Skip to content

भावी बुहारीप्रति


छोरो मेरो अब त वय ले आठ लागेर आयो
एक्लै आफ्ना गुरु सित गई पाठ मागेर आयो
ठूलै मान्छे हुन अब यहाँ देख्छु एस्को तयारी
के गर्दै छौ तिमि पनि कतै जन्मियौ कि बुहारी !

जन्मेकी छौ यदि कहिँ भने दिन्छु आशीष बढ्नू
हुर्केकी छौ यदि कहिँ भने दिन्छु आशीष पढ्नू
गर्दै जानू प्रति दिन जगत् चिन्न लाई तयारी
भोली लाई कठिन नबनोस् विश्व मेरी बुहारी !

के गर्दै छौ पुतलीऽ बटुली खेलिराख्छ्यौ कतै कि ?
क्यै भन्दै मा लडिबुडि गरी रोइराख्छ्यौ कतै कि ?
आजै केही तिमि सित कुरा गर्न पाए नि हुन्थ्यो !
कस्ती हौली अलिकति कतै देख्न पाए नि हुन्थ्यो !

तिम्रा बाबा सरल मन का छन् कि छैनन् कसो छ ?
तिम्री आमा कुशल गृहिणी छन् कि छैनन् कसो छ ?
जे जे होलान् तर पनि तिमी पढ्न खोजी दिए है !
चाचा भन्दा कलम कविता कापीऽ रोजी लिए है !

Leave a Reply

Your email address will not be published. Required fields are marked *