Skip to content

सदानन्द अभागीको नियात्रा विधाको अध्ययन


नियात्रा विधाको परिभाषा –
“डयरी र शब्दचित्रसँग निकटता राख्ने” यात्रामय जीवनको संस्मरण नै नियात्रा हो । लेखकले आफ्नो जीवनभोगका क्रममा गरेका उल्लेखनीय र स्मारणीय यात्राको आत्मपरक शैलीमा गरिने, कलात्मक वृत्तान्तलाई नियात्रा भनिन्छ । विशेष प्रकारको यात्राको स्मरण नै नियात्रा हो । वास्तवमा यो यात्रा विवरण नै हो वा यात्रा संस्मरण नै हो । तर अहिले यसले नियात्रा नाम पाएको छ । यसको शाब्दिक अर्थ “यात्रा–वर्णनबारे कथामक शैलीमा लेखिएको निबन्ध” भन्ने हुन्छ ।

काठमाण्डौदेखि देहरादुन यात्रा विवरण –२०६०

साहित्यकार सदानन्दको यात्रा विवरणको यो काठमाडौदेखि देहरादुन कृति, कृति प्रकाशनको हिसाबले आठौ कृति हो र नियात्रा विधाको हिसावले पहिलो र एकमात्र कृति हो । ३८ पृष्ठको सानो पुस्तकको भूमिका लेख्नुभएको छ –भवप्रसाद त्रिपाठीले । वहाँ दिगो भू–व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको टिमलिडर हुनुहुन्छ र उहाँले जनाए अनुसार सदानन्दको यो यात्रा विवरण हेलभेटास –नेपालले नै आयोजना गरी भारतको उत्तराञ्चल प्रदेशमा नयाँ प्रविधिबारे ज्ञान हासिल गर्न आयोजना गरिएको थियो र यो विवरण त्यसकै उपज हो । यस यात्रा विवरणलाई नियात्राका निम्न आधारभूत तत्त्वहरूका आधारमा अध्ययन गरिन्छ –(क) अविस्मरणीय भोगाइ (ख) परिवेश चित्रण (ग) तटस्थता (घ) सुसङ्गठन् (ङ) पात्र) (च) भाषा शैली ।

(क) अविस्मरणीय भोगाई –
नियात्राकार सदानन्दको यस नियात्रामा वर्णित भएका उनका अविस्मरणीय भोगाइहरू यस कृतिभित्र विभिन्न शीर्षकहरूमा समेटिएका छन् –देहरादुन तथा अध्ययनसँग सम्बन्धित संस्थाको विवरण, केन्द्रीय संग्रहालयको अवलोकन, विभिन्न जलाधार तथा जनपद मंसुरी अवलोकन, मंसुरीको संक्षिप्त विवरण, मन्दिर तथा अरु क्षेत्रको अवलोकन, टप्केश्वर महादेव मन्दिरको भ्रमण, अम्लको उपयोग, महाशिवरात्रीको दिन ऋषिकेशको अवलोकन, केन्द्रीय माटो तथा पानी संरक्षण अनुसन्धान तथा तालिम केन्द्रको अनुसन्धान केन्द्रको फर्मको भ्रमण भूमिको भिरालो पना,जलवायु मापन यन्त्रको अवलोकन, फलफूल बगैंचा अवलोकन, अल्मासको जलाधार आयोजनाको भमण, हरिद्वारको अवलोकन, देहरादुन यात्राको एउटा दुर्भाग्यको क्षण इत्यादि शीर्षकमा सदानन्दले आफ्नो अविस्मरणीय भोगाइहरूलाई लिपिबद्ध गरेका छन् ।

यस यात्राको सबैभन्दा अविस्मरणीय खुसीको क्षण मंसुरीको भव्य प्राकृतिक दृश्यको अवलोकनलाई मानिएको पाइन्छ भने अत्यान्त दुर्भाग्य मानिएको यात्राको भोगाइ भने देहरादुन सहरबाट चारै किलोमीटर दूरिमा रहेको वीर बलभद्र कुवरको ऐतिहासिक स्मारक वा सालिकलाई हेर्न नसकिएको, नभ्याइएको कुरालाई लिएको देखिन्छ ।

अर्को अविस्मरणीय घटना केलाई बताइएको छ भने देहरादुनबाट मंसुरीतर्फ जाँदा अगरखाल बजारमा गाडी रोकिएको र त्यहाँ शिवरात्रीको दिन पनि ठूलो –ठूलो भाँडोमा मासु पकाइराखेको देखेर सदानन्द छक्क परेका छन् । त्यस्तै मंसुरीबाट फर्किदा एउटा डाँडाको पसलमा नेपाली टोपीमा सजिएका काली कोटे नेपालीहरू भेटिए । ती माओवादी समस्याले गाउँमा काम नपाएर त्यहाँ बाटो खन्ने काममा गएका रहेछन् भन्ने थाहा पाएर सदानन्द खिन्न भएको उल्लेख छ । यस्तै उत्तराञ्चलका विभिन्न आयोजनाहरू, प्रयोगशालाहरू, सङ्ग्रहालयहरू अवलोकन गरी विभिन्न नयाँ प्रविधिहरू जान्न पाइएको उल्लेख यस नियात्रामा उल्लेख भएको छ । नेपालबाट १२९ जनाको टोली त्यस भ्रमणमा गएको र भारतीय विद्वानहरूले उत्तराञ्चलको विकास र नयाँ प्रविधिहरूको बारेमा टोलीलाई जानकारी गराएको उल्लेख गरिएको छ ।

(ख) परिवेश चित्रण –
नेपाल सरकार र स्वीस सरकार बीच सम्झौता भएर पहाडी भेकको १० वटा जिल्लाको बारी जग्गाको माटो व्यवस्थापन गर्न सन् १९९ तदनुसार वि.सं. २०५६ साल पुसमा माटो व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको र यसको दोस्रो भ्रमणका कार्यक्रम भ्रमण टोली भारतको उत्तराञ्चल गएको परिवेश उल्लेख छ । विभिन्न संस्थाका २९ जना प्रतिनिधि बुद्धिजीवी वर्ग र भारतका पनि नीति निर्मातातहका बुद्धिजीवी वर्ग र ग्रामिणका साथै सहरिया परिवेश चित्रण यसमा प्रस्तुत गरिएको छ । चितवनको सहभागी संस्थाबाट भ्रमण सुरु गरेको आदि परिवेश यसमा चित्रण गरिएको छ ।

(ग) तटस्थता–
यात्राबाट फर्किदा २९ जना नैसँगै फर्किएको तर सदानन्द चाहिं नवलपरासीको कावासोतीस्थित घरतिर पस्नलाई नै ओर्लिएको वर्णन छ । टोली चाहिं नारायणगढ आएर बसेको उल्लेख छ । भोलिपल्ट सदानन्द गाडी चढ्न पुग्दा बसमा सबैले खिज्याएको उल्लेख छ–

बसमा बस्न पाइँदैन भाग्ने बुढो चाहिंदैन
राम्रो कुरा भयो जैसी बुढो आयो (पृ–३६)

सदानन्दको आफ्नो अहम्मा चोट पर्ने खालका छेडखानका कुराहरूलाई पनि जस्ताको तस्तै उनले लेखेका छन् । यसबाट के थाहा पाइन्छ भने नियात्राको महत्वपूर्ण तत्त्व तटस्थता यसमा निर्वाह भएको छ । सदानन्द इमान्दिारीपूर्वक र निर्वैक्ति ढङ्गले यस नियात्रामा पेस भएका छन् ।

(घ) सुसङगठन–
यात्रा विवरणलाई सुरुदेखि अन्तसम्म विभिन्न उपशीर्षकहरूमा बाँकी सुस्पष्ट एव म निर्दिष्ट बनाएको छ । नियात्राको सङ्गठन भनेकै, पुस्तकको शीर्षक चयन अविस्मरणीय भोगाइहरूको सटिक र संक्षिप्त प्रस्तुति, अनावश्यक बयानको परित्याग र मूल विषयलाई विषयान्तर हुन नदिन शीर्षक उपशीर्षकहरूमा विभाजन र आकर्षक भाषाशैली र यी सबैको सुसंयोजन र सुसङ्गठन हो । नियात्रा यस हिसावले सङ्गठित देखिन्छ ।

(ङ) पात्र–
यस नियात्राका मूलपात्र सदानन्द नै हुन् । उनी र उनी संलग्न २९ जनाका टोलीका–मुरलीधर मिश्र, टोली नेता शालिकराम शर्मा, बुद्धि सापकोटा देहरादुनका मि. एन शारदा अरोरा, कालीकोटे नेपालीहरू, लगायतका धेरै पात्रहरू यस नियात्रामा प्रस्तुत गरिएका छन् ।

(च) भाषाशैली–
यो नियात्रा विवरणात्मक खालको छ । यसको भाषा सरल र शैली प्रवाहमय वा कथात्मक ढङ्गको छ । ठाउँ ठाउँमा कविता र कवितात्मक अभिव्यक्ति भएकाले नियात्रा रोचक बनेको छ । ‘देहरादुनको यात्रा’ शीर्षकको बुद्धिप्रसाद सापकोटाको (भ्रमणटोलीका सदस्य ) एउटा कविता पनि यसमा संलग्न गरिएको छ । व्यञ्जनात्मक पनि छैन, अभिधार्थी खालको नै छ ।

सारांश–
यस काठमाडौदेखि देहरादुन नामक यात्रा विवरणले धेरै कुरा सिकाएको छ । नेपालमाभन्दा भारतमै ज्ञान– विज्ञान र प्रविधिहरूको विकास भएका,े उत्तराञ्चलबाट धेरै कुरा सिक्न सकिने र सिक्न पर्ने रहेको उल्लेख गरिएको छ ।

यस कृतिको पुछारमा भ्रमण टोलीको २९जनाको नामलिष्ट प्रस्तुत गरिएको छ । यसमा जम्मा २६ वटा उपशीर्षक उपशीर्षकहरू राखिएको छ । नियात्रामा लेखकका धेरै नै जीवन–भोगाइहरू समाविष्ट भएका छन् । यस नियात्राबाट एकातिर लेखकको घुमन्ते जीवनको झलक पाइन्छ अर्कातिर भारतका उत्तराञ्चलका विभिन्न स्थान, योजनास्थल, प्रयोगशालाहरू, सङ्ग्रहालयहरूआदिको सूचनाहरू पनि प्राप्त हुन्छन् । यो नियात्रामा सदानन्दका निजी अनुभूतिहरूजन्य विवरणहरू, सूचनाहरू प्रस्तुत भएका छन् । यसको प्रमाणिकता सहज छैन तर कतिपय थाहा पाएका विवरणहरू यथार्थिक नै छन् । अभिव्यक्तिमा स्वच्छन्दता र दृष्टिमा यथार्थता र लेखाइमा निजात्मकता यसका विशेषताहरू हुन् ।

दुर्गा पौडेल

(साहित्यकार सदानन्द अभागीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन, शोधपत्र, शोधकर्ता दुर्गा पौडेल, नेपाली विभाग, त्रिभुवन विश्वविद्यालय, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवन, २०६४बाट साभार गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *