skip to content

फाइल हराएको मान्छे


यो केही वर्ष अघिको कुरा हो । चर्चित कलाकार हरिवंश आचार्यले ‘चिना हराएको मान्छे’ पुस्तक लेखे । रातारात सेलिब्रेटी लेखक भए । पत्नी शोकमा डुबेका हरिवंशले नेपाली पाठकलाई राम्रैगरी पठन सामग्री दिए । उनको जीवन खुला पुस्तकमा पढ्न पाएर धेरैले साहित्यको आनन्द लिए । अहिले अख्तियारका मोनिटर लोकमान एकाएक ‘फाइल हराएको मान्छे’ भएर समाचारमा चर्चित भएका छन् । आखिर जसरी भए पनि चर्चित हुनुसम्म त हो । सुचर्चित या कुचर्चित ।

अखबारभन्दा अहिले अनलाइन पढिन्छ । संसारभर एक क्लिकमा हजारौं पाठक बन्छन् । तुरुन्त कमेन्ट र सेयर हुन्छ । लेखक र पाठकविच दोहोरो संवाद कायम हुन्छ । आफ्ना गल्तीबारे शीघ्र सच्चिने मौका पाइन्छ । रातारात सेलिबेट्री होइने अवसर मिल्ने हुँदा रहरले होस् या बाध्यताले सबै अनलाइनकै आगो ताप्न खोज्छन् ।

अख्तियार आफ्नो हाकिमको मुद्दाको ध्यान अन्तैतिर मोड्न ‘लडाकु शिविरको भ्रष्टाचारको फाइल’ टक्टक्याउँन लाग्दै छ । अदालत लोकले चाहेको लोकमानको मुद्दा पुनरावलोकनमा जुटेको छ । नेपाली पुराकथामा भनिएको थियो –‘सानी नानीले जेठाजुलाई देख्दा टाउको छोप्न घाँघरले ढाक्दा तलको लाज…….देखिएथ्यो ।’ नादानीले झन् ठूलो सङ्कट निम्तन्छ । गोठालो जाँदा ‘कालुले बाघ आयो बाघ आयो’ भनेर जिस्क्याउँदा तेस्रोचोटी साँच्चै बाघ आउँदा गाउँलेले सामान्य जिस्क्याएको ठानी मद्दत नगर्दा उसकै ज्यान गयो । यस पटकको बाघ टंगालतिर आउँदो छ क्यार !

सरकार भन्छ –‘भूकम्पका कारणले लोकमान नियुक्तिको फाइल हरायो ।’ सरकारको भन्ने काम हो भनिरहन्छ । गरिब देशको सरकारमा लाज नामको कुनै जिनिश हुँदैन । ‘इम्पेरियर न्यू क्लोथ’ त्यसै लेखिएको र महालोकप्रिय भएको होइन । लोकमान छन् र देश छ । लोकमान नहुँदा हुन् त देश पनि हुने थिएन सायद् । लोकमानका धेरै थोक हराएका छन् । २०५१ देखि २०५९सम्म त्रिभुवन विमानस्थलको प्रमुख हुँदा उनलाई लागेको भ्रष्टाचारको मुद्दा स्वय म अख्तियारले नै लडेको थियो । पछि सो हरायो ।

नेपालबाट समयान्तरमा धेरै कुरा हराएका छन् । गरिबका लागि लोकतन्त्रको नम्र्स हराएको छ । जारी भएको संविधानको कार्यान्वयन हराएको छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको चुनावी खाका हराएको छ । जबजब ओठमा ‘राजनीति’ को लाली दलिएका बुख्याँचाहरू राजनीतिक रण मैदानमा उफ्रिपाफ्री गर्छन् त्यसपछि सुशासन हराउँछ –शासनबाट । नैतिकता हराउँछ –शिक्षाबाट । उपचार हराउँछ –स्वास्थ्यबाट । सेवाभाव हराउँछ –धर्मबाट ।

सीमाविद् बुद्धि नारायणहरू भन्छन् –‘सीमाबाट जङ्गेबुद्धे हराए ।’ महिला अधिकारकर्मी चिच्याउँछन् –‘गाउँ घरबाट चेली हराएका छन् ।’ हुँदाहुँदा एमाले पदाधिकारीहरू समेतको सम्पत्ति विवरण हरायो –पार्टी कार्यालयबाट । एमाओवादी र काँग्रेसको केही हराएन किनकि तिनीहरूले पार्टी पदाधिकारीहरूको सम्पत्ति नै जाँचबुझ गर्ने लन्ठा गरेकै छैनन् । फेरि अहिले ती दुवै पार्टी घाँटी जोडेर सत्ताको तर मारिरहेका छन् । कस्ले कति कमाउने हुन् अत्तोपत्तो छैन । त्यसैले हराउने कुनै कुरै भएन ।

लोक कल्याणका लागि सिष्टमको खोजी हो –लोकतन्त्र । मुठ्ठीभर फाइदाका लागि अधिकारका ठेलीमा टिपेक्स दलेर ठालुहरूले लोकतन्त्रको परिभाषालाई समेत किर्ते गरी अनुकूल मीमांशा गरेका छन् । षडयन्त्रले सिष्टमको नदी धमिल्याएपछि कमाउने धन्दाको उद्योग शुरू हुन्छ । अभिनय फरकफरक गरेर अरबौंखरबौं कमाउनकै लागि कोही माक्र्सको दारी छाँटिरहेका छन् । कोही बीपीका जुँगा सफाचट गरिरहेका छन् । महेन्द्रका शिष्यहरूको रोइलो छ –यतिखेर देशैभरि ।

एकथरी भन्छन् –‘लेनिनका चेलाहरूले बीपीका चेलाहरूलाई राष्ट्रियता पढाउन सक्दैनन् ।’ अर्काथरी भन्छन् –‘फाष्ट ट्रयाकमा तदर्थवाद र अनर्थवाद हावी हुँदा जनताले सुविधा पाएनन् ।’ को ठिक को बेठिक जनताले राम्रै मूल्याङ्कन गरेका छन् । न्यायको त्यो परिणाम कुनै दिन मतपत्र हातमा परेका बेला उजागर हुनेछन् । माओका मतियारहरू धर्मको सिँग भाँच्न सफल भए । हुँदाहुँदा भाषाको खुट्टा काट्न सफल भए । संस्कृतिको लगौंटी फुकाल्न पनि कामयाव भए । युरो र डलरका तामझामले देश निन्याउरो भएका बेला जब आफ्ना भनिनेहरू नै आफन्त रहेनछन् अनि परायाले खेल्ने अवसर त पाउँछ नै । गरिबका मसिहा हौं भन्नेहरू नै गरिबका तालु ठोक्ने भए । काखी बजाउने भए । यस्तै बेलामा हो –लोकलाई आँखामा पिसाब छर्केर लोकमानहरू अर्ना बन्ने ।

‘लाटी’ले चलाएको जाँतोजस्तो भएको छ –हाम्रो देशको समावेशी शासन । लगौंटी खोलेर चोकमा लघुशंका गरेझैँ भएको छ –हाम्रो देशको प्रशासन । जता हेरै पनि भ्वाँङैभ्वाँङ् भएको घरजस्तो छ –हाम्रो देशको दारुण अनुहार । सार्वजनिक यातायात सिण्डीकेटको सुके लुतो र तिघ्रे सुनामीले दसैँका मुखमा यात्रुले अनन्त कहर पाएका छन् । अहिले नेपालका दूर दराजका गाउँमा धूलेहिले बाटाहरू छन् – गाडीका रूट पर्मिट छैनन् । यात्रुहरू कन्त बिजोगमा छन् –मोटरहरू छैनन् । फेरि देश तुइन युगमा सगौरव फर्केको छ । सलाम प्रागऐतिहासिक युगको जीवन पद्दतिलाई ।

६ हजार सानाठूला नदनदी छन् –बिजुली छैनन् । कसिला हातपाखुरा भएका युवाहरू छन् –देशमा काम छैन । राजनीति छ –कार्यनीति छैन । दर्शन छ –दाउन छैन । व्रतपूजाका निष्ठामय कार्य छन् – शास्त्र बुझेको बाहुन छैन । स्कुल छन् –विद्यार्थी छैनन् । ग्राहक छन् –सामान छैनन् । मुभी छन् –दर्शक छैनन् । तामझामका साथ संविधानको वर्षगाँठ मनाउन लाग्दैछ सरकार –कार्यान्वयन छैन । प्रदेश विभाजन छन् – तराईको मन मिलेको छैन ।

देशमा नसोचेको परिवर्तन आयो –सिष्टम आएन । सुमार्गमा हिँड्ने सुमार्गीहरू छैनन् । रानारुनी खोज्दा डा. गोविन्द केसी र महावीर पुनहरू छन् –सरकारी सुनुवाइ छैन । सरकारको हात छ –कान छैन । गोडा छ –आँखा छैन । टाउको छ –बुद्धि भएको विवेक छैन । मेरो देशमा घुम्ने मेचमाथि अन्धा मानिसको शासन शताब्दीऔंदेखि चल्या छ । आजित जनताको नौनाडी गल्या छ ।

केही हप्ताअघि एमाले नेता शङ्कर पोखरेलले टुइटरमा टुइट् गरे –‘मधेशी काला वर्णका भएरै असोज ३लाई कालो दिवस मनाउन लागेका ।’ पत्रकार धर्मेन्द्र झाले प्रतिउत्तर टुइट्मा बेजोड दनक दिँदै फर्काए –‘जति तपाईंलाई गोरो भएकोमा दम्भ छ । त्यति मलाई कालो भएकोमा हिनताबोध छैन ।’ बजार तात्यो । खगेन्द्र संग्रौलाले लेखै लेखे । सूर्य थापाहरूले प्रतिरक्षा गरे । पछि पोखरेल आफ्नो टुइट् मेट्न बाध्य भए । अदना जनताले बुझ्यो –एमाले मधेशप्रति सकारात्मक छैन । उसको रवैया चुनाव कै लागि घातक हुन सक्छ ।

एउटै भूकम्पका अनेक प्रकम्पहरूले देशबाट फाइल हराएको छ । इमानजमान र न्याय हराएको छ । लिकबाट देश हिँडेको छैन । पटरी नै ढलपल गर्दैछ । जापान र चीनले भए हाम्रा आएजस्ता भूकम्पलाई अवसर र देश निर्माणका लागि अनेक प्रयोग गर्थे । यहाँ गाली र लालीमै नेपालीहरू अल्मलिँयौं । अँझै पुनःस्थापनाको मूलबाटो तय भएको छैन । धुर्मुस र सुन्तली गिरान्चोकमा घर बनाउँदैछन् जनताका लागि । नेताले नजाने कति आफ्ना घरका तला थपे हूनन् । प्रकारान्तरले सार्वजनिक हुँदै जालान् ।

लोकमान लोकतन्त्रका ऐँजेरु हुन् । अहिले त फाइल मात्र हराएको छ । हेर्दै जानु छ –देशबाट आउँदा एकदुई दसकमा केके हराउँदै जानेछन् । केके फेला पर्दै जानेछन् । हराउनुका तमाम ‘क्याराभान’ भित्र देशै कतै नहराओस् । देश नामको खलो बाँकिरह्यो भने जसरी पनि शासनका दाइँ गर्ने सुविधा सुकिलामुकिलाहरूलाई अकण्टक बपौतीमा प्राप्त हुनेछन् । अँझै केके हराउँछन् –आगे समयलाई जिम्मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *