Skip to content


कुनै बेला म पनि भूमिगत भएको थिएँ– राज्यविरोधी गतिविधि गरिरहेको एउटा क्रान्तिकारी पार्टीको कार्यकर्ताका रुपमा । आफूमाथि कुनै संकट आइलागेर लुक्नुपरेको स्थिति थिएन । स्वेच्छाले अचानक हराएको थिएँ । संगठनको निर्णय थियो तर नेताका आग्रहलेभन्दा पनि आफैँले मागेर भूमिगत जीवन रोजेको थिएँ । २६ वर्षको भइसकेको थिएँ त्यसबेला । तर, अहिले फर्केर हेर्दा लाग्छ, अँझै प्रशस्त बालापन बाँकी थियो । त्यसबेलाका सपनाहरू सम्झँदा लाग्छ, एउटा सुन्दर निर्बोध पवित्रता थियो । विभिन्न देशमा भएका क्रान्तिका कथाहरूले प्रभावित दिमागमा ‘क्रान्तिकारी रोमान्टिसिज्म’ले पनि बास गरेको होला ।

देखासिकीको पनि भूमिका थियो होला । क्रान्तिको दर्शन भनेर जे जति पढिएको थियो, जे बुझिएको थियो, त्यसको आफ्नै भूमिका होला । जे होस्, जे–जेबाट जसरी प्रभावित भएको भए पनि त्यसरी भूमिगत संगठक भएर हिँड्नुको कारणमा काँचो तर साँच्चैको सामाजिक उत्तरदायित्वबोध भने पक्कै थियो । जेसुकैले कुतकुत्याएर, धकेलेर, बोलाएर होस्, आफ्नो डाक्टरी पेसालाई अस्पतालमै छाडेर र गर्भवती श्रीमतीलाई सहरमै छाडेर म भूमिगत भएको थिएँ– तत्कालीन नेकपा मालेको पूर्णकालीन कार्यकर्ता र संगठकका रुपमा । दुई वर्षसम्म त्यसरी झोला बोकेर हिँड्दाका कथा अनगिन्ती छन् ।
***
विसं ०३८तिर हुनुपर्छ, बर्खाको मौसममा एक दिन बिहान पूर्वी उदयपुरको एउटा जंगलबाट निस्किएँ र बाढीले सुन्निएको खोलाको किनारमा टेकेँ । मलाई बास दिने राई दम्पतीले भनेका थिए, “अहिले खोला तर्न सक्नुहुन्न, भोलि बिहानसम्ममा सुकिसक्छ । आज राती यहीँ सुत्नूस्, भोलि सबेरै जानुहोला । यो अँधेरोमा तपाईंलाई कसरी जानूस् भन्नू ? हामीलाई पाप लाग्छ । भो, नजानूस् ।”

अनि, एउटा कुच्चिएको थालभरि भुटेका मकै राखिदिए । ‘ज्येष्ठतामा त्यस थाललाई त म नै जित्छ’ु भनिरहेजस्तो लाग्ने उत्तिकै कुच्चिएको एउटा बटुकाभरि जाँड पनि राखिदिए । दिनभरिको हिँडाइले थाकेको र दुई–अढाई घन्टादेखि अपरिचित जंगलमा हराइरहेको मेरा निम्ति त्यो स्नेह र वास्ता, त्यो स्वागत अमूल्य थियो । थालभरिको मकै र बटुकाभरिको जाँड आमाको हातले बनाएको खानाजत्तिकै प्रिय थियो ।

मकै चपाउँदै, जाँडले घुटुक्क निल्दै बेलाबेलामा म उनीहरूलाई पुलुक्क हेर्थें । मेरो मनले भने तिनको अनुहार होइन, विशाल हृदयमा करूणाको सागर देखिरहेको थियो । ती जनता थिए । साँच्चैका जनता ।

ती गरिब तर दयालु जोईपोइका शब्दलाई मैले शिरोपर गरेको थिएँ । भोलिपल्ट बिहान सबेरै उठ्दा घरका पुरुष काममा हिँडिसकेका थिए । त्यो थाहा पाएर केही लजाएको म त्यो घरकी देवीसँग बिदा हुँदै गर्दा जब उनीहरूको नाम सोधेँ, तिनले अप्ठ्यारो मानिन् । ‘ यति गुन लाउने असल मानिसहरूको नामै थाहा नपाई कसरी हिँडौँ’ भनेपछि अप्ठ्यारो मान्दै ‘उहाँको नाम जगतबहादुर हो’ भनिन् तर आफ्नो नाम भने बताइनन् ।

उनले देखाइदिएको बाटो हिँड्दै जंगलबाट निस्कँदा, त्यस खोलाको किनारमा पुगेको थिएँ । खोलाको पानी धमिलो थियो । त्यो बेस्सरी रिसाएको हो कि फुर्केको हो, वास्तै नगरी म पानीमा हेलिएँ । तुरुन्तै थाहा पाएँ– ठिक गरिनछु । ‘हेप्छस्’ भनेझैँ गरी पानीले हुत्यायो । भाग्यले, पानीको प्रवाह अलि कम भएको छेउतिर हुत्तिएँ । सहरबाट गाउँ पसेर अँझै खारिइन नभ्याएका मेरा गोडा लुलै थिए । पानीको धार चर्को नभए पनि मेरा निम्ति त्यत्तिको पानी पनि गहिरै थियो । खुट्टोले भुइँ भेट्न छाडेपछि तैरिने प्रयत्न गरेँ । हातको छाता र कुममा बोकेको झोला फ्याँकेको थिइनँ । खुट्टाकै भरमा अलिअलि सिकेको भ्यागुते तालमा पानीमा तैरिन खोज्दै थिएँ ।

कसोकसो गरी फेरि भुइँमा खुट्टा टेक्न पुगेछु । तर, त्यो फोहोर पानी अलिकति पसिसकेछ । पानीको त्यो अनधिकृत प्रवेशलाई फोक्सोले अस्वीकार गरेको जनाउन सम्बन्धित सबै अंग हतारिए– सर्किएर म खोक्न थालेँ । निकै बेर खोकिरहेँ । कति बेरसम्म सर्किएछ, कुन्नि ! खोकी थामिने बेलासम्ममा वरिपरि निकै मानिसहरू थुप्रिइसकेका रहेछन् । दुखेको छाती र आँसुले भरिएको आँखा लिएर मैले लजाउँदै उनीहरूतिर हेरेँ ।

हातको छाताको एक छेउ एक जनालाई पुग्न दिएर अर्को छेउ समाउँदै म किनारमा निस्किएँ । एक जना प्रौढ महिलाले मलाई ‘ मास्टर नानी’ सम्बोधन गर्दै आराम गर्न आफ् नो घरतिर लैजान खोजिन् । एकछिन के गरुँ, कसो गरुँ भयो मलाई । दुई–चारचोटि खोलातिर पुलुक्क हेरेँ । उनले भने आकाशतिर हेर्दै एकछिनमा खोला सुकेपछि जान भनिन् ।

उनको कुरा ठीकै लाग्यो । म ‘मास्टर नानी’ नै भइदिएँ । बच्चाहरूसँग पढाइकै बारेमा कुरा गर्न थालेँ । उनीहरू किताब लिएर आए, म पढाउन थालेँ ।

एक जना पुरुष खाटमा पल्टिरहेका थिए– ओढ्ने ओढेर । बिरामी छु भन्थे तर कुराकानीमा राम्रैसँग भाग लिइरहेका थिए र टाठै देखिन्थे । उनको व्यवहार हेर्दा के हो के नमिलेजस्तो लागिरहेको थियो । मलाई घर लैजाने ती महिला बोलिन्, “चिसोले समाउला मास्टर नानीलाई । यस्तो बेलामा कुखुराको झोल खुवाउन पाए हुने !” म हाँसेँ मात्र ! एकछिनपछि ती फेरि बोलिन्, “फलानाको घरमा छन् क्यारे कुखुरा ! दिन्छन् होला नि !” ओछ्यानमा पल्टिरहेका प्रौढले भने, “पठा न त !” अनि, ओछ्यानमुनि हात घुसार्दै फेरि भने, “खै, पैसा पो कता राखेछु !” म बच्चाहरूसँगै रमिरहेको थिएँ । उनीहरूका कुरा पनि सुनिरहेको थिएँ । अनि, एकछिनपछि फेरि ती महिलाले भनिन्, “मास्टर नानीसँग छ कि, कुखुरो ल्याउन यहाँ पैसो भएन !”

मेरो खल्तीमा पैसा थियो । तर, एकएक पैसाको हिसाब बुझाउनुपर्थ्यो । कागज मोडेर, काटेर सानो चिटिक्क परेको नोटबुक आफैँ बनाउने चलन थियो कार्यकर्ताबीच । सबैले एउटा स्ट्याप्लर बोकेका हुन्थ्यौँ । त्यस्तै सानो ‘होममेड’ नोटबुकमा कहिले कहाँबाट कति पैसा आयो, कति केमा खर्च भयो, सबै लेखिन्थ्यो र बुझाइन्थ्यो । आफू एक जनाका निम्ति कुखुराको झोल खान भनेर त्यो पैसा खर्च गर्नु कुनै हालतमा ठिक थिएन । टंक कार्कीले याक चुरोट पिएकामा आलोचना खप्नुपरेको सुनिसकेको थिएँ । तर, ‘विशेष परिस्थिति’ भनेर चित्त बुझाउँदै आँटै गरेर मैले पैसा निकालेँ । यतिबेला बिर्सें, कति पैसा परेको थियो तर अहिलेको तुलनामा पैसा धेरै महँगो हुन्थ्यो, त्यतिबेला र कुखुरा धेरै सस्तो । त्यस्तै, १०–१२ रुपियाँ दिएँ होला । एकैछिनमा ठीकठीकै साइजको कुखुरो आइपुग्यो । तात्तातो झोल बन्यो । मसलाको गन्धले आन्द्राभुँडी सबै सलबलाउन लागे ।

धेरै दिनपछि सेतो चामलको भात खान पाइएको थियो । त्यो पनि ताऽऽतो पीऽऽरो कुखुराको झोलसँग । ओहो ! त्यो स्वाद ! मासुभात त एकैछिनमा खाइसकेँ । तर, थप्दैनन् बाऽऽ ! आखिर मुखै फोरेर मागेँ । थपिदिए ।

केहीबेर अलमलिएर म बिदा भएँ । त्यतिन्जेलसम्ममा खोला पनि थाकिसकेछ क्यारे । केहीबेरअघिको उसको फुर्तिफार्ती बाँकी थिएन । सजिलै तर्न सकिने स्थिति थियो ।

तर, खोलाकोभन्दा फरक र चर्को अर्कै बाढी आइलागेजस्तो भयो मलाई । त्यो गाउँका एक जना दाइ बिहानै बिजुलीपानी चढाइवरी ठीकठीकै भइसकेका रहेछन् । सनई लिएर नाच्दै फुक्दै ‘मास्टर साब’लाई बिदा गर्न तयार भएर आए । उनका वरिपरि गाउँलेहरू रमिता हेर्न जम्मा भए । तिनले सनई फुक्न थालेपछि त उत्पातै भइहाल्यो । त्यो भीडलाई उनको नाचले आकर्षित गरेको थियो कि संगीतले ?

उनको ठट्यौले पाराले मानिसलाई आकर्षित गर्थे कि बिजुलीपानीको प्रभावमा उनले गर्ने उत्पातले ? यो त्यति वास्ताको कुरा भएन । मेरो ध्यान त के कुरामा केन्द्रित थियो भने त्यो गाउँमा मात्रै होइन, वरिपरिसमेत हल्ला हुन थालिसकेको थियो । जति धेरैबेर तिनले बाजा बजाए, उति नै धेरै हल्ला हुने थियो । बाहिरबाट आएका अपरिचित व्यक्तिका बारेमा त्यसै पनि वरपरका गाउँले चियोचर्चो गर्थे ।

त्यहाँमाथि खहरेले बगाएर एउटा अर्को कथा रचिसकेको थियो । अब यी अर्का उस्तादले मलाई केन्द्रीय पात्र बनाएर गीति नाट्य नै देखाउने भए ! भूमिगत भइटोपलेको म भने झोलाभरि पार्टीका दस्तावेजलगायत अनेक सामग्री बोकेर हिँडिरहेको थिएँ । पुलिसको हातमा पर्दा ती खतरनाक बन्न सक्थे । त्यसैले हत्तपत्त आफूसित भएको पैसाबाट फेरि केही निकालेर तिनलाइदिएँ र नमस्कार गर्दै बाजा नबजाउन आग्रह गरेँ । पछिपछि लागेर मसँगै खोला तरिसकेका उनी सलाम ठोकेर फर्किन त फर्किए तर बाजा भने बजाइ नै रहे । अर्को गाउँ पुगुन्जेलसम्म पनि म त्यो सनईको धुन सुनिरहेको थिएँ । अरु बेला भए त्यो धुन मीठै लाग्थ्यो होला । तर, त्यसबेला भने खतराको कर्कश ध्वनिजस्तो लागिरह्यो ।

बल्लबल्ल गन्तव्यमा पुगेँ । उदयपुरमा त्यो मेरो प्रमुख आश्रय स्थल थियो– बसाहामा अशोक राईका दिदीभिनाजुको घर । आमाजस्ती थिइन् बिना दिदी । र, भिनाजु श्रीमान् थुलुङ एक जना सन्तजस्ता थिए । स्वाध्याय गरेका उनी आफ्नै खालको उच्चारण गर्दै संस्कृतका अनगिन्ती श्लोक कण्ठस्थ सुनाउँथे र अर्थ पनि लगाउँथे । गीताका श्लोक सुनाउँदै उनी गाउँलेलाई माक्र्सवाद पढाउँथे । अनि, अमेरिकी अश्वेत गायकका गीत सुनाउँदै न्यायका निम्ति मानिसका प्रयत्नको कथा सुनाउँथे । बिना दिदी अत्यन्त साहसी र मायालु थिइन् सबैकी । आमाले झैँ हामीलाई पालेकी मात्रै होइनन्, सुरक्षाका हिसाबले अप्ठ्यारो परेका बेला कतिचोटि हातमा खुकुरी लिएर अन्धकारमा खेतैखेत मेरो वासस्थान सारेकी छन् । ती दुई औधि माया गर्थे म र मजस्ता ‘कमरेड’लाई ।

गाउँमा पार्टीका खम्बा थिए ती आश्रयदाताहरू । अनेक जोखिम मोलेर ती पार्टीका कार्यकर्तालाई आश्रय दिन्थे । गाउँलेहरूसँग भेटघाट मिलाउँथे । हप्तौँ, महिनौँसम्म हामीलाई पालेर राख्थे । खडेरीका बेला खाने कुरा हुँदैन थियो । बाहिर गएर सिकर्मी काम गरेर भिनाजु केही ज्याला पाउँथे । त्यसैले हामीलाई खुवाउँथे । कोदोलाई ‘काली’, मकैलाई ‘पहेँली’ र चामललाई ‘उजेली’ नाम दिएको थिएँ रे मैले । भर्खरै भेटिएका भेना त्यसै भन्दै थिए । ‘आज त उजेली आएकी छ है घरमा’ भनेर हाँस्दै दिदीलेभन्दा मेरो अनुहारै उज्यालो हुन्थ्यो रे ! त्यसबेला नवजात शिशुलाई हुर्काउँदै, पार्टीको काम पनि गर्दै बसेकी सुशीला श्रेष्ठ यसो भन्दै ती दिनका सम्झना गराउँछिन् बेलाबेलामा ।

धेरै थिए यस्ता आश्रयदाताहरू । अँझै पनि बेलाबेलामा भेट हुन्छ कतिसँग । त्यतिबेला सपना बाँड्दै हिँड्ने ‘सोहन कमरेड’ नै अहिलेको डाक्टर धिताल हो भन्ने थाहा पाउनेहरू फोन पनि गर्छन् बेलाबेलामा । सत्तामा पुगेका नेताहरूले नचिनेको, आफैँले चिनाइसकेपछि पनि वास्ता नगरेको गुनासो प्रशस्तै सुन्ने गरेको छु । र, नेताहरूको बेहोरा हेर्दा ती गुनासा बुझ्न पटक्कै कठिन छैन ।

सपना बाँड्ने काम गर्थें म । गणतन्त्रको, सामाजिक न्यायको, समृद्धिको… । र, यसबापत ती सपनाभन्दा धेरै मूल्यवान् कुरा पाइरहेको थिएँ । मेरा निम्ति महफ्वपूर्ण पाठशाला बनेका थिए हरेक गाउँका आश्रयस्थलहरू । म मेरो देशलाई पढ्न पाइरहेको थिएँ । अचेल बे लाबे लामा सोध्छु आफैँसँग मैले बाँडेको सपनाको बीउ टुसाएर हुर्किंदा किन अर्कै बोट बन्यो ? कहाँ गल्ती भयो ?

http://nepal.ekantipur.com/news/2016-10-04/20161004133605.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *