Skip to content


बुढी रुख,
युगौँदेखि उभिएर त्यो आँगनमा,
आफ्नै अगाडिको बुढो भवनको,
कुचिएको मुहार हेरेर,
वसन्तहरू काटिरही,
काट्न त कटिन् कयौँ वसन्तहरू,
कहिले सानी बच्ची भएर काटिन्,
कहिले किशोरी भएर काटिन्,
कहिले तरुनी भएर काटिन्,
काटिन् कयौँ रुपहरू,
कयौँ वसन्तहरूमा कयौँ रुप,
तर,
हिजो मात्र,
त्यो बजारको चर्च ढलेपछि,
बजारका मान्छेहरू,
चढेर उकालाहरू,
सजाइन् ती बुढी रुख र बूढो भवनलाई,
बुढी रुखको,
चाउरिएका ती बोक्राहरू फालिए,
सुकेका कपालहरू काटिए,
झिमिक्-झिमिक् झिम्किने ती,
रङ्गिन आँखे बत्तीहरू जोडिए,
र सिङ्गारिए बेहुलीलाई जस्तै,
बुढी रुख बुढेसकालको दुलहीमा सजिए,
सजाए त्यो बूढो भवनलाई पनि,
अनेकौँ रङ्गिन ध्वाजाहरूले,
सजिए बूढो भवन,
दुलाहाको भेषमा,
मान्छेहरू तिनै भवनमुनि,
भजन गाउँदै थिए,
चिच्याउदै थिए,
रङ्गिन मान्छेहरू,
रङ्गिएर,
२५ डिसम्बरका दिन,
मान्छेहरू त क्रिस्मस् मनाउदै थिए,
तर बूढो रुख र बूढो भवन भने,
आफ्ना जीवनका महोत्सव मनाउदै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *