Skip to content


आकाशमाथि बारिरहेछ
सायद म कल्पना सागरमा डुबेँ
कविता बनाएँ
भाव देखाएँ
वास्तविकताको कल्पना
अनुभवको सँगालो
युगबाट पिछडिएको मान्छे म
तर,
पछ्याउने प्रयासमै चित्त बुझाउनु छ, बुझ्छ पनि
म पहिलो पटक हावामा हावा भएर उडेँ ।

कसैले बनायो टारबारी देखाउने यन्त्र,
म त्यसमा कल्पित मात्र छु
मान्छेको बौद्धिकतामा म लाचार छु तर
भन्न सक्दिन ।
अनेकौँ भावको अथाह महासागरमा
अरुका गफ तर आफ्नो अनुभवहीनताभरि
म प्रतिक्षामा अल्मलिएँ
आकाशको मार्गमा दौडने
सायद कसैका लागि झुर गफ
म र मेरै स्तरको महान् कर्म गरेँ
आमालाई सुनाएँ
लाग्यो, बुबालाई आमाले भन्नुभयो
ऊ आज जहाज चढ्ने रे
अहो, कत्रो गौरव होला
म कल्पित थिएँ
लाग्यो अरुलेझैँ एउटा सेल्फी जहाजसँगै टाँसिएर खिचौँ
तर, मोबाइलले राम्रो तस्विर कैद गरेन
अलिकति माझिएको लाजबाट
अहो ! स्तरीय मेरो कपडा त भयो ?
म घोत्लिएँ
गम्न थालेँ
अरुतिर नियालेँ अनि आफूमा मोडिएँ
बडो मजा लाग्यो
परिचारिकाको स्वागत जबर्जस्तीको हाँसो
जागिरे बाध्यतामा मुन्टो गल्दो हो
दिक्क लाग्दो हो तर अनुशासन देखेँ, पैसा र पैसाको कमाल ।
अक्सिजन लगाउने, निर्देशन एकएक नियालेँ
अल्मिलिएँझैँ पनि भो
सिट बेल्ट बाँध्न खोजेँ नजानेर लाज मानिन
छेउका बुज्रुकले बेशब्द बाँधिदिए
मैले पनि अवाक धन्यवादको इसारा दिएँ
परिचारिकाहरू यताउता गरिरहे
चक्लेटको खोल तल फालिन
बदाम चपाएर बरिष्टताको ढोङ गरेँ
सायद म लाट्टिएँ,
पानीको गिलासलाई टेबलमाझैँ राखेको देखेँ,
मनलाई दौडाएँ, उसै हुँदो रहेछ ।

घण्टौँको थकान थिएन
अकाशिँदा अलिकति कहालीएँ,
बाटो सिधा कसरी पार्ला,
फेरि स्थिरताको आभास,
तल स–साना घर
बिल्डिङ पनि उस्तै झुप्रा
रोडहरू एकाएक गोरेटा
सबै गायब ।
पहाडको माथि आकाशे संसारमा म
कानमा रुवा लगाउने विचार भो
एउटै आवाजको रफ्तार
दुर्घटनाका समाचारले घोच्यो दिमाग
कुहिरोका बारी हो या हिउँको करेसाबारी
म गमिरहेँ
झ्यालको सिसामा दुई स्तर नियालेँ
पहाडमा ठोक्किएको सुस्ताउँदो किरण चियाएँ ।
बडो मजा छ बा ।
कुहिरोका ठूला टारझैँ
कति टम्म छ
त्यही माथि एकछिन बिसाएर उफ्रिउँझैँ
सोचेँ….
अहो सानो छँदा
मीठो दूध भात छोडेर आकाशको चरीलाई देखेजति हेर्थेँ
जुठै हात दौडिन्थेँ
सुनेसम्म त्यो आवाज सुन्थेँ
सानो भुसुनो जत्रो देख्थेँ
पापी पहाडले छेक्थ्यो
अर्कै संसार
आमाले गइसकेको भन्नुहुन्थ्यो
म भोलिको उही समयलाई कुर्थेँ
छुटिगएमा झनै दुःखी हुन्थेँ ।

हिउँको टारबारी
कतै महासागरझैँ घुर्मैलोपना
अलि हल्लिँदा भय मिश्रित कल्पना
ती गाउँ, बाटा गोरेटा त बिलाएछन् ।
हिउँले ढाकेको पहाड स्थिर
त्यहाँ डाँफेको आकृति देखेँ
तपोभूमिको कल्पना गरेँ
तर, एकैछिनमा ओझेलियो
फेरि उस्तै हिमालको ढाँचा भेटेँ
मेरा आँखा भित्रको संसार नदेख्ने जस्ता भएछन् ।
आमाबाबालाई विमान चढाउने धोको बोकेँ
पुष्पक विमानको कथाले घच्घच्यायो
काठमाडौँ आएको निर्देशन
ओरालो भासिएको भान
निर्देशन र स्वाभिमानमा
अहो ! मैले आकाशबारी देखेँ ।

रमेश भट्टराई ‘सहृदयी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *