Skip to content

सपना बेचेर कान्छा बा ।

सपना बेचेर सपना किन्न हिँडेको कान्छो,
निरन्तर यसरी नै, बर्षौंदेखि
किन्दो छ सपना भारीसँगै,
बेच्दो छ सपना भारीसँगै,
हरियो जिरी जुत्ता
कहिले खाली खुट्टा
पाँच हजारको उचाइमा
नहिँडे त कुइरेको भारीसँग
खोसिन्छ गाँस
गाँससँगै खोसिन्छ
पाँच भाई छोराको भविष्य,
अस्ति नै हिँउदमा,
जेठा दाईको ‘नाघि’मा
दाजुभाईको झगडामा
घुक्र्याएको थियो
बडा बा को छोरालाई, भाईलाई
‘तँ अपुताली, छोरीहरुका खानी
म सन्तानपाला, मलाई कुटिस हैन?
मेरा छोराहरु छन् तँलाई ठिक पार्ने’ भनेर,
त्यो वचन त छोराहरुको पढाईले पो
पूरा गर्ने हो,
अनि? हुन्छ नबोकी?
हुन्छ त सयौँ कष्ट नसही?

यस्तै सोच्दै,
सानैमा भोगेको दाईको हेपाहा पिडा
सम्झिदैँ, बढाउँदो छ पाइला
अघि, झन् अघि
जिऊ भारी हुन्छ,
दुख्दै छ कपाल, छाती
अलि असहज भएजस्तो
लेक लागेको त हैन?
हैन हैन, मलाई लेक लागे
कसले हुर्काउँछ मेरा छोरा?
कसरी बाँच्छे, म भन्दा
१५ वर्ष कान्छी, अर्धाङ्गीनी?
त्यसलाई त झन् सानैमा,
८ कक्षा पढ्दा–पढ्दै
खेतैदेखि तानेर ल्याएको
मारे पाप पाले पुन्य भनेर
दिएका माइतिले,
सारा सोच आउँदै गर्दा
अचम्म पर्छ, हैन किन?
किन आज यो सोँच? अचानक?
अलि सम्हालिन खोज्छ,
भारी महसुस गर्छ
टाउको खाली छ
झल्यास्स हुन्छ, छाम्छ
टाउको, भारी
तर भारी पिठ्युँमै छ,
आज जीवनमा पहिलो पटक
भारी बोकेको महसुस छैन,
भोक छैन, प्यास छैन,
थकाई छैन मस्ती छ
सपनाको, कल्पनाको,
अघिको भारी जिऊ?
बिसाउँछ भारी,
सुस्ताउन एकै छिनलाई
फेरी सुरु हुन्छ सपना,
बिपनाका ईच्छा,
घर देख्छ, नयाँ, टीनको छानो,
छोराहरु, क्याम्पस पढ्दै,
देख्छ, स्वास्नीको नयाँ सारी,
सारा ईच्छा एकाएक,
पुरा हुँदो छ,
पुग्दो छ दुई छाक ।

दुई घण्टा बित्यो, तीन, चार…
क्याम्पमा नदेखेपछि कान्छोलाई
दुई स्टाफ–ट्रेकिङका,
फर्केर आउँदा खोज्दै–खोज्दै
चौतारीमा बिसाएर भारी,
कान्छोले
बिसाएछ जीवन लीला ४ हजार मिटरमै,
मेरापिकको काखैनिर
सँधैलाई, सपना अधुरा साँची
अरु सयौँले त्यागेथे जीवनलीला
यसरी नै, यस्तै ठाउँमा,
भोली आउने छ हेलि,
लानेछ गाउँ,
तयार पारिने छ मुचुल्का,
एउटा असई अनि अरु पुलिस लगाएर,
दिइनेछ दुई लाख,
परिवारलाई ज्यानको मूल्य,
इन्स्योरेन्सबाट,
यसरी नै हरेक सिजनमा,
हरेक वर्ष
बिसाउँछन् जीवनलीला,
कान्छाहरुले ।
जान्दैन कथा, सुन्दैन कथा,
ती कान्छाहरुका,
सुन्दैनन् कसैले,
पर्यटनलाई देश विकासको
स्रोत मान्नेले,
व्यवसाय गरेर
अमेरिकामा घर किन्नेले,
काठमाण्डौमा कार चढ्नेले,
एकोहोरो रटिरहन्छ,
पर्यटनमा सम्भावना छ,
तर कहिल्यै भन्दैन,
समस्या नि छ,
समाधान नि छ ।
त्यहीँ ट्रेकिङभित्र,
सपना किन्न हिँडेको,
कान्छा बा को कथा नि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *