Skip to content

भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसको भव्य कार्यक्रम


भँगेरे अक्षरमा
यही शीर्षक छ
भव्य सभाहल छ
पाँच तारे होटलको प्राङ्गणमा
भव्य कार्यक्रमको माझमा भव्य छलफल छ
सोफामा बसेकाहरूका माझमा कानेखुसीशैलीमा छलको फल छ ।
अर्थ, भूमि, सामान्य प्रशासनका मन्त्रीहरू
मुख्य सचिवहरू, सचिवहरू, सहसचिवहरू
उत्तिकै विशिष्ट आमन्त्रितहरूको बल छ ।
दर्शक श्रोताको घुइँचो छ
त्यस घुइँचोमा विदेशी दारुको भल छ ।
मञ्चमा मुलायम मलमल छ ।
दर्शक, ताली पड्काउनेको खलबल छ ।
मालपोतका खर्दार, सुब्बा, अधिकृतहरू
यातायात विभागका खर्दारदेखि उँभोका कर्मचारीहरू
नापीका कर्मचारी, र अधिकृतहरू
जिल्लाप्रशासनका वरिष्ठहरू र
केही अदालका डिठ्ठा साहेबहरूको अनुहार झलझल छ ।
किनभने भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको
यहाँ भव्य समारोहमा भव्य छलफल छ ।
जोसुकैलाई प्रवेश निशेध छ
किनभने भ्रष्टाचार विरुद्धको दिवस आज विशेष छ ।
भाषण धाराप्रवाह चलेको छ
पाँचतारे होटल मानौ सजिएर धपक्कै बलेको छ ।
यहाँ अहिले क्यासिनोमा खुला जुवा चलेको छ ।
किनभने यहाँ भ्रष्टाचार विरुद्धको
दिवसको कार्यक्रम चलेको छ ।
ताली पड्काउनेहरू पड्काउँदा छन्
एकार्काका माझमा भाँजो हालेर
भड्काउनेहरू भड्काउँदा छन्
जोसुकैलाई प्रवेश निशेध छ ।
मालपोतका लेखनदासहरूलाई
मालपुवाको खाजा पुगाउने केही
विशेष भरियाहरूलाई र
नागरिकताको फाँटका प्यादाहरूलाई मात्र
प्रवेश अनुमति छ अरुलाई प्रवेश निशेध छ
किनभने भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको
यहाँ भव्य समारोहमा भव्य छलफल छ ।
ताली पड्काउँदैछन् मालका कर्मचारीहरू
जिल्लाप्रशासनका कर्मचारीहरू
यातायातका, नापीशाखाका कर्मचारीहरू
अर्थ र अरु अरु लाभको मन्त्रालयका
तावेदार र दाबेदारहरू ।
यहाँ क्यासिनोको भव्य हल छ
किनभने भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको
यसै क्यासिनोमा आयोजित
भव्य समारोहमा भव्य छलफल छ ।
रोकडा आफ्नो जाने हैन
दारु पानीको खास खर्चा केही छैन
देशको ढुकुटीबाट के खर्चा गर्थे राष्ट्रसेवकहरूले
उनीहरूको देशभक्तिमा अम्लो ठाडो पार्ने को अरुले ?
होटलको खर्चा उही करोडीमलले बेहोर्दै छ
नेपालको कर्मचारी प्रशासन
करोडीमलको घाँस पाँच तारे होटलमा चर्दैछ
के हो र एक दुई नागरिकताको काम गरिदिनु त छ
राष्ट्रसेवको यसै उपकारबाट
करोडीमलको परिवार यतै सर्दैछ
राष्ट्रसेवकलाई पाँचतारेका चारो छर्दैछ
हाम्रो राष्ट्रसेवकको दल भने
डिभी भरेर उतैतरि सर्दैछ
यता बसिन्जेललाई मात्र भए पनि
उनीहरूले राष्ट्रसेवा गरिरहेका छन्
भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवस यतै गर्दैछ
यहाँ भव्य समारोहमा भव्य छलफल भित्र
करोडीमलले राष्ट्रसेवकलाई चारो छर्दैछ ।
कनिका छर्दैछ, राष्ट्रसेवकको दल
पाँचतारेको चारो चर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *