Skip to content

हिउँचुलीलाई


हिउँचुली !
म यी स्वप्नील प्रेमका हरफहरूमा तिमीलाई लेखिरहन्छु

तिम्रो हृदयको
हिउँ पग्लँदा नपग्लँदै पग्लिसकेको
समय नदीका बहावहरूमा
म मात्र एक्लै बगिरहन्छु : टाढा टाढा –
निश्चल तिम्रो मायामा डुब्दै उत्रंदै

हिउँचुली !
म तिम्रो सम्पूर्णता र उचाइको कविता लेख्न जान्दिन
र त
म मेरा सम्झनाहरूमा
तिम्रो अनुहारको गहिराइ र असम्पूर्णता पढिरहन्छु

तिमी कति कठ्याँग्रिदो र कुरुप छ्यौ हिउँचुली !
तिम्रो यै स्वभाव देखेर गद् गद् हुन्छु म
र सोच्छु –
मैले मेरा प्रियताहरूमा खोज्दै गरेको
सबै किसिमका सुरुपताहरूभन्दा महान छ : तिम्रो कुरुपता
र मैले भेट्टाउन खोजेको
उच्चतम आदर्शभन्दा उचो छ: तिम्रो यथार्थ स्थिति

निर्निमेष निर्दोष उभिइरहेकी
मेरी आस्थाकी हिउँचुली !
तिम्रै हिउँका फूलहरू टिपेर
खेल्दै हिंड्छु -म
हिउँखोलीको किनारै किनारा
अलिकति खुसीले फुर्किएर

अलिकति खुसीले सम्हालिएर

प्रिय हिउँचुली !
म तिम्रो जीवन पद्धतिका खरपसहरूमा
खस्न चाहन्छु
र तीहरूबाटै उठ्न चाहन्छु –
अँध्यारो हुनुका कतिपय मूल्यहरूलाई भत्काएर

अक्सर म चुपचाप,बेरङ र भावहीन
तिम्रो स्निग्ध, शीतल रंगहीनताहरूमा मिसिन्छु

समाहित हुन्छु तिमीसम्मको कल्पनातित सौन्दर्य यात्रामा

हिउँचुली !
तिमी यस्तै अटल अमर उभिइरहनू –
मेरो आँखामा,
म तिम्रो
सेलिब्रेटी’ जीवनको खाली पानामा लेखिएको
एउटा अमूर्त अमूल्य कविता पढिरहन्छु

र सुन हे हिउँचुली !!
अरुलेभन्दा माया गर्छु म :
हिउँचुलीलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *