Skip to content

समानताका कुरा


मलाई लाग्छन् छुरा
जसै बज्छन् चुरा
यसै अतालिन्छु पुराका पुरा ।
यो पनि जिन्दगी नै हो
त्यो पनि जिन्दगी नै हो
फरक केही अवश्य छ
म बाहिर छु
उनी भित्र छिन् ।
म शासित छु उनी शासक छिन् ।
म कामदार छु
उनी महारानी छिन् ।
आदेश तालमेली गरिन भने
मैले भोकै बस्ने दिन आउन सक्छ
यो लोग्नेले सारै ठुलो दुःख पाउन सक्छ ।
जाऊ यो गर
आऊ त्यो गर
बिजुली, गर, पानी गर टेलिफोन गर
नानीहरूको फि समयमै भर
फुम राखेर काम गर्ने गर ।
मालपोत गर, भकारी सधैं भर ।
कसैको भर नपर ।
हुनु पर्छ आत्मनिर्भ ।
समाजमा इज्जती होऊ
घर रँगाऊ, घर बनाऊ, धन कमाऊ
कसरी हुन्छ मलाई नयाँ जीवन दिलाऊ ।
नत्र घरेलु हिंसाको उजुरी पर्नेछ ।
हाम्रो मण्डली अगाडि सर्नेछ ।
अदालत धाउनु पर्ला
जेल जानु पर्ला
दुःख बेसाउनु पर्ला ।
बिहान चाँडै उठ, नुहाऊ धुवाऊ ।
अनि चिया बनाऊ ।
आफ्नो स्वास्थ्यको ख्याल गर
जति खान्छौ अलिक सन्तोकले खाऊ ।
कुनै टेन्सन नलेऊ ।
मलाई मिटिङमा जानु छ भाषण गर्नु छ ।
एउटा मिल्दो भाषण लेखिदेऊ
नेत्रीको रुपमा नाम दर्नु छ
बेलुका मलाई बजार लग, सपिङ गर्नु छ ।
किन, के, कस्तो भनी प्रश्न नगर्नू
आफैमाथि भुत्भुते नछर्नू ।
सोधीखोजी गरेर कहिल्यै नगर्नू व्यवधान
नयाँ नयाँ चाहिए भित्री परिधान ।
खाद्यान्न, लत्ता, कपडा,
सकिए सोर शृङ्गारका सामान ।
कति कराऊँ म रात साँझ बिहान ?
फेसबुक स्टाटस लेखिदेऊ
राम्रो मुक्तक लेखिदेऊ
फोटो खिचिदेऊ
मेरो मानमर्यादा घरभित्रबाटै देखिदेऊ ।
यो ल्याऊ त्यो ल्याऊ
यता जाऊ उता जाऊ
मलामी जाऊ जन्ती जाऊ
जथाभावी नखाऊ जेसुकै तडकभडल नलाऊ
अरुले सुन्ने गरी नगुन्गुनाऊ ।
किनभने हामीहरूको समानताको कुरा छ
समाजमा मानमर्यादाका साथ बस्नु छ ।
अहिले मलाई तुरुन्तै बाइकमा हालेर
बिउटी पार्लरमा पुगाऊ
मेकप नसकिन्जेल बजारमा यसो अलमल गर्दै गर
पान, सुपारीहरू नखाऊ
म कल गर्छु, मेरोमा व्यालेन्स लगाऊ
भन्ने बित्तिकै तुरुन्तै लिन आऊ ।
किनभने हाम्रो समानताको कुरा छ
एक्लो बिन नबजाऊ
अरुतिर आँखा नलगाऊ ।
तुरुन्त यता आऊ ।
समाजमा मेरो पति भनेर सबैले बुझुन्
नाम कमाऊ, इजत कमाऊ
अहिले ता मलाई पार्लरमा छाडेर
समय बिताउन टेनसन नलिई कतै जाऊ
जतिबेला भन्छु
त्यतिबेला मलाई लिन तुरुन्त आऊ
तुरुन्तै लिन आऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *