कविता (अनुष्टुप छन्द)


हितको भाव जस्मा छ – त्यही साहित्य हो बुझ,
व्यक्ति समाज वा देश – पार्छ त्यस्ले समुन्नत

विसंगती अनीति या – विकृतिहरुका कुरा
चीर फार गरी हिड्छ – शिष्ट साहित्यको छुरा–

सभ्यता र सुसंस्कार – नीति संस्कृति शिष्टता,
हुन्छ साहित्यमा राम्रो – गुण आदर्श उच्चता

साहित्य असली त्यैहो– जो बोल्छ लोकको हित,
नीच साहित्य अश्लील – हुन्छ त्यो सर्ब निन्दित–

साहित्य राष्ट्रको प्राण – समाज पथदर्शक,
साहित्य सभ्यता मार्ग – तिरै हुन्छ समर्थक–

साहित्य हितको बाटो – साहित्य शब्द शक्ति हो,
स्रष्टाका अनुभूतिको – सिर्जना अभिव्यक्ति हो–

विकृतिहरुको गर्छ – विद्रोह शिष्ट शब्दमा,
सावधान बनौ भन्छ – साहित्य कर्म क्षेत्रमा–

जीवन जगतका यात्रा – नियात्रा सुख दुःखको,
अनुवाद तथा शब्द – सिर्जना सत्य मान्छ त्यो–

साहित्य सिर्जनालाइ – चाँहिदैन कृत्रिमता,
यथार्थ पारदर्शी नै – हुन्छ यस्को विशेषता–

कथा निवन्ध आलेख – कविता नाटकै अनि,
गजल मुक्तक जे–जे छन् – साहित्यका विधा यिनी–

ग्रन्थ विविध भाषाका – समूह अनि संग्रह,
साहित्य भनि बोलिन्छन् – भाषाका कृति वाङ्मय

निर्मलकुमार भण्डारी
बास्कोटा, कैलाली
रचना मिति २०७३ साल पौष ९ गते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *