आठ र बाह्र अङ्कलाई राम्रो दृष्टिले हेर्दैन हाम्रो समाज । कोही जाने मान्छे नगएर र कोही नजाने मान्छे जान कम्मर कसेर हाम्रो यात्रादल आठ सदस्यिय बन्यो । करिब एक महिना अगाडिबाट फेसबुकमा छुट्टै समुह बनाएर सामुहिक रुपमा गफिन थालेका थियौ हामी । टोलि आठ सदस्यिय भएकोमा मन खुम्च्याउनेहरुलाई गंगारामले ब्यंग गर्यो, “मैले त कालो बिरालो घरमा बाँधेर राखि सके । त्यस्लाई मेरो बाटो कटाएर मात्र घरबाट बाहिर निस्कन्छु ।” खुम्चिएका मनहरुले साबिक आकार पाए । हाम्रो टोलीको कान्छो सदश्य मनिस बिष्टले लेख्यो, “म फुलचोकी गएको छु । थोराङ्ला पास जान सकिहाल्छु नि !” पहिले कहिल्यै नभेटेको मान्छे, कुरा सुन्दा मान्छे निकै काँचो लाग्यो । कहाँको समुद्र सतहबाट २१०० मिटर उचाईको फुलचोकी कहाँको ५४१६ मिटरमा थोराङ्ला पास । केटोका बारे बिस्तृत बिबरण लिएँ । बाह्र पास गरेर बिदेशीने तयारीमा रहेछ ।
हिड्ने अघिल्लो दिन हामीले आबस्यक चकलेट, चाउचाउ, ग्लुकोज, काजु, किसमिस जस्ता खुराकहरु किन्यौ । पदयात्रामा चकलेटको बिशेष महत्ब रहन्छ । भोक लागेका बेला आडिलो र तागतिलो खुराक हो चकलेट । त्यस माथि बोक्न पनि हलुका । यात्राको भरपुर मजा लिनको लागि सामानको भारी कम गर्नै पर्छ । एक जोर थर्मोकोट, तिन बटा टिसर्ट, तिनै वटा ट्राउजर र ज्याकेट झोला भित्र खाँदिए । झोलाको वजन करिव पाँच किलो अनुमान भयो ।
कार्तिक १ गते यात्राको पहिलो दिन बिहान सात बजे गंगबु बसपार्कबाट डिलक्स बस चढेका हामी आठ जना करिब तिन बजेतिर बेशिसहर पुग्यौ । बेशिसहरबाट चार बजे हामीसँघै जिपमा चार जना पर्यटक थपिए । आठको अङ्क बाह्रमा परिणत भयो । जिपको अबस्था यात्रुबाहक कम मालबाहक धेरै थियो । भित्र मानिस बस्ने सिट क्षमता जम्मा छ मात्र थियो । बिदेशी पाहुनालाई पहिलो प्राथमिकतामा दिएकाले हाम्रो टोलिको छ जना बाहिर सामान राख्ने ठाँउमा कोचियो । खराब बाटोमा जिपले चारै वटा पाङ्ग्रा एकै पटक टेकेको महसुस कतै भएन । गाडि कान्लै कान्ला उक्लि रहे जस्तो लाग्थ्यो । त्यस दिनको हाम्रो गन्तब्य मनाङ सदरमुकाम चामे थियो । राती दश बजे देखि ड्राईभरले एक हातले स्टेरिङ घुमाउँदै अर्को हातले बिभिन्न होटलहरुमा फोन ग¥यो । चामेमा कुनै होटल खाली नभएको निस्कर्स निकालेर हाम्रो टोलि तिमाङमा राती सवा एघार बजे रोकियो । खाना खाएर सुत्दा साँढे बाह्र बज्यो । झ्वाँइ खट्टेमा रमाउने साथिहरुको भने सुत्ने तरखर नै थिएन ।
दोस्रो दिन बिहान साँढे सात बजे गुडेको हाम्रो जिप साँढे आठ बजे चामे पुग्यो । मस्र्याङ्दी नदिको किनारमा तेर्सिएको चामे बजारमा हल्का नास्ता गरेर हामिले साँढे आठ बजे पद यात्रा सुरु गर्यौ । हिडाई गति अनुसार हाम्रो टोली बिभिन्न उपसमुहमा बिभाजित भयो । अघिल्ला पदयात्राहरुमा लिगलिगे राजाको उपनाम पाएको रबि र सुदिप अगाडि अगाडि लम्कीए । अन्य पाँच जनालाई पछि पार्दै म अघि बढे । मस्र्याङ्दीलाई दायाँ पारेर किनारै किनार तेर्सिए पछि स्याउ फार्म पुगियो बिहान दश बजेको भोको पेट तथा सुकेको मुख, लटरम्म फलेका स्याउका रुखहरु लोभका ऐँजेरुले छोपिए । प्रत्येक फार्म छिर्ने मुखैमा लेखिएको थियो, “स्याउ चलाएमा पाँच हजार….” मनलाई थुम्थुम्याउँदै अघि बढेँ ।
अलि अघि बढे पछि आँखा अगाडि बिशाल चट्टान देखा प¥यो । कुनै शिल्पकारले सलक्क तासे जस्तो त्यस चट्टानले कुनै लेउ झारलाई सम्म पनि आफ्नो शरिर छुन दिएको थिएन । बर्षातमा त्यसले नुहाएका पानिका धर्साहरु अनुपम देखिन्थे । त्यस चट्टानले करिब चार घण्टासम्म हामिलाई आफ्नो सौन्दर्यले लोभ्याई रह्यो । यात्राको नियम अनुसरण गर्दै अगाडि पुगेका रबि र सुदिपले ढुकुर पोखरीमा खाना बनाउन लगाएका रहेछन् । बाह्र बजे म पुगेँ । साँढे बाह्र बजे शिशिर दाई आई पुग्नु भयो । हामी चार जनाले खाना खायौ । अन्य चार जना आई पुगे पछि शिशिर दाई र म अघि बड्यौ । एक घण्टा अगाडि गए पछि बाटो दुई तर्फ मोडियो । मस्र्याङ्दी पारी पाखोमा परम्परागत आवासिय घरहरु थिए । वारी किनारमा ब्यबसायिक नयाँ घरहरु थिए । रबि र सुदिप पनि आई पुगे । बाटो घुमेर पारी पट्टी नै पुग्ने निश्कर्ष साथ हामि भाँचिएको थोत्रो पुलबाट पालै पालो मस्र्याङ्दी तर्यौ । नक्सा पल्टाएर बसेका पर्यटकहरुले पनि हामिलाई नै पछ्याए । चल्तीको बाटो छोडेका हामी खुर्पानीका रुखहरुका फेदमा सुकेर झरेका फलहरु कुल्चदै अघि बढ्यौ । हामी बाठा भएर बाटो बिराएछौ । पुरानो देखिएको बस्ती माथ्लो पिसाङ रहेछ जुन हाम्रो पदमार्गमा थिएन । फेरी तल्लो पिसाङ तर्फ झर्यौ । चामेबाट हिडेका बिदेशी पर्यटकको पहिलो बास तल्लो पिसाङ र दोस्रो मनाङ हुने गर्छ । हामी गोर्खे पर्यटकको पहिलो दिनको गन्तब्य नै मनाङ थियो । तर बिहान हिड्न ढिला भएकोले साँझ साँढे पाँच बजे हुम्दीमा नै बास बस्यौ । हुम्दी (३३५३ मिटर) स्थित मनाङ जिल्लाको एक मात्र एयरपोर्ट हाल बन्द अबस्थामा रहेछ । मनाङका रसिला स्याउ खाँदै उक्त दिनको यात्रा समिक्षा गरियो, “ उकाली आराली धेरै नभएको अत्यन्त सजिलो बाटो ।
को उठे को उठेनन् चासो नराखी बिहान साँढे पाँच बजे प्रकृतीले उज्यालो छर्न सुरु गरे सँघै एक्लै तेस्रो दिनको यात्रा सुरु गरेँ कार्तिक ३ गते बुधबार । घाम नचर्किदै बाटो कटाउन सहज हुन्छ । दुई घण्टा पछि सुन्दर गाँउ मनाङमा (३५४०मी) रमाउँदै साथिहरुलाई पर्खिएँ । सुदिप र रबि आई पुगे पछि अघि बड्यौ । अन्नपुर्ण हिम श्रृङ्खला अन्तरगत पर्ने गंगापुर्ण हिमाल (७४५४मी) र त्यसैको फेदमा अबस्थित गंगापुर्ण ताललाई देब्रे परेर नौ बजे हामी ट्याङ्की पुग्यौ । पुर्ब सहमती अनुसार हामीले फापरको ढिँडो बनाउन लगायौ । दश बजे अन्य पाँच जना साथिहरु आई पुगे । “ढिडो के सँग खाने ?” शिशिर दाईको प्रश्नलाई मैले जवाफ दिएँ, “दाल र आलु” । “यस्तै हुन्छ भन्ने मलाई थाहा थियो । मनाङ् मै मिठो खाना पाईन्थ्यो ।” असन्तुष्टि सुनियो । पदयात्रामा पुग्न चाहेको गन्तब्य, भनेजस्तो सुबिधा युक्त बास र मिठो खानाको सन्तुलन कायम गर्न सम्भब हुँदैन । कुनै एकलाई प्राथमिकता दिनै पर्छ । समय र पैसा सिमित हुनेहरुले गन्तब्यलाई पहिलो प्राथमिकता दिनु भन्दा अन्य बिकल्प हुँदैन । सबैमा आईतबार सम्म आफ्नो काममा फर्किनु पर्ने बाध्यता थियो । खाना खाएर निस्कने बेला शिशिर दाईले भन्नु भयो, “सुरुको दिनबाट नै हामी गन्तब्यमा पुग्न सकेका छैनो । आज हामी याक खर्क वा त्यो भन्दा टाढाँ पुगे ल्यादर । त्यत्ति हो ।” ल्यादरबाट फेदि जम्मा डेढ घण्टाको बाटो हो, आज त्यति बल गरे हाम्रो एक दिन बचत हुन्छ भन्ने अन्य छ जनाको धारणा थियो । बाँकी रह्यो सुभाष, उ बनबासी रामको आज्ञाकारी भाई लक्ष्मण जस्तो थियो । दाजुको बिचार रामबिचार ।
खाना खाएर एघार बजे हिँडेका रबि, सुदिप र म दुई बजे बजे याकखर्क (४०१८मी) पुग्यौ । अन्य साथिहरुको अबस्था बुझेर मात्र अगाडि बढ्ने उद्धेश्यले हामीले त्यहाँ रोकियौ । काभ्रे तिरका एक जना पथप्रदर्शकले रमाईला गफ सुनाए । उनले भने, “गाईड, पोर्टर, आर्मी र पुलिस उस्तै हुन् ।” तिन बजे अन्य साथिहरु आई पुगे । शिशिर दाईले आज त्यहि बस्ने ईच्छा ब्यक्त गर्नु भयो । हामीले ल्यादर पुगे पछि बिचार गर्ने भन्यौ र अगाडि बढ्यौ । ल्यादर (४२५०मी) मा हल्का नास्ता लिन सुरु गर्दा शिशिर दाई र सुभाष आई पुग्नु भएको थिएन । हामि सबै भएको खण्डमा उँहाहरु अघि बढ्नु हुन्न भन्ने सोचेर रबि, सुदिप र म अघि बढ्यौ ।
अनकन्टार हिमाली काखमा पाल टाँगेर बसेको एक जोडी पर्यटकसँघको सामान्य सिस्टाचार पछि देउराली पुग्यौ । सानो चिया पसल रहेछ । पसलेले अगाडि पहिरो भएकोले होसियार रहन सचेत गराए । पहिरो अनौठो खालको थियो । सबै भन्दा खतरा पहिरोका माथि माथि कुद्ने नाउर ९द्यगिभ क्जभभउ०ले गुडाउने ढुङ्गाहरु थिए । हिमाली चट्टान क्षय भएर झरेका गिटिहरुको सुख्खा पहिरो हँुदै करिब दुई किलोमीटर पार गरेपछि झमक्क साँझ पर्दा करिब साँढे पाँच बजे हामी तिन जना थोराङ फेदी (४४५०मी) पुग्यौ । त्यहाँ जम्मा दुई वटा मात्र होटल थिए । रबि र सुदिप फरक फरक होटलमा गए बास खोज्न । म भारी बिसाएर बाटैमा कुरी बसेँ । हिड्दा तातेको सरिर एकै छिनमा सेलाएर काम छुट्न थाल्यो । सुदिप र रबि निरास फर्किए । दिउसै देखि होटल भरिइसकेछ । डाइनिङमा समेत सुत्ने ठाँउ रहेनछ । हामी रातभर त के एक छिन पनि बाहिर बस्न नसक्ने गरि जाडो बढ्दै थियो । रबिले पोर्टरहरु सुत्ने कोठामा बस्ने ब्यबस्था मिलाएछ । धेरै ठुलो राहत महसुष भयो । कोठा भित्र दुई तहमा लाईन लगाएर सय जना भन्दा बढि मानिस सुत्ने ब्यबस्था थियो । बिदेशीहरु पनि त्यहि लाईनमा सुत्ने तरखरमा थिए । हामिले यसो बस्ने सम्म ठाँउ पायौ । अब बल्ल पछाडी रहेका पाँच जना साथिको याद आयो । बाहिर निस्किएर एक छिन कुरे पछि पर टर्च बाल्दै साथिहरु आएको देखियो । हामिले पनि टर्च बाल्ले निभाउने गरेर उनिहरुलाई स्वागत गर्यौ । साथिहरु आई पुछि तनाब झन थपियो, बिशेष गरी ममा । शिशिर दाई र सुभाष अझै आई पुगेका थिएनन् । पछाडि तिर टर्च बलेको कतै नदेखेको बताए साथिहरुले । “टर्च त छ उहाँहरु सँग?” मेरो प्रश्नमा तितो जवाफ आयो, “मोबाईलमा होला नि ! बरु चार्ज चै छ कि छैन ! फोटो खिचेका खिच्यै थिए ।” सन्तोषले तितो जवाफ दियो । “कसरि आँउछन् दाई तिनिहरु? त्यस्तो बाटोमा ! माथिबाट नाउरले ढुङ्गा गुडाएको गुडाई छ ।” गंगारामले मै माथि ढुङ्गा गुडायो । मेरै भरोसामा आएका आफन्त हुनुहुन्थ्यो, उहाँहरु । बसेको भरमा रात कटाउन सकिदैन, कतै न कतै घुस्रिनै पर्छ भनेर रबि र गंगाराम माथिल्लो होटर तिर लागे । हामी अघि कै होटल भित्र पस्यौ । छटपटी बढ्दो थियो । “खोज्न जान्छु म ।” म टर्च लिएर निस्किए । “पर नजानु । गेटमै टर्च देखाएर बस्नु । सकिँदैन खोज्न जान ।” सन्तोष टर्टरायो । गेट भन्दा पर जाने हिम्मत जुटेन । जाडोले काम्दै गेटमा उभिरहे । रबि र गंगाराम फर्किए । दुई जना लाई सुत्ने ठाँउ मिलाएछन् । “जाँउ दाई ! आँउदैनन् तिनिहरु स्वर्गबास भए ।” गंगारामले गम्भिर हुदै भन्यो । “जे पनि बोल्छ फटाहा” मैले गाली गरेँ । “कहाँ र दाई उनिहरु ल्यादरमा त्यति राम्रो स्वर्ग जस्तो होटलमा बसे हामी यहाँ जाडोमा काम्दैछौ । तिनिहरु स्वर्गबासी कि हामी ?” बल्ल सास आयो । “साँच्चै हो ?” “हो दाई ! मैले कोठा र खाना ब्यबस्था गरिदिएर आएको । हामि भित्र छिर्यौ । चितवनबाट आएको पच्चिस जनाको बिद्यार्थिहरुको टोलिले थप एक जना लाई आश्रय दिने भयो । तिन जनाको टुङ्गो लाग्न बाँकी थियो । बिदेसी पर्यटकहरु एक अर्काको बिचमा केहि दुरी कायम गरेर सुतेका थिए । तिनिहरु अलि नजिकिएको खण्डमा हामी सजिलै त्यहा अटाउथ्यौ । उनिहरुमा हामि प्रति मानबिय संबेदाना देखिएको थिएन । नौ बजे तिर होटल साहुका बाबु छोरा कोठामा छिरे । छोराले लामा लट्टे कपाल पालेको थियो भने बाबु सेतै फुलेको दाह्री र कपाल माथि टोप लगाएका युरोपियन जस्ता थिए । उनको नाम मिचुङ रहेछ । “ठाँउ रैछ त यहाँ !” मिचुङदाईले पर्यटकहरु तिर देखाउँदै भने । “रिसाउने हुन कि ?” हामी मध्ये कसैले भन्यो । “तिनिहरु रिसाउनु पाँउछ, नेपालीले चै सुत्न पर्दैन?” पैंतिस बर्षको अनुभब संगालेका पर्यटन ब्यबसायि मिचुङ दाजुले खरो जवाफ दिए । उनैका अनुकम्पाले हामिले सिरक ओढेर म्याट्रेस माथि सुत्ने मौका पायौ ।
फेदिमा बास बसेका हामीहरु त्यस दिन सबेरै हिँडेको खण्डमा त्यसै दिन थोराङ्ला पास गरेर मुक्तिनाथ वा जोमसोम पुग्न सक्थ्यौ । केही दशक अघि सम्म सुर्योदय पश्चात तिब्र गतिमा हावा चल्नाले थोराङ्ला घाँटी पार गर्न सकिँदैन्थ्यो । जलबायु परिबर्तनका कारण हाल करिब दश बजे सम्म सकिन्छ । सन् २०१४ अक्टोबरमा मा यसै क्षेत्रमा हिमपात भएर थुप्रै पर्यटकहरुको मृत्यु भएको थियो । पछाडिका साथिहरु आए पछि हामीले थोराङ्ला घाँटी पार गर्न सक्ने अबस्था थिएन त्यसैले मनिष, सन्तोष, रबि र गंगारामलाई म र सुदिप भएर बिदा गर्यौ । छुट्टिनु दुबै समुहको रहर नभएर बाध्यता थियो । करिब नौ बजे तिर शिशिर दाई र सुभाष आई पुग्नु भयो । ल्यादरमा शिशिर दाजुलाई राती स्वास प्रश्वासमा समस्या भएछ । हामी बसैकै होटलबाट पनि लेक लागेको बिरामीलाई हेलिकप्टरले उद्धार ग¥यो । बाह्र बजे चार सय जनाको खाना एकै पटक बन्ने रहेछ । हामी खाना कुरेर बसेनौ । राती सुतेको पैसा समेत नलिएका हिमाल जस्ता मिचुङ दाजुसँग बिदा भएको डेढ धण्टामा हामी हाईक्याम्पमा (४८५०मी) पुग्यौ । उच्च हिमाली क्षेत्रका मानोरम दृष्यहरुमा रमाउँदै पहाड चढ्दै ओर्लदै गरेर अल्टिच्युड प्रतिरोधी क्षमता बृद्दि गर्दै हामिले दिन कटायौ । काठमाण्डौमा एउटा थर्मस आउने भन्दा धेरै पैसामा एक थर्मस तातो पानी हाईक्याम्पमा किन्यौ हामीले ।
कार्तिक ४ गते बिहिबार बिहान साँडे चार बजे हाम्रो टोलीले टर्च लाईटको उज्यालोमा चौथो दिनको यात्रा सुरु ग¥यो । हामी भन्दा अगाडि रहेका केहि बिदेशी पर्यटकहरुलाई उछिन्दै सुदिप र म अघि बढौ । सुर्योदय अगाबैको पाँच हजार फिट माथिको यात्रा अत्यन्तै रोमान्चक थियो । पन्ध्र बिस पाईला अघि बढे पछि सास फुलेर रोकिनै पथ्र्यो । प्रकृतीले उज्यालो छर्न थाले पछि हामीले मन थाम्न सकेनौ र फोटो खिच्ने असफल प्रयास गर्यौ । क्यामेरा अन गर्नको लागि पञ्जा खोलेपछि निला भएका हातका औलाहरुले क्यामेरा अन गर्न सकेनन् । करिब माइनस १५÷२० को चिसो थियो होला । क्रमश घामले न्यानो र उज्यालो बढाउँदै लग्यो । हाम्रा टाउका र हिमालका टाउकाका उचाई उत्ति उत्ति महसुष भयो । पौने सात बजे हामी थोराङ्गला पास पुग्यौ ।
समुद्र सतहबाट ५४१६ मिटर उचाईमा रहेको थोराङ्गला घाँटी दुई हिमालको बिचमा अबस्थित रहेछ । यसलाई पार गर्न सानो हिम्मतले पुग्दैन । स्वास्थले पनि साथ दिनु पर्छ । हाम्रो सौभाग्य हामीले त्यस उचाईलाई पार गर्र्यौ । प्रकृतीको रहस्यहरुलाई केहि हद सम्म बुझ्ने मौका पायौ । त्यहाँ करिब एक घण्टा बिताएर हामी मुक्तिनाथ तर्फ ओरालो झर्यौ । एघार बजे मुक्तिनाथ आई पुग्दा सम्म मेरो मनमा एउटै कुरा खेल्दै थियो, हेर्न राम्रो भोग्न गारो हिमाल ।
प्रमोद प्याकुरेल
जोरपाटी, काठमाण्डौ
९८४१४४६२३३

प्रमोदजी, त्यत्रो समय खर्च
प्रमोदजी, त्यत्रो समय खर्च गरेर भाषिक त्रुटीहरू सच्याई सम्पादन गरेर राखेको थिएँ, पहिलेकै जस्तो बनाउनुभएछ 🙁
माफि चाहन्छु
हजुरले सम्पादन गर्नु भएको मलाई याद भएन । धेरै त्रुटीहरु मैले पनि फेला परेको थिए। श्रींखला मासिक लाई दिन तयार पारेको लाई मैले फेरी upload गरे । आफुले गरेको गल्ती लाई महशुस गर्दै माफि चाहन्छु।