जहाँ स्वर्गीय आनन्द जहाँ दृश्य अलौकिक
जहाँ छ सभ्यता बेग्लै जहाँको रीति मौलिक
त्यस्तो जो स्थानमा मैले आफूलाई पुर्याइनँ
सधैं भोक सधैं तिर्खा हसुरेरै अघाइनँ ।।
कर्काकै कामको थुप्रोबाट फुर्सद पाइनँ
पुर्खाको बारीमा केही छर्नैसम्म सघाइनँ ।।
आफ्नो मूर्ख्याइँमा कैल्यै लाजले पछुताइनँ
देशको सानका लागि सिन्को भाँच्नै सघाइनँ ।।
काबेली कोशी कर्णाली खोला झैं म सुसाइनँ
रुखै बन्ने थियो इच्छा बिरुवा नै टुसाइनँ ।।
देशका लागि जे गर्न सक्थें त्यो गर्न पाइनँ
तथापि शत्रुको गीता कहिल्यै पनि गाइनँ ।।
कमाइ धन सम्पत्ति देश भित्र म आइनँ
चाहन्थें देशमै बस्न सुखले बस्न पाइनँ ।
रारा यो तालमा मैले आफूलाई भिजाइनँ
अर्कोको देशमा आई तथापि पछुताइनँ ।
मैले स्वर्गीय आनन्द देशमै देख्न पाइनँ
आतङ्कीहरूले गर्दा देशैमा बस्न पाइनँ ।।
अब देश उनै खाउन् उनैको राज होस् अब
उनैबाट चलोस् न्याय लुटून् राष्ट्रिय वैभव ।
हजारौं देश छाडेर बस्छन् बाहिर देशमा
मलाई पछुतो छैन मजा लाग्छ विदेशमा ।।
डिसीमा आज बस्तै छु भोलि जानु छ लन्डन
देशका लागि ता हुन्छु बालगोपाल ठन्ठन ।।
2016-10-26 05:17:44 +0000
