लाग्छ
कविता र स्त्री उस्तै हो
हरेकको हरक
पृथकाभिमुख छ
उन्माद
उत्ताल तरङ्ग
र नसा नसा रन्किने राग
शश्यशालिनी धरतीमा
आफ्नै छ,
मनको तिजोरीमा
अनेक बहना छन्
डुङ्गा तैरिएका छन्
छचल्किएका छालका माझ
बैँस घोप्ट्याएर
म कवितालाई
लचकदार स्त्री देख्छु,
आफ्नै सन्धान
परिधिको व्योम
व्यास काटेर उत्तेजनाको
प्रत्येक पुरुष
जति दौडियोस् जीवनमा
स्त्रीभन्दा टाढा
पुग्न सकेनन्,
लाग्छ
कविता र स्त्री उस्तै हो ।
पेशल आचार्य
मोबाइल : ९८४४०४४०८३
