बालकथा-०२ः सरी


हजुरीले बच्चाहरूलाई नेपाली बोल्न सिकाइन् । लेखपढमा रुचि जगाइदिइन् । आठ–दश वर्षका भइँन्जेल उनीहरूले कखरा नसिकेको कुरा समेत बुझिन् । घरमा ती बच्चाहरू टेलिभिजन हेर्न भने माहिर थिए । जीवन, जगत् र व्यवहारका कुराहरू मनग्यै बुझ्थे । बाबुआमाको बेहोसी चालाका सिकार थिए । घरभरि आधुनिक सुविधाका सामानहरू थिए । बच्चाहरू त्यसैमा रमाएका थिए । बच्चाहरूले के पढे र के सिके भन्ने बुझ्ने काम कसैबाट हुन्नथ्यो । हजुरीले बच्चाको भविष्य अभिभावकले नै नष्ट पारेको निष्कर्ष निकालिन् ।

एक दिन उनले भनिन्– “मकहाँ आउँदा किताब–कापी लिएर आउनू । तिमीहरूलाई कथा पनि सुनाउँछु र लेखपढ गर्न पनि सिकाउँछु । आज होसियार भएर वर्तमानको सही उपयोग गर्यौ भने भविष्य स्वतः सप्रन्छ । आज वेहोसी हुँदा पूरै भविष्य अन्धकार हुने खतरा रहन्छ ।”

दुवै बच्चाले स्वीकारोक्तिको मुण्टो हल्लाए । एकै छिन हजुरी भान्सामा व्यस्त रहिन् । त्यही मौकामा दुवैले एकअर्कालाई चिमोट्न थाले । गर्दागर्दै दुवैमा महाभारत मच्चिन थाल्यो ।
हजुरीले झगडा छुट्याउँदै भनिन्– “किन झगडा गरेको ?”

नातिचाहिँ आफू चोखै छु भन्न अघि सरी हाल्यो– “नई हजुरी ! हमरा ई छौडी पहिने चुटी काट लेलक ।”

तुरुन्तै नातिनीचाहिँ निर्दोष रहेको स्पष्टीकरण दिन घाउ देखाउँदै भन्न पुगी– “देखियो हजुरी ! हमरा घाउ बनादेलके । ओकरा माथा पर बजर खसते ।”

हजुरीको रिसको पारो तात्यो । दुवैलाई पिट्तै लखेट्ने मन भयो । घरमा आमाबाबुको साथ छाडेर आफूकहाँ दुईचार वटा भए पनि राम्रा कुरा सिक्न आएका निर्दोष बच्चालाई झपार्नु उचित लागेन । मायाले सम्झाउँदैमा पर्याप्त हुने लाग्यो ।

हजुरी बोलिन्– “आफूआफैँ मिल्न नसक्नेले कहिल्यै उन्नति गर्दैन । अँझ दाजुबहिनी त एकै मनका पो हुनुपर्छ त । कलह मच्चाए आफ्नै नाक कट्छ ।”

दुवै जना नतमस्तक भए । हजुरीले त्यही मौकामा अरू थपिन्– “कहिलेकाहीँ विपरित काम पनि उत्पादनात्मक हुन्छ । ‘रिस’ को विपरित भाव ‘सरी’ हुन्छ । रिस गर्न छाडेर ‘सरी’ भन ।”

अन्ततः दुवैले एक अर्कालाई ‘सरी’ भने । र, मिलेर बस्ने प्रण गरे ।

-आक्षांत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *