Skip to content

फूल तिमी बिद्रोह गर


हे फूल ! तिमी सृष्टिको अत्यन्तै सुन्दर सृजना ।
तिमी बगैंचाको शोभा ।
पृथ्वीको देदीप्यमान ।
तर तिमीलाई चुँडेर देवताको पाउमा गर्छ सेवा ।
के यो सेवा हो ?
देवताको सुन्दर रचना तिमी
तिमीलाई लुछेर शीरमा किन राख्दछ ?
सृष्टिको शोभामा किन यत्ति बवण्डर ?
हे ! हिँस्रक समाज ।
यो वलिभन्दा भयो ठूलो घात ।
तिमलिाई लुक्ष्दा रुन्छ मेरो मन ।
तिमीलाई लुक्ष्दा सुरम्य प्रकृति हुन्छ रोदन ।
के यस्तो थाहा छ भक्तहरूलाई ?
तिमीहरू भक्त होइनौ ।
तिमीहरू अभक्तको उँचाइमा चढ्दै छौ ।
सुन्दर सृष्टिलाई अँझ सून्दर बनाऊ ।
अनि पो खुशी हुन्छन् भगवान ।
अनि पो प्रकृति–देव हुँदैनन् छटपट ।
फूल लुक्षिँदा म सधैँ रुने गर्दछु ।
त्यस्तै हालत छ बम्बै बेश्यालयमा नारी फूलको ।
कहिलेदेखि !
हे कहिलेदेखि ! फूल लुक्ष्ने चलन ल्यायो ?
त्यसको प्रसाद मलाई चाहिँदैन ।
भो मलाई प्रसाद चाहिँदैन ।
फूललाई लुक्षेर मेरो टाउकामा राखिदिन्छ ।
त्यो अस्वीकार गर्दा म नास्तिक रे !
म पागल रे !
म त्यो टुक्रा फूलललाई फेरि जोड्न खोज्छु ।
फेरि त्यो फूल लुछेको घाउमा मलम लगाउन खोज्छु ।
फेरि असमर्थ हुन्छु ।
एकपल्ट गुमेको अस्मिता फेरि फर्कँदैन ।
फूललाई लागेको घाउ वर्षौ भइसक्यो ।
खै कसले बुझेको ?
जतिबेलादेखि भौतीकरुपमा देवता पूज्ने चलन ल्याए,
आध्यात्मिकताको भयो अन्त्य ।
आत्मिकताको पनि भयो अन्त्य ।
पूज्ने भए मनले पूज भगवान्लाई ।
प्रकृतिदेवलाई अँझै सुन्दर बनाऊ ।
तिमी पनि फूल झैं सुन्दर बत्रेछौ ।
त्यत्तिबेला पनि फूललले भत्रेछ,
तिमीलाई कसैले नलुछोस् ।
तिमीलाई कसैले वलि नदेओस्
यत्ति उदार छ फूल ।
फूललले भनिरहेको छ ।
फूलले भनिरहनेछ ।
मैले त भोगेँ भोगेँ
अरु कसैले भोग्न नपरोस् ।
यत्ति सुगन्ध छ फूलमा ।
मैले त राम्रो दिन खोजेँ ।
मैले त सुगन्ध छर्न खोजेँ ।
फेरि मैमाथि भयो घात ।
यो संसारमा राम्रो काम गर्न नहुने रैछ ।
काँडा भएर बाँच्नु पर्ने रैछ ।
मै सँगैको काँडालाई कसैले उखेलेर फ्याँक्दैनन् ।
तर मलाई कसैले निचोर्दछन् ।
कसैले सियोले घाउ पारेर उन्दछन् ।
मलाई मेरो ठाउँमा सुगन्ध पोख्न दिँदैनन् ।
फूललले फुल्नै नहुने ?
राम्रो काम गर्नै नहुने ?
फुल्न थाल्यो कि लुछेर लगिहाल्छन् ।
यहाँ सब माली रोएका छन् ।
वनमाली रोएका छन् ।
घरमाली रोएका छ्न् ।
सब माली रोएका छन् ।
आँसू बरबरी झरिरहेका छन् ।
फूलका प्रसाद दिइरहेका छन् ।
झन् रुवाइरहेका छन् ।
भगवान् रोइरहेका छन् ।
प्रकृति रोइरहेकी छिन् ।
त्यसैले मैले भत्रै पर्दछ ।
हे फूल ! तिमी कति सहन्छौ पीडा !
तिमी अबला फूल नबन ।
तिमीले सहेको जुगौं भइसक्यो ।
तिमीले अन्याय सहनुको पाप गरिरहेकिछ्यौ ।
त्यसैले तिमीले धर्म गर ।
तिमीले अब बिद्रोह गर ।
तिमीले अब राँको बन ।
तिमीले अब राँको बन ।

नोट :- आज नोभेम्म्बर २५देखि डिसेम्बर १०सम्म महिला हिँसा विरुद्धको १६ दिने अभियान सुरु हुँदैछ । यो अभियान वर्षैभरि शसक्त रुपमा हुनु जरुरी छ । यसै मेसोमा मैले लेखेको र मलाई यस कविता लेखनपछि साहित्यमा तथा लेखनमा पछाडि फर्केर हेर्नु परेको छैन । प्रस्तुत छ यसै महिला हिँसा विरुद्धको अभियानको मेसोमा यो “फूल तिमी बिद्रोह गर” शीर्षकको कविता ।

२०६७ मङ्सिर १६
बिजु सुवेदी “विजय”
भकतजनमार्ग, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *