बालकथा-०१ः हजुरी


राधा पहाडमा जन्मिन् । त्यहीँ हुर्किइन् । उनका पुर्खाले पनि त्यहीँ जीवन गुजारे । र, त्यहीँ अस्ताए ।

उनीहरू कहिलेकाहीँ नून–मसला किन्न तराई झर्थे । सहरका गगनचुम्बी महल, चिप्ला सडक र रङ्गीचङ्गी दुनियाँप्रति विल्कुलै कुनै मोह थिएन । हेर्थे, घुम्थे, किनमेल गर्थे र फेरि उकालो चढ्थे । आफ्नै पाखा–पखेरालाई स्वर्ग ठान्थे । राधाले पनि त्यही सोचसमझमा एस.एल.सी. गरिन् ।

आखिरमा उच्च शिक्षा आर्जनका लागि सहर पुगिन् । उतै सरकारी जागिर पक्रिइन् । प्रशस्त धन कमाइन् । उनको बिहे गराइयो । उनले छोराछोरी जन्माइन् । हुर्काइन् । पढाइन् र आफ्नै खुट्टामा उभिने बनाइन् । आफू चालीसकी नहुँदै श्रीमान्ले स्वर्गको बाटो पक्रिए । त्यसपछि भने उनी सकसमा परिन् ।

जसोतसो छोरीको बिहेदान गरियो । छोराले पनि दुलही भित्र्यायो । जीवन सुचारु गतिमै हिँड्दै थियो । साठी वर्ष पुगेपछि भने उनले जागिरबाट अनिवार्य अवकास पाइन् ।

मोटो रकम छोराको हातमा पारिदिइन् । अरू केही जग्गा बेचेर छोरो सहर पस्यो । केही महिनामै बुहारी र बच्चाहरूलाई बोलायो । मलाई चाहिँ बुढेसकालमा किन एक्लै छाड्छस्भन्दा उनले जवाफ पाइन्– ‘सके गाउँकै घरमा बस्नू । नसके वृद्धाश्रम पस्नू । त्यता आएको बेला भेट गर्दै गरौँला ।’

राधा तीन छक्क परिन् । आफ्नै रगतलाई धिकारिन् । विगतलाई सम्झिइन् । आफूले खाई नखाईकन जोगाएर दिएकै धनले आफैँलाई अलग पारेको निष्कर्ष निकालीन् ।

घरबारी छिमेकीलाई गरिखाओ भनेर सुम्पिदिइन् । र, आफू तराईतिर झरिन् । जागिरेकालमा आफू रहे, घुमेका धेरै ठाउँमा पुगिन् । मनको वेदना कसैलाई वताइनन् । सबैसँग अवकाश जीवनको मज्जा लिन घुम्दैफिर्दै हिँडेको कुरा गर्दी भइन् ।

धन त उनीसँगै थियो । उनी मनको खोजीमा थिइन् । केही दिन वित्दा नवित्दै राम्रो खालको वृद्धाश्रम वा मठमन्दिर भए त्यहीँ बसेर बाँकी जीवन बिताउने निष्कर्षमा पुगिन् ।

हिँड्दै अघि बढ्ने क्रममा एउटा पुरानो मन्दिर देखियो । त्यहीँ रात बिताउने उद्देश्यले उनी मन्दिर परिसरमा पुग्दा एक वृद्ध झोक्रिरहेका भेटिए । उनी नजिकै पुगिन् ।

दुवै प्राणीले एकएक कुनामा ओछ्यान लगाए । परिचय पाउने ध्येयले वृद्धले सोध– “अहाँ कतसँ एलिए ?”

राधालाई आवाज सुनेसुनेजस्तो लाग्यो । उनले जवाफ फर्काउन सकिनन् । वृद्ध फेरि बोले– “अहाँ पहाडिया समुदायके छि कि ?”

सकारात्मक जवाफका दिनका लागि राधाले टाउको हल्लाइन् । वृद्ध नजिकै आए । मुहार नियाले । जागिरे जीवनकी सहयात्री भनेर चिनिहालेछन् भन्न थाले– “राधाजी ! तपाईं पो यो हालतमा यहाँ ?”

राधाले पनि हरिशंकर भनी चिनिहालिन् । दुवैका बीच दुःख–सुखका लामा–लामा कुरा भए ।

श्रीमती बीस वर्ष अघि नै परलोक भइकिरहिछन् । अवकाश भए पछि हरिशंकरलाई बुहारीले घृणा गर्दिरहिछन् । छोरो जोइटिङ्ग्रे रहेछ । उनलाई छुट्याएर गुहालीमा एउटा कोठा बार्देर राखेका रहेछन् । आफैँले खाना पकाएर खानुपर्ने र गाई–भैँसीको भकारोको गन्ध सुँघेर रात कटाउनुपर्ने अवस्था रहेछ । घरिघरी बुहारीबाट आउने व्यङ्ग्यवाण र टोकसोदेखि वाक्क लागेर उनले घर छाडेको खुलासा गरे ।

दुवैले एक अर्काको सहारा भएको अनुभूत गरे । गफगफमै रात वित्यो । भोलिपल्ट हरिशंकरले राधालाई घर पुर्याए । आँगन टेक्न नपाउँदै हरिशंकरका नातिनातिनी ‘दादा–दादी’ भन्दै हात समाउन आई पुगे ।

राधाले दुवै बच्चालाई विस्कुट लिँदै मायालु पारामा भनिन्– “बाबुनानी हो ! मलाई चाहिँ ‘हजुरी’ भन है ?”

बालमुस्कानका साथ ‘हुन्छ’ भन्नका लागि दुवैले मुण्टो हल्लाए ।

–अक्षान्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *