मेरो प्रान्त सुदूरपश्चिम छ यो – सौन्दर्यले शोभित,
भाषा–संस्कृति–सभ्यता–विविधता – साहित्य संरक्षित–
साँच्चै यो छ ,सुदूर औ विकटमा – भूगोलले तापनि,
यस्को आदिमको महान गरिमा – अल्पिन्न कैह्लै पनि–।।१।।
भाषा उद्गम केन्द्रविन्दु पनि हो – मेरो सुदूरपश्चिम,
ड्यौडा–फाग र चैत दुःख सुखका – गाथा महा अग्रिम–
मेरो पश्चिम प्रान्त उच्चतहको – मानिन्छ देवाटवी,
आफ्नै संस्कृतिले कला कुशलले – बेग्लै छ यस्को छवि–।।२।।
मेरो पश्चिम भेग छैन फितलो – केही कुरामा पनि,
भाषा संस्कृतिमा समृद्घमय यो – सौन्दर्यतामा धनी–
छन् सेताम्य हिमाल छन् शिखर छन् – छन् रम्य भूमी अरु,
छन् धेरै नद ताल फाँटहरु छन् – छन् सिद्घभूमी हरु–।।३।।
धेरै सर्जक विज्ञ–विद्वत जना – छन् साधनामा रत,
धेरै पाश्र्व युवा समर्पित कला – उत्थानमा उद्यत–
राख्छन् उन्नत चाहना दिलभरी – यो राष्ट्र नेपालको,
चौतर्फी सुख शान्तिको प्रगतिको – नौलो नयाँ चालको–।।४।।
चारैतर्फ समान शाशन कला – चाहन्छ यो पश्चिम,
चौतर्फी समदर्शिता र ममता – चाहन्छ यो पश्चिम–
धेरै पाश्र्व छ यो विकाश गतिमा – अन्यत्र दाँजौ भने,
आफ्नै यो मन हुन्छ कुण्ठित अँझै – त्यै निम्ति बाँझौँ भने–।।५।।
हेर्दामा हर सान्ध्यमा रवि यहाँ – अस्ताउनै आउँछ,
मेरो भेग सुदूरले प्रगतिको – मौका कहाँ पाउँछ १
यस्तै अस्त छ यो सुदूर धरती – मानी नियाश्रो यहाँ,
यस्को अन्तर चाहना बुझि दिने – होला नि मान्छे कहाँ रु।।६।।
(शार्दुल विक्रीडित छन्द)
निर्मलकुमार भण्डारी
अत्तरीया, कैलाली, नेपाल
रचना मिति २४ कार्तीक २०७३
