एकपटक एकजना साधुलाई साहू र ज्यामीका बारे परख गर्न ईच्छा जाग्यो । साधु ज्यामी भएर साहूकोमा काम गर्न गए । उनले साहुकहाँ मेहेनत मजदुरी गर्थे । पसिना पसिना भएर काम सकाउँथे अनि आफ्नो ज्याला लिन्थे र आफ्नो कुटीमा फर्कन्थे । साहुले कहिले दुईदिनपछि दुईदिनको ज्याला दिन्थे त कहिले तीनदिनपछि तीनदिनको ज्याला दिन्थे ।
एकदिनको कुरो हो :–
ज्यामी :– सहुजी मलाई आज दुईदिनको ज्याला दिनुहोस् ।
साहू :– एकदिनको काम गरेर कसरी दुईदिनको दिने ?
ज्यामी :– म भोलि काम गरेको पैसा लिन्न नि त ।
साहू :– तिमी भोलि काममा आउँछौ भनेर कसरी विश्वास गर्ने ? त्यसैले एकदिनको मात्रै दिन मिल्छ, बुझ्यौ ?
ज्यामी :– साहूजी तपाईं र ममा यही अन्तर छ । म विश्वाश गर्छु हजूर विश्वास गर्नुहुन्न । मैले त सधैं हरेक दिनको ज्याला पाउँदिन । हजूरले कहिल्यै दुईदिनको भनेर दुइदिनपछि र त कहिले तीनदिनको भनेर तीनदिनपछि ज्याला दिनुहुन्छ मैले त विश्वास गरेको थिएँ तपाईंलाई । अब विश्वासको संकट पर्यो । हो अब म कहिल्यै हजूरकहाँ ज्यामी काम गर्न आउँदिन, मैले पनि हजूरलाई विश्वास गर्न सक्दिन । बुझ्नुभो होला नि हजूरले ?
२०७३ मङ्सिर ११
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग, काठमाण्डौं
bijusubedi@gmail.com
