
घाम लागेको बेला पानी परेको बेला
आकाशैमा देखिन्छ रङ्गीचङ्गी मेला
तीन रङ्ग चार रङ्ग जम्मा सात रङ
इन्द्रेनीलाई देखेर परेँ म त दङ्ग
हिउँ पग्लिन्छ जब पानी बन्दछ तब
पहाडबाट छाँगो बनी झर्दछ अब
झरझर गरी झर्ने झरनाको ढङ्ग
झरनालाई देखेर परेँ म त दङ्ग
धरतीभरि हावा आकाशभरि हावा
हावाबिना न त बाँच्छ हात्ती न त छावा
सररर उडी जाने आकाशमा चङ्गा
चङ्गालाई देखेर परेँ म त दङ्ग
मूल रसाको पानी मेघ बर्सेको पानी
बोटबिरुवा अनि प्राणीको जिन्दगानी
सललल बगी जाने धरतीमा गङ्गा
गङ्गालाई देखेर परेँ म त दङ्ग
माटो छ धरतीमा ढुङ्गा छ धरतीमा
ढुङ्गामाटो कम छैनन् बाँधिन पिरतीमा
ढुङ्गाको भर माटो माटोको भर ढुङ्गा
ढुङ्गालाई देखेर परेँ म त दङ्ग
