Skip to content

पाँच मुक्तक (आफ्नो ताल)


१. आफ्नो ताल
आमाको होटल र बाउको लजमा
घिच्न र लड्न सित्तै मिलुन्जेल
सबै बाबुराजा हुन्छन् –
त्यसपछि जब आफ्नो तालमा नाँच शुरू हुन्छ,
आफैँ चुइँया र मख्खिचुस हुन्छन् ।।

२. कृष्णभीर
सडक यातायातमा हाम्रो तगारो सधैँ कृष्णभीर,
दाजुभाइमा काटाकाट पछि भयो हामीलाई पिरैपिर ।
प्यालेष्टाइनी, हमास, लिट्टे र नक्सलाइट भन्थ्यौं–
अहम्को दुन्दुभीले बगाइदियो हामीलाई तीरैतीर ।।

३. रहर
आश्रित रहर पुर्याउन सजिलो भा’छ
स्वावलम्बित रहर त कहर भएर टाउकै खा’ छ ।
ए ! केटा हो !! कपाल पाल्न पो सजिलो छ त,
भोलि स्वास्नी पाल्न नसकेर दसतिर दुगुर्याछ ! दुगुर्याछ !!

४. बजार भाउ
आवश्यकतासँग प्रेम गरेपछि
बजार भाउ अनवरत मस्किदैँछ ।
निरीह ग्राहक देखेर होला –
महँगी त ठसक्क ठस्किदैँछ ।।

५. दर्शनको फसल
राजनीतिको व्यापार र
व्यापारको राजनीतिपछि
के कोदो ? के तोरी ?
यहाँ कुनै असल भएनन् ।
इच्छाहरू अधुरा भएर
दर्शनको फसल अब्बल भएनन् ।।

पेशल आचार्य
महालक्ष्मी नपा १०, टीकाथली, ललितपुर ।
हाल-सहायक प्राचार्य, मन्थली उमावि, मन्थली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *