प्रकृतिपूजक लिम्बू जातिको महान चाड चासोक–तङ्नाम (न्वागी पूजा) सिंगापुरमा पनि धूमधामका साथ मनाइएको छ। हरेक वर्ष झैं यसपालि पनि 2016 December 18 तारिक Tessensohn Community Club ( Civil Service Club) को भवनमा किरात याक्थुङ् चुम्लुङ सिङ्गापुरको आयोजनामा चासोक तङ्नाम भव्य रुपमा सम्पन्न भयो ।
लिम्बू भाषामा ‘चासोक’को अर्थ न्वागी र ‘तङनाम’को अर्थ उत्सव वा चाडपर्व हुन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने (चासोक–तङ्नाम) उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।
परापूर्वकालदेखि खेतीपाती गरेर आफ्नो जीवन गुजरा गर्ने किरात लिम्बूहरू आफूले खेतबारिमा लगाएको नयाँ अन्नबालीलाई घरमा भित्र्याउनु र खानुभन्दा अगाडि तागेरानिङ्वाफुमाङ र पितृलाई फेदाङमा वा तुम्याहाङद्वारा अर्पण गरी चासोक (न्वागी पूजा) गर्ने गर्दछन। यसरी चासोक गरिसकेपछि मात्र नयाँ अन्नबालीहरू खाने चलन लिम्बू जातिमा कायम रहेको छ।
आफूले लगाएको अन्नबालीहरू घरमा भित्र्याउन र खान अघि जीवन–जगतको सृष्टि र तिनको संरक्षरण गर्ने तागेरानिङ्वाफुमाङ र पुर्खाहरूको पूजाआजा गरेर नयाँ अन्न नचढाई खाएमा अनिश्ट हुने र अनेकौ रोगहरू लाग्न सक्ने मुन्धुमहरूमा सुन्न पाइन्छ ।
लिम्बूवान क्षेत्रका गाउँघरमा प्रत्येक लिम्बूको घर घरमा धुमधामसँग चासोक गर्ने गर्दछन् । अहिलेको बढ्दो शहरीकरण र विश्वव्यापिकरणको प्रभावले शहरबजार साथै विदेशतिर भने सामुहिक रुपमा गर्न थालिएको छ।
विविध कारणले विदेशि भूमिमा रहेका लिम्बू समुदायले हर्षोल्लाशका साथ आफ्नो मौलिक चाडहरू मनाउँनुले पनि यही कुराको पुष्टि गर्दछ कि भागेर भूगोलभरी जहाँसुकै पुगेपनि आफ्नो मौलिकताभन्दा फाल्टो जीवन बाँच्न सकिंदैन ।
आफ्नो जातीय पहिरनमा सजिएका लिम्बूलिम्बूनीहरूको उपस्थितिले सिङ्गापुरमा चासोक तङ्नामको माहोल नै रंगिन बनेको थियो । अँझ गैरलिम्बूहरूको सहभागिताले थप कार्यक्रमको शोभा बढाएको थियो । कार्यक्रममा सहभागि सबैजनाले चासोक तङनाम २०७३ सालको पावन अवसरमा उन्नति, प्रगति, सुख, शान्ति एवं सम्वृद्धिको शुभकामना कार्यक्रम अवधिभर एकआपसमा व्यक्त गरे। नेपाल बहु जाति देश भएकोले भाषा, धर्म साथै संस्कार र संस्कृतिमा पनि विवीधता छ । त्यसैले एक जातिले अर्को जातिको मौलिकतालाई सम्मान गर्दै सामाजिक सद्भाव कायम गरेर सह-अस्तित्वको निम्ति हातेमालो गर्दै अघि बढिरहनु जरुरी छ ।
चासोक तङ्नामलाई गएको सालहरूमा जस्तै स्मरणीय एवं मनोरंजनपूर्ण बनाउँन विविध साँस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो । उक्त कोशेलीहरूको प्रस्तुति अगावै मुन्धुम रेकर्डिङ् गरेको अडियो बजाएर चासोक तङ्नाम कार्यक्रमको उद्घाटन गरिएको थियो । उद्घाटन पछि सेमिहाङ सिङ्गक र निर्मला (देवान) चोङ्बाङको नेत्रित्वमा (के लाङ् समूह)ले स्वागत (केलाङ्) च्याब्रुङ नाच प्रस्तुत गरे ।
देशदेखि विदेशसम्मका न्वागी पूजा मनाउँन सामेल भएका सम्पूर्ण मनहरूलाई क्षितिज लावतीले स्वागत गरेर शुभकामना दिंदै सो कार्यक्रमको संचालकद्वय निरु हाङ्सरुम्बा र हाङ्पाल आङ्बुहाङलाई साँस्कृतिक प्रस्तुतिको अभिभारा सुम्पिदिए ।
किरात याक्थुङ चुम्लुङ सिंगापुरको अग्रज सदस्य श्रीभगत नारायण लिम्बूले आफ्नो स्वागत मन्तव्यमा कि. या. चु. एस्जीको गतिबिधिबारे संक्षिप्तमा बोल्नुभयो । किरात याक्थुङ चुम्लुङ सिंगापुरको लगभग २७ लाखको आर्थिक सहयोगमा राष्ट्रिय विभूति सिरिजंगासिङ थेबे, राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेन र किरात ईतिहासविद इमानसिङ चेम्जोङको पूर्णकदको सालिक ललितपु्र चुम्लुङहिममा निर्माण भएको छ । वहाँले त्रिमूर्ति निर्माणको कार्य उदाहरणीय साथै ऐतिहासिक भएको उल्लेख गर्नुभयो । उक्त सामुहिक सफल कार्यले एकताको सन्देश सारा संसारलाई दिएको र आउँने दिनहरूमा पनि एकजुट भएर अघि बढ्नु पर्ने धारणा व्यक्त गर्नुभयो । चासोक तङ्नामकै सुखद अवसरमा श्रीश्याम जबेगुले किरात याक्थुङ चुम्लुङ सिंगापुरको नयाँ सदस्यहरूलाई खादा लगाइदिएर स्वागत गर्नुभयो ।
किरात याक्थुङ चुम्लुङ सिंगापुरकै कलाकार, गायक, गायिका, तथा नृत्यकारहरूबाट कार्यक्रम अवधिभर (केलाङ्) च्याब्रुङ नाच, प्रहसन, लिम्बूभाषि रचना वाचन एवं सांस्कृतिक कार्यक्रमहरूको बेजोड प्रस्तुति रहेको थियो । विविध प्रस्तुतिहरू हेरेर दर्शकहरूले कार्यक्रम अवधिभर भरपुर मनोरञ्जन लिएर चसोक तङ्नाम मनाए ।
गायकहरू सन्तोष लक्सम र अर्जुन मादेन साथै गायिकाहरू अन्जू लिम्बू र निर्मला देवान चोङ्बाङले गीतसंगीतको मध्यमबाट दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । यसैगरी मन्जू लिम्बूको तर्फबाट ‘ याक्थुङ् लाजे लिम्बुवान ‘ बोलको गीतमा एकल नाच प्रदर्शन भएको थियो । अन्य सामुहिक नृत्यहरूको पनि उत्कृष्ट प्रस्तुतिरहेको थियो ।
कार्यक्रमको अन्त्यमा बिमला ईवारामले केलाङ् प्रशिक्षक सेमिहाङ सिङ्गक र निर्मला देवान चोङ्बाङ्लाई केलाङ् ग्रुपको तर्फबाट मायाको चीनो प्रदान गर्नुभयो । इतिहासमा नै पहिलो चोटि सिङ्गापुरमा केलाङ् प्रशिक्षण संचालन भएकोमा च्याब्रुङ नाच्न सिकाउँने र सिक्ने दुवै पक्षले खुशी व्यक्त गरे ।
उक्त कार्यक्रमलाई व्यवस्थित साथै प्रभावकारी रुपले सफल पार्नको निम्ति किरात याक्थुङ चुम्लुङ सिंगापुरकै सदस्यहरू अन्तर्गत एक आयोजक कमिटी तय गरिएको थियो । सो कमिटीले नै चासोक तङ्नामको साँस्कृतिक कार्यक्रम लगायत यातायात र खानेप्युँनेको व्यवस्थापन गरेको थियो । जस अन्तर्गत रन्जित थाङ्देन, क्षितिज लावती, सूर्य हुक्पा चोङ्बाङ, भुपेन तुम्बापो, हाङ्पाल आङ्बुहाङ, सेमिहाङ सिङ्गक, राजेन मादेम्बा, बिमला ईवाराम र निरु हाङ्सरुम्बाको टिमले सक्रिय भूमिका निभाएका थिए । चासोक तङ्नाम सफल गरी मनाउँनुमा अन्य सदस्यहरूको पनि सहयोग र समर्थन उतिकै सराहनीय रह्यो ।
आफ्नो मौलिक भाषा, लिपी र संस्कारसंस्कृति बिना कुनैपनि समुदाय अपुरो साथै अस्तित्व विहीन हुन्छ । भौतिक रुपमा जति नै उन्नती र प्रगतिहरू गरे पनि यी तत्वहरू बिना जीवनले जीवन्तता नपाउने हुनाले सिङ्गापुरमा रहेका लिम्बू समुदाय आफ्नो रीतिरिवाज र परम्परा तथा संस्कृति प्रति विगत केही सालहरूबाट जागरुक भएका छन् । संस्कार, संस्कृति, भेषभूषा र पहिचानको धनी लिम्बू समुदायले आफ्ना रीतिरिवाजलाई प्रचारप्रसार, संरक्षण एवं सम्वर्दन गर्न साथै नयाँ पिंढीलाई हस्तान्तरण गर्दै आफ्नो मौलिकतालाई जीवन्त राख्ने अभिप्रायले सिंगापुरमा पनि चासोक तङ्नाम मनाउँन थालिएको हो ।
सेवारो ! नोगेन! धन्यवाद !
चाँगे – ५, नेसुम, ताप्लेजुङ
हाल : सिङ्गापुर

