Skip to content

शिक्षा (लघुकथा)


सीताको आफन्त बितेको थियो । दशैंको बिदामा आफन्तजनहरूको आऊजाऊ शुन्य थियो । बिदा भएकोले क्याम्पसमा पढाउन पनि जानुपरेको थिएन । बाहिर टहल्न भनेर उनी निस्किइन् ।

एउटी राधा नामकी आइमाइ केही गर्न नसकेर एकदम फोहोर अवस्थामा सडकमा लत्रिएर थलापरेर सुतिरहेकी थिइन् । उनले चित्कारले भरिपूर्ण स्वरले दुहाइ दिँदै सडकमा आवतजावत गर्नेहरूसँग आफ्ना लागि केही गर्नका लागि अनूनयविनय गरिरहन्थिन् । यहीनै उनको दिनचर्या थियो ।

दशैंके पहिलो दिन टहल्दै गरेको बेला एकाएक सीता त्यहाँ आइपुगिन् । सीताले उनीसँग प्रश्न गरिन् :– “बहिनी तपाईंको स्वरले नै थाहा भयो । तपाईंले धेरै दुःख पाउनुभएको रहेछ ।”

राधा :– “हो मैले धेरै दुःख पाएकी छु । के हजुरले मलाई एकदुई रुपियाँ दिनसक्नुहुन्छ ? तपाईंलाई धेरै राम्रो हुनेछ ।”

सीता :– “एकदुई रुपियाँ त हैन तर तपाईं मसँग मेरो घरमा आउनुपर्छ ।”

“म किन हजुरको घरमा आउने ? घरमा आउँदा मैले के पाउँछु ? मलाई केही पैसा दिनुहोस् न ? मलाई लोभ देखाएर कत्ति लुच्चा लफँगाहरूले मलाई लुट्छन् र मलाई लट्टीपट्टी गरेर जान्छन् ।”

यसरी उनीहरू दुइटी कुरा गर्दैगर्दै गए । सीताले राधालाई घरमा लगिन् । राम्ररी नुहाइधुवाइ गरिदिइन् । खाना बनाएर भरपेट खुवाइन् । तीनचारदिन, हप्ता दशदिनसम्म यसरी नै स्याहारसुसार गर्दै गइन् । दशैंको बिदा पनि सक्कियो ।

सीताले राधालाई भनिन् :– “तपाईं यहीँ मेरो घरमा बस्नुस् मेरो सधैंको जसो विश्वविद्यालयमा आजदेखि अध्यापन गराउने काम शुरु हुँदैछ । मलाई ऊ त्यो सेतो छडी दिनुस् ।”

“किन सेतो छडी नि दिदी ?”

“म आँखाले देख्दिन नि ।”

“कस्तो अचम्म ! आजसम्म मैले त थाहा पाइन हजुरले आँखाले देख्नुहुन्न भनेर, हजुरलाई हीनभावना आउँदैन ? कसरी मैले थाहा पाइन यो कुरा । धिक्कार छ मलाई ! ”

“अहँ पटक्कै हीनभावना आउँदैन । राधा बहिनी ! मैले टहल्न जाँदा नजिकको यहीँको बाटोमा जाँदा सेतो छडी प्रयोग गर्दिन । मलाई बाटो सबै थाहा छ नि त्यसैले । हामी दृष्टिबिहीन भनेर अलि नबुझेर आँखा देख्नेहरूले अलि होचिलो व्यवहार गर्छन् त्यसैले मैले सकेसम्म दृष्टिविहीन भनेर थाहा नै दिन्न । वास्तबमा हाम्रो आत्मबल तथा दिमाग खेलाउने काम धेरै बढी हुन्छ किनकि हामीमा आँखादेख्नेहरूभन्दा ९० प्रतिशत ध्यान आफूमा केन्द्रित हुन्छ र त्यसैले हामी अरुलेभन्दा ९० प्रतिशत बढी दिमाग सबलताले चलाउँछौं । १० प्रतिशत मात्र बाहिरतिर ध्यान हाम्रो जान्छ । अनि हामी यो सेतो छडीबाट त संसारका जुनसुकै कुनामा पनि पुग्न सक्छौं ।”

“यस्ता कुरा त म जान्दिन दिदी । मैले थोरै पढेकी छु । तर दिदी तपाईंलाई धेरै–धेरै धन्यवाद छ । हजुरले मेरो आँखा खोलिदिनुभो । मलाई आफ्ना हरेक अङ्गहरूको मोल थाहा भयो । हजुरलाई धेरै–धेरै धन्यवाद दिदी साँच्चै हजुर आदर्शवान सीता हुनुहुन्छ । म अब कहिल्यै माग्ने काम गर्दिन र मेरो पहिलो मेहनतको कमाइ हजुरलाई नै टक्र्याउने छु । नाईं भन्नु पाउनुहुन्न नि दिदी ।

२०७३ मङ्सिर १६
बिजु सुवेदी “विजय”
भक्तजनमार्ग, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *