महाशय
प्रत्यक्ष निर्देशनलाई पर सार्दै
असन्तुष्टिको त्यो नजर
यता नलाउनुस
यति खेर सम्पूर्ण शरीर
संक्रमित छ यो भयानक
महामारीद्वारा जुन छ अनिश्चित
अवश्य यो तपाईं भएतिर पनि
लम्किदै छ, मन्द गतिसँगै
ढुक्क साथ, निस्फिक्री भावसँग
किनकि उसलाई थाहा छ
उसलाई काट्ने एन्टिडोटको
प्रयोग कदापि हुने छैन
जुन पूर्ण नियन्त्रित छ
उसको आफ्नै जन्मदातासँगै।
म शरीरमा थिए, तर पनि
ममा चिन्ता थियो
पाउमा हुनेहरूको अवस्थाप्रति
तपाईं शिरमा हुनुहुन्छ
चिन्ताविहीन
तर नबिर्सिनुहोस
यो महामारी हो जसले
सम्पूर्ण शरीर संक्रमित पार्छ।
दुर्भाग्यवश मसित
अति थोरै डाक्टरहरू थिए
तर तिनीहरूसँग एउटै थिएन
जो भीषण दुर्भाग्यको
चपेटामा छन
तपाईंसँग मनग्य होलान
तर स्पष्ट छ
तिनीहरूको संक्रमण पनि
निश्चित नै छ
त्यसकारण महाशय
सरुवा हैन भन्दैमा
मेरो रोगलाई बेवास्ता नगर्नुस
किनकि सरुवा रोगभन्दा
करोडौ गुना संक्रामक छ
यो महामारी
जसको जीवाणु छिमेकीहरूको
दुष्ट नियतद्वारा निर्मित छ।
तपाईंलाई थाहा नै होला
दुष्टताको अथाह शक्ति
हो! अहिले म
त्यही शक्तिसामु निरीह छु
तपाईंको दुरुस्तै भविष्य देख्दै
त्यसैले समयमै ब्युझिनुहोस
र सहानुभूतिको भाव
ल्याउनुहोस नजरमा
अनि सहजै क्षमा गर्नुहोस
म समयरेखालाई प्रायः
अतिक्रमण गर्नेछु
किनकि मेरो घरको
ग्याँस सकिएको छ।
