Skip to content

परीक्षा (लघुकथा)

वारि र पारि दुईटा घरको झ्यालमा केटा र केटीको आँखा चार हुन्थ्यो । यो प्रकृया सधैं भइरहन्थ्यो । दुबैको मौन प्रेम चलिरहन्थ्यो, मनोवाद चलिरहन्थ्यो । यो जोडीलाई ती दुईटा घरको बीचको सडकमा जति सुकै गाडीको कर्कश प्वाँ प्वाँ भएपनि जतिसुकै ठुलो घटना भएपनि उनीहरुको पलाएको मौन प्रेम भङ्ग हुँदैनथ्यो । उनीहरुले आफु दुईलाई एक बनाएका थिए ।

केटा घर बाहिर जाँदा पनि केटी सर्धै झ्याल मै हुन्थी, त्यस्तोमा पनि उनीहरुले हेराहेर गर्न चुक्दैनथे । न त केटाले मौखिक रुपमा प्रेम प्रस्ताब नै गर्यो न त केटीले मौखिक रुपमा प्रस्ताबै गरिन् । किनकी उनीहरु दुबैलाई प्रस्ताब विफल भएर यो मौनप्रेम टुट्ला भन्ने डर थियो । केटीले धेरै समय झ्यालमै विताउँथी ।

एकदिन केटा एकाएक बाहिर गएको बेला उक्त केटी टाढेदेखि बैशाखी टेकेर आएको उसले देख्यो । केटी उही थिई , केटालाई ‘सपना हो कि विपना हो’ भइरहेको थियो । यत्तिबेला केटा ढुक्क थियो किनकी ‘त्यस्ती अपाङ्ग केटीलाई मैले प्रस्ताब राखेँ भने अवश्य नै स्वीकार गर्नेछिन्’ ।

केटाले ढुक्क भएर टाढैबाट ठुलो स्वरले भन्यो :– के तिमी मलाई मन पराउँछ्यौ ?

केटीले पनि टाढैसम्म सुन्ने गरी भनिन् :– धेरै मन पराउँछु । के तिमीले मलाई यस्तो रुपमा स्वीकार्छौ ?

केटा :– अवश्य स्वीकार्छु । यो अरु कुनै प्रेम होइन आत्मीय प्रेम हो त्यसैले ।

केटीले बैशाखी फ्याँक्छे । अनि दौडेर केटातर्फ आएर बेस्करी अङ्गालो हाल्छे ।

२०७३ मङ्सिर १२
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *