सुरेश कार्की ढोली चक्करघट्टी बजार, सुनसरीमा २०२९साल ११ महिना ५ गते बुबा स्व. जहाानसिंह कार्कीढोली र माता स्व.पवित्रा कार्कीढोलीका पुत्र रत्नको रूपमा जन्म लिएका थिए । सुनसरीका अक्षरहरू(गजलसङ्ग्रह, २०७३) र रेखाभित्रका रेखाहरू (गजलसङ्ग्रह, २०७४) बजार।मा ल्याइसकेका सुरेश कार्कीढोलीले गजलमात्र नभएर गीत, कविता, मुक्तक र कथा लेखनमा पनि रुचि राख्दछन् । उनको लेखनप्रतिको प्रतिबद्धतालाई देखेर पल्लव साहित्य प्रतिष्ठानले आजीवन मानार्थ सदस्यबाट विभुषित गरेको छ ।
कृतिको संरचना–आवारण पृष्ठ सहित १२० पृष्ठमा रचित यसकृतिको प्रकाशन पल्लव साहित्य प्रतिष्ठानले गरेको छ । मूल्य रु ३५०/– राखिएको यस कृतिले मीना लामिछानेको प्रकाशकीय, डा.घनश्याम नयौपाने ‘परिश्रमी’ र गोर्खे साँइलोको भूमिका र शुभकामना पाएको छ ।
गजलले दिएका सन्देशहरू– आज गजल लेखनमा जुनरूपले तीब्रता आएको छ त्यसको प्रभाव नेपाली युवायुवती जहाँ पुगेका छन् त्यही स्थानमा रहेर गजल लेखनमा समर्पित भएका छन् । यही क्रममा सुरेश कार्की ढोलीले पनि हामीलाई दुई अनुपम गजल कृतिहरू प्रदान गरेका छन् । यी दुई कृतिहरू नै उनको गजलप्रतिको लगाव र निरन्तरताको प्रमाण हो । आजका गजल लेखाई विविधताले सजिएका छन् तापनि प्रेमप्रणयका धारणाहरू आज पनि गजलकारहरूले प्रवलरूपमा उठान गर्ने गरेको पाइन्छ । कार्कीढोलीका गजलहरूमा पनि हामीले प्रणयमा घट्ने विविधखाले घटनाक्रमलाई पाउन सकिन्छ । कसैले कसैसँग प्रेम गरेपछि प्रेम प्रस्ताव राखिन्छ, मुटुमै आकर्षण हुनेकुरा गरिन्छ, मुटुकै धडकनजस्तो अनुभूति हुन्छ, सीमा नाध्न थालेमा त्यही माया नै ऐठन जस्तो लाग्नछ, झुटाकसम खाइने, राती राती आउने, मायाका सौगात दिएर जाने, जवानीको नशाभित्र खुसीहरू घोलेर रातमा पिउनेस जस्ता घटनाक्रमको साथै प्रेममा के हुँदैन त्यहाँ रोदन, विछोट, मिलनका कुरा, घात प्रतिघात आदि आदि घटनाहरू प्रेमबाटै सिर्जना हुन्छन् । गजलमा यस्ता घटनाहरूलाई कार्कीढोलीले सहजै उतारेका छन् । हेरौं केही उदाहरण –
बोलीमा अमृत घोल्छिन् जिम्वालकी छोरी
मुख थुन्यो, पिँधले बोल्छिन् जिम्वालकी छोरी
(गजल २४)
तृष्णाले व्याकुल यौवनको ढाकरमा
आऊ आजै खुसी भरौं हात समाएर
(गजल २३)
कैले माया मुटु कैले धड्कन जस्तो लाग्छ
धेरै भए त्यै माया नि ऐठन जस्तो लाग्छ
(गजल २१)
कार्कीले यथार्थतालाई अङ्गाल्दै, शैक्षिक वेरोजगारीलाई समाउँदै, आजका अधिकाम्स बाबुआमले छोराछोरीबाट भोगेका यथार्थतालाई यसरी पस्केका छन् –
कतै मार्ने पो हो कि त्राही–त्राही छौं दुवै
ऊ सुतेको छ सिरानीमा पत्थर राखेर
(गजल १६)
मथि पसकेको शेरबाट नै प्रष्ट हुन्छ कि देशका युवायुवतीले रोजगारी देशमा प्राप्त गर्न नसकेपछि कुनै कुलतमा लागेका छन् भने कसैले विदेशको यातना भोग्न परेको छ । विदेशमा भोग्न परेका विविधखाले दुख मध्ये एउटा मार्मिक शेर यहाँ अध्ययन गरौं–
के परदेशी सुरेश जस्तै रोएर दिन बिताउँछन्
माया ममता र आफ्नोपन छोडेर घरमा
(गजल ३०)
राष्ट्र र राट्रीयता आफ्नो देशप्रति ममता सबैमा हुन्छ । कार्कीढोलीले पनि इमान जमान, स्वाभिमान, विश्वसामु गोर्खालीको पहिचान, जोश जाँगिर, परिश्रम, डाँफे मुनाल, चौरीगाई, जडिबुटी, धुपी गुराँस, तराई पहाड, हिमाल, लगायत सबै नेपाल र नेपालीको जिन्दावादको बुलन्द नारासहित गजलकार भन्दछन् –
चन्द्रसूर्य अङ्कित छन् मेरो देशको झण्डामा,
प्राणभन्दा प्यारो झण्डा उचाली जिन्दावाद
(गजल ६७)
देशमा गरिबीले सताएको छ । गास बास कपासको अभाव छ । सबैको थिचोमिचो पनि गरिबमै भएको र गरिबीले सताएका धेरै धारणाहरू यस कृतिमा पाइन्छन् । एउटा मार्मिक शेरलाई यहाँ पढौं –
गरिबको हत्यागरी देश लुटिएको कहानी
पक्के भोलि प्रसारण हुनेछ समाचार बनेर
(गजल ३३)
धेरै बोले गरिबको घाँटी न्याकिन्छ
बोक हलो जोत्न जाम भन्नु हुन्थ्यो बा
(गजल १०२)
कार्की ढोली जीवन जगतसँग भुक्त भोगी हुनुहुन्छ । उनको यस कृतिमा जीवन जगतसँग सम्बन्धित धेरै गजलका शेरहरू अध्ययन गर्न पाइन्छन् । जीवनलाई सहीमार्गमा लैजानु पर्छ नत्रभने जीवन कठिन मार्गतिर अघि बढ्दछ –
सम्म थियो जिन्दगी यो भीर बनाए मैले
आफ्नै मुटु आफै घोच्ने तीर बनाएँ मैले
(गजल१०४)
गजलहरू विविधताले सजिएका छन् । कतै गण्डकी र लिपुलेक मिचेका कुरा, नेपाल र नेपालीहरूको स्वभिमान बेचेका कुरा, कोही पनि सर्वसम्पन्न नभएका कुरा, आफू सर्वेसर्वा ठान्न नहुने कुरा, देशको बाग्डोर युवालाई थमाई देशमा नयाँ कीर्ति राख्ने इच्छा, विदेशी दलाललाई गोली हान्ने मन भएका कुरा, भूकम्प, हावाहुरीको चर्चा, अभााव र गरिबीले दासी बनाएका कुरा, मनभित्र गुम्सिएका कुरा, शिरमा जिम्मेवारी वहन गर्नु पर्ने कुरा, मानव लोभको घडा भएको कुरा, पानीमा नाम लेख्ने, सर्पको लौरो टेक्ने आफ्नो खुसी आफै रेट्ने, कतै दिवा सपना देख्ने, कतै सीमारेखा बलात्कृत भएका कुरा, हर्ष उल्लाससँग नयाँ वर्ष आएका कुरा, कतै बुद्धको खोजी, पृथ्वीको भार बनेर बाँच्न नहुने कुरा आदि आदि धारणाहरू आएका छन् गजलहरूमा । भाषा सरल छ, सबै किसिमका पाठकलाई ग्राह्य छ । बहरमा नलेखिए पनि यी गजलमा स्वनिर्मितलय तथा लोकलयले स्थान लिएका छन् । यस्ता विविधताले सजिएका स्वदेश र प्रदेशमा रचिएका, गरिब मनका ढुकढुकीलाई समेटिएका गजल सर्जक कार्कीढोलीको साहित्यिक यात्राले निरन्तरता पाओस्, नयाँ नयाँ कृतिले जन्म लिउन् भन्ने शुभकामना सहित यो लेखको बिट यहीं मार्दछु ।
धन्यवाद
सदानन्द अभागी
२०७५ साल असार १४ गते,
शान्तिचोक कावासोती, नवलपुर, प्रदेश नं ४
