एका देशमा एउटा ठूलो गाउँ थियो । प्रकृतिको सुन्दरताले भरिपूर्ण त्यो गाउँ जहाँका हावाहरूमा सुगन्धित फूलका बास्नाहरूले भरिएका, पानीहरू पहराको यौवनले भरिएका, जहाँका फूलहरू अप्सराका मुहारको प्रतिविम्बहरूले भरिएका, जहाँका माटोहरू बुद्धका बानीहरूले भरिएका थिए । मान्छेहरू थिए, देउताका पुनर्जन्म लिएका जस्तै । सुन्दर गाउँ जस्को नाम सुन्दै मान्छेहरू धन्य महसुस गर्थे । संसारभरि सबै देशहरूमा त्यस गाउँको नाम फैलिएको थियो ।
सबै देशका मान्छेहरू स्वर्ग भनेर त्यस गाउँमा घुम्न आँउथे । त्यहाँका मान्छेहरू पनि अत्यन्तै मिलानसार थिए । सबैको भलो चाहन्थे । एक अर्कामा मिलेरै बस्दथे । तर तिनीहरू ज्यादै गरिब थिए । खेतीपातीको भरमा जीवन गुजार्थे । तर पनि तिनीहरू खुसी थिए । एक अर्कालाई आपात पर्दा सहयोग गर्दै जीवन जिउँदथे । पाहुनालाई भगवान नै सम्झनथे र आपात परेकालाई सहयोग गर्नु, सरण दिनुलाई धर्म सोच्दथे । तर अचम्मको कुरा के थियो भने त्यस गाउँमा एउटा जादुको कुर्सी थियो । तर कसैलाई पनि आफ्नो गाउँमा जादुको कुर्सी रहेको कुरा पत्त्तै थिएन ।
जादुको कुर्सी अचम्मको थियो । जुन कुर्सीमा बसेपछि मनले चाहेको सबै पूरा हुन्थ्यो र त्यो सिङ्गै गाउमाथि राज्य गर्न पाउथ्यो । तर कसैलाई पनि यो कुरा पत्तो थिएन । पत्त्तो होस पनि कसरी? हरदिन रुखो माटो जोत्दै र खन्दैमा बित्दथ्यो त्यहाँका मान्छेहरूका दिन ।
एक समयको कुरा हो । कुनै एक अर्को देशमा ठूलो धार्मिक लडाँई भयो । त्यहाँका बहुल जाती र बहुल धार्मिक मान्छेहरूले त्यहाँका अधिकाम्सा अन्य जाती र धर्मका मान्छेहरूलाई जिँउदै काट्ने र गाड्ने गर्न थालेपछि आफ्ना ज्यान जोगाउनका लागि त्यहाँका ती मान्छेहरू अन्य देशमा भाग्न थाले र शरण लिदै बस्न थाले । र एक दिन तिनै भाग्ने मान्छेहरूका एक हुल मान्छे त्यस गाउँमा पनि आइपुगे ।
सबै मान्छेहरू खाना नापाएका जस्तै मरन च्याँसे देखिन्थे । कसैका नाक लामो र मुख भित्र पसेको थियो । कसैका मुख लामो र आँखा चिम्से थिए । नबुझिने भाषामा छिट्टो छिट्टो बोल्थे । ती सोझा किसान गाउँका मान्छेहरूले ती हेर्दै दयालाग्दो मान्छेहरूलाई बास दिए । पाहुना आँउदा भगवान सम्झने ती सोझा किसान गाउँका मान्छेहरूले आफू भोकै, नाङगै र दुख खपेर पनि तिनीहरूलाई शरण दिए ।
समय बित्दै गयो । वसन्त ऋतुले धेरै पटक त्यो गाउँको मुहारमा सुन्दारता थपी दिए । तिनै हरेकौँ वसन्तसङ्गै ती नयाँ मान्छेहरूले सन्तान जन्माउदै गए । ती सोझा किसानहरू दिनरात मेहनत गरी ती मान्छेहरूलाई खुवाइरहे । तिनीहरूका खुसीमा मुस्काइरहे । समय बित्दै गयो । ती नयाँ मान्छेहरूका सन्तानले पनि सन्तान जन्माए । हुँदाहुँदा कालन्तारमा ती गाउँका मान्छेहरूभन्दा धेरै भए नयाँ मान्छेहरू । ती मान्छेहरूको आफ्नो जमिन थिएन । आफ्नो घर थिएन । ती गाउँलेहरूले दयाले बनाई दिएका घरमा बस्थे । गाउँलेले ल्याइदिएका अन्नपातका भरमा पेट भर्थे । तर यो कुराले तिनीहरू खुसी थिएनन् । एक जना बृद्ध सधैं कसरी ती गाउँलेको जमिन र गाउँमा शासन गर्ने भनेर सोचिरहन्थे ।
एक दिनको कुरा हो । एक जादुगर त्यस गाउँमा आइपुगे । बृद्ध व्यक्तिले त्यस जादुगरलाई भव्य स्वागात गरे । गाउँका सबै मान्छेलाई मिठा खानेकुरा मगाएर भोजन गराए । रातभरि जादुगरसङ्ग वृद्ध व्यक्तिले गाउँको बारे भने । वृद्धको कुरा सुनिसकेपछि जादुगरले यस गाउँमा जादुको कुर्सीरहेको र त्यस कुर्सीमा बसेपछि मनले चाहेको कुरा प्राप्त गर्ने कुरा बताए । र त्यै कुर्सीबाटै गाउँको समस्य हटाउन सकिने कुरा पनि बताए । के खोज्छ्स कानो आँखो भने जस्तै वृद्धले आफ्नो योजाना पूरा गर्ने कसि पाएको महसुस गरेर खुसी हुँदै जादुगरसङ्ग त्यो जादुको कुर्सीरहेको स्थान बारे सोध्यो । गाउँकै भलो गर्ने बचन दिए पछि ती जादुगरले सबै बाताई दिए ।
जादुगरले भने जस्तै गरी धेरै दिनको उकालो चढेपछि त्यो वृद्ध व्यक्ति जादुको कुर्सीरहेको स्थानमा पुग्यो । डाँडा र सुन्दर भूमिमा थियो त्यो जादुको कुर्सी । डाँडैभरी गुँरासका थुङ्गाहरू मुस्कुराइरहेको, अग्लो चट्टानबाट पहराहरूमा ठोकिदै कलकल आवाजमा झर्ने झरना, साँचै जादुले नै बनाएको जस्तो देखिन्थ्यो । जादुगरले भने जस्तै जादुको कुर्सी देख्ने बितिकै वृद्धले आफ्ना चोर औँला कमलको पुष्पभित्र छिराए तत्कालै एउटा लहरा लहरिदै आइपुग्यो । वृद्धले लहरलाई च्यप्प पगडे र तत्कालै औँला झिकेर लहरमा झुन्डिहाले । लहराले तान्दै वृद्धलाई जादुको कुर्सीमा बसाले । जादुको कुर्सीमा बस्ने बितिकै जादुको कुर्सीले बोल्न थाल्यो । ‘ भन के चाहन्छौ?’ पूर्व योजना मुताबिक वृद्धले ‘यो गाउँमाथिको शासन युगौँयुगसम्म’ भनेर चिच्याए । कुर्सीले ‘भईजान्छ अर्को माग’ भनेपछि वृद्धले पुन: पूर्वयोजना मुताबिक भने । ‘कहिल्यै हामी बाहेक अरुलाई शासन गर्न नदिउन्…………….’
जादुको कुर्सीलाई समथर भागमा सारियो । त्यहाँ सबै घरहरू भत्काएर दरबार बनाए । त्यहाँ पुराना सम्रचना भत्काएर नयाँ सहर निर्माण गरे । ती सहर निर्माणका लागि नजिकै गाउँबाट सपाटी ऋण चलाए । कति भुभागहरू बेचिए । कयौँ त्यहाँका मुलबासीलाई नोकरको रुपमा बेचिए । त्यस गाउँमा आधुनिक सहर तयार भए पछि वृद्धले शासन सुरु गरे । सबै जग्गा जमिनहरू आफ्ना सन्तानका नाममा दिए । ती मुलबासीहरूलाई आफ्ना कामदार तथा दासिको रुपमा प्रयोग गर्न थाले । आफ्नै भाषालाई जबर्जस्ती बोल्न लगाए । ती मुलबासिहरू डर र क्रासकै कारण आफ्ना भाषा छोडेर नयाँ भाषा बोल्न सुरु गरे तर पनि आफूले बोलेको भाषा आफैले बुझेनन् । आफ्ना चाड छोडेर नयाँ चाड मनाए त्यो पनि आफूहरूको स्वतन्त्र गुमेको दिनलाई विजयदशमीको रुपमा ।
वृद्धको निधन पछि त्यस गाउँको शासक उस्कै जेठा छोरा भए र उस्ले नै नियम बनाए ‘ जेठा छोराले मात्र शासन गर्न पाउने । ‘ तर यी कुराहरू अरुले सहन सकेनन् र आफूले पनि शासन गर्न पाउनु पर्ने होडमा कुर्सी हत्याकाण्ड घटाए । जहाँ सबै जेठाशासकहरूको सन्तानको एकै चिहान बनाए ।
माईलो सन्तानमा शासन सर्यो तर अरु पनि शासन गर्न पाउनु पर्ने होडमा थिए । किनकि जस्ले शासन गर्थ्यो तिनीहरूले कालो धन कमाउन पाउँथे र जीवन स्तर नै अर्कै हुन्थ्यो । हुन त मुलबासिलाई खेतवारीमा अल्मलाएर गाउँका सजिला र उच्च तहका कामहरू सबै तिनै नयाँ मान्छेहरूले गर्थे तर पनि चुपचाप सुइकार गर्दै बस्दथे मुलबासीहरू । जादुको कुर्सीको मोहले कयौँ घटना घटाए पछि अन्तत एकलौटी शासन पछि जन सासनको सुरु भयो । शासक तिनै नयाँ मान्छेहरू भए भने जन तिनै मुलबासीहरू । जनले छानेको मान्छेले मात्र जादुको कुर्सीमा बस्न पाउने नियम बन्यो । तर पनि त्यो जादुको कुर्सीमा बस्ने मोहले कसैलाई छाडेको छैन । आजभोलि पनि त्यो एका देशको त्यो गाउँमा तिनै जादुको कुर्सीमा बस्नकै लागि राजनीति, बन्दा, ढुङ्गामुढा, हानाहान गरिराख्दछ्न् ती नयाँ मान्छेहरू ।
