Skip to content

रारा : यात्रा संस्मरण

RishiPokhrel


लाग्दै थियो,
यतै छोडेर मेरो संसार
म उसतर्फ बढ्दै थिएँ ..
विशाल क्षेत्रफलमा अडिग- ऊ रारा ।

यस्तो लाग्यो,
मेरो पृथ्वीनारायणले जस्तै
प्रकृतिले एकीकरण गर्दैछ त्यहाँ ।

एक सुन्दर खोचमा
लुकेको कोहीनुर देख्दा सोँचे,
ऊ पृथ्वीमा झर्दै गरेको एक तारा हो,
आँखा चिम्लेर हात जोडि केही मागे ।

ऊ मुस्कुरायो !
र, वरिपरि नियाल्दै सुटुक्क भनेँ –
मेरो संसारतिर पोतिएको हरियो रङ,
तिम्रो हरियालीभन्दा निकै फिक्का छ ।

ऊ फेरि मुस्कुरायो !
म हेरिरहे ..
रेमिट्यान्सले बगेजस्ता पानीका सुन्दर लहरहरू,
आफैँ भन्दै थिए –
सुन्दर देखिए पनि हामी सुन्दर हैनौँ ।

भूकम्पले भत्काएको मेरो धरहराको आत्मा
मैले त्यहाँ भेटेँ !
ईतिहासलाई पस्कदैँ भविष्यतर्फ दर्शाएर ..
वर्तमान कोर्न मलाई राराले आग्रह गर्यो ।

ऊ भित्र परावर्तन भएर छापिएको उच्च आकाश जस्तै ..
सायद, मेरा संसारतिर उच्च राष्ट्रियता खोज्दछ ऊ ।

एकछिन अलमल्ल परेँ
अनि, उसलाई मैले गर्वका साथ सुनाइदिँए –
“के तिमीलाई थाहा छ?
मेरो आफ्नै एक नेपालीले,
मङ्गल ग्रहमा पानी भेट्टायो ।”

उसले प्रतिप्रश्न गर्यो –
“के म मङ्गल ग्रहभन्दा टाढा छु ?”
म फेरि अनुत्तरित भएँ ।

सायद, ऊ एक्लो अनुभूति गरिरहन्छ ।

उसले मलाई केही भन्न खोज्दै थियो ..
म पनि भन्न चाहन्थे ।

तर,
न त शब्दमा उतार्न सक्थेँ ..
यहाँका बेहाल परिस्थितिहरू ।

न त जवाफ दिन सक्थेँ ..
उसले उभ्याएका राष्ट्रियताहरू ।

म साच्चिकै निशब्द भएँ,
अनि फर्किएँ
चुपचाप .. चुपचाप
बुद्धजस्तै शान्त ओठ,
र, मस्तिष्कभरि निर्दोष रारा बोकेर … ।।

-ऋषि पोख्रेल
(हाल: काठमाडौं )
स्थायी ठेगाना : कावासोती, नवलपरासी
अक्टोबर ११, २०१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *