Skip to content


आजभोलि पत्र–पत्रिकाहरू एव म सञ्चारमाध्यमहरूमा दिनहुँजसो आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एकप्रकारले मन्द विषसरी फैलिरहेको छ– हाम्रो समाजमा आत्महत्याको शृंखला । किन यसरी तिव्र गतिमा फैलिरहेको छ– यो सोचनीय र चिन्ताको विषय हो ।

स्वभाविकरुपमा मान्छे सम्वेदनाले भरिएको हुन्छ । जीवनका उतारचढावहरूलाई उसले जसरी पनि समाधान गर्नुपर्ने हुन्छ ।

सामान्यत् कुनै कारणबाट उत्पन्न मानसिक पीडा वा यातनाबाट उन्मुक्तिका लागि मानिसले देखेको उपयुक्त बाटो र उपाय नै आत्महत्या । विभिन्न कारणबाट आत्महत्या गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै छ । नेपालमा सामान्यतया प्रेमको बहानामा बसेको अनैतिक गर्भ, पतिको कुटाई, सौताको आगमन, दाइजो, पढाईमा असफलता, आदि जस्ता विकृत मानसिक दवाव नै उनीहरूको आत्महत्याको प्रमुख कारण हुन पुग्दछ । अँझ वैशाख १२ गतेको भूकम्पपछि नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ । सामान्यतयाः कसैले दिएको मानसिक यातना वा पीडा नै आत्महत्याको कारक हो । कसैको रहर र इच्छाका कारण भने होइन आत्महत्या ।

नेपालमा आत्महत्या गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । हिजोआज हुने गरेका आत्महत्याको घटना र प्रकृति हेर्दा अधिकांश मात्रामा घरेलु हिंसाकै कारण हुने गरेका छन् । मनोविश्लेषक रमा कार्कीका अनुसार आत्महत्याको प्रमुख कारण भनेको मानसिक समस्या नै हो । आजाको हाम्रो परिवेश मानसिक स्वास्थ्य प्रति सम्वेदनशिल छैन । सामान्य उदाहरणका लागि ‘‘टाउको दुख्यो भने चिकित्सककहाँ गइन्छ, मन दुख्यो या तनाव भयो भने कहाँ उपचार गर्न जाने’’ यस्तो द्विविधामा मानिसहरू छन् ।

कार्कीको तर्क छ– ‘‘आत्महत्या तत्कालीन कारणको उपज मात्र हुन सक्दैन जब मानिसले आफ्नो समस्याहरू गुम्स्याएर राख्न थाल्छ या त्यो समस्याबाट आफू कमजोर भएको महसुस गर्न थाल्दछ र तत्कालीन रुपमा समस्याको निकास भेट्दैन उसले रोज्ने भनेको आत्महत्या नै हो ।’

आत्महत्याको कारण मानसिक रोग भएको अर्का मनोचिकित्सक निराकारमान श्रेष्ठको ठम्याई छ । ‘‘उदासपन, मादक पदार्थको सेवन, लागु औषधका दुव्र्यसनी र व्यक्तित्वमा असमझदारी यसका कारण हुन् ।’’ लागू औषध दुव्र्यसनी मध्ये १५ प्रतिशतले आत्महत्या गरेको तथ्याङ्क उनले आफ्नो कार्यपत्रमा समावेश गरेका छन् ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान शाखाले ७ वर्षको तथ्याङ्क अनुसार नेपालमा दैनिक सरदर ११ जनाले आत्महत्या गर्ने गरेको र पछिल्लो ७ वर्षमा २१ हजार २ सय २७ जनाले आत्महत्या गरेका कुरा उक्त तथ्याङ्कमा उल्लेख गरिएको छ । २००६ देखि २०१३सम्मको तथ्याङ्क हेर्दा आत्महत्या गर्नेको संख्या वर्षेनि बढ्दो छ । कतिपय सामाजिक प्रतिष्ठा कानूनी झण्झट आदिले गर्दा प्रहरीकहाँ यस्ता घटना नआइपुग्ने हुनाले यो तथ्याङ्क अँझै स्पष्ट छैन ।

मनोचिकित्सक निराकारमान श्रेष्ठका अनुसार यथार्थमा आत्महत्या गर्नेको संख्या अँझै बढी भएको बताउँछन् । प्रतिष्ठा, कानूनी कारवाही र झन्झटिलो प्रकृयामा फस्नुपर्ने डरले धेरै आत्महत्याका घटना प्रहरीसम्म नपुग्ने हुनाले यसको वास्तविकता प्रहरीले गरेको प्रहरीको सार्वजनिक तथ्याङ्कभन्दा दोब्बर हुने उनको दावी छ ।

प्रहरीको वार्षिक तथ्याङ्क अनुसार हरेक सय जनामा ७० जना झुण्डिएर, १८ विष खाएर र १२ पानीमा वा आगोमा जलेर आत्महत्या गर्दछन् । आर्थिक वर्ष २०७१÷७२ सालमा ४ हजार ३ सय ५० जनाले आत्महत्या गरेका छन् । जसमा ३ हजार १ सय ५ जनाले झुण्डिएर आत्महत्या गरेको र १ हजार ९० जनाले विष खाएर आत्महत्या गरेको अपराध अनुसन्धान विभागको तथ्यांक छ । बाढी पहिरो तथा भूकम्प जस्ता प्राकृतिक विपदमा परेकामध्ये धेरैजसोमा मानसिक तनाव र निराशा पाइएकाले आत्महत्या गर्नेको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठन र आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघले यसवर्ष म आत्महत्या रोकथाम गर्न मुख्य प्रतिवद्र्धता जनाएका छन् ।

मनोवैज्ञानिक, समाजशास्त्री र मनोचिकित्सकहरूले आत्महत्या गर्नुमा मनोवैज्ञानिक कारणको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा निश्चित गरेका छन् । समाजशास्त्री इमाइल दुर्खिमले व्यक्तित्वमा तनाव बढेर चरम निराशा पैदा भएपछि आत्महत्या गर्ने र सामाजिक कारणबाट निराशा पैदा हुने, जस्ता आत्महत्या सम्बन्धी कुराहरू आफ्नो सिद्धान्तमा उल्लेख गरेका छन् । तनावको प्रमुख कारक एउटा गरिबी पनि हो । यसलाई उनले समाजको संरचनागत प्रकार्यका रुपमा हेरेका छन् ।

मनोविज्ञ गंगा पाठकको भनाईमा– ‘‘मानिसले आफू चारैतिरबाट समस्याले घेरिएर अगाडि जाने स्थान छैन भन्ने ठानेपछि आत्महत्याको बाटो रोज्छ । हाम्रो समाजमा आत्महत्या गर्नेलाई काएर मानिन्छ । तर उसले त्यसो गर्नुपर्ने वाध्यता किन आइलाग्यो भन्नेतिर कसैले ध्यान दिंदैनन् ।’’

मानिसले जुनबेला आफ्नो जीवनमा नमीठो महसुस गर्दछ त्यसबेला ऊ चिन्ता र पीडाको सागरमा डुबुल्की मारिरहेको हुन्छ । आत्महत्याको मुखमा पुर्याउने मात्र पनि चिन्ता नै हो । यस्ता घटनाका पछाडि मुख्यतया पीडा, चिन्ता र दुःख नै भेटिन्छ । तर यसको राम्रो अध्ययन गरी रोकथाम गर्ने व्यवस्था भने कतै छैन र देखिंदैन पनि ।

‘‘आर्थिक दुरावस्था, वेरोजगार, कोलाहलयुक्त शहरी परिवेश र निम्न आयबाट महंगो शहरमा जिउनुपर्ने वाध्यताले निराशा बढ्छ ।’’ –अपराधशास्त्री प्रा. माधव प्रसाद आचार्यको कथन रहेको छ, त्यस्तै अपराधशास्त्री थप्छन्– अहिलेको बढ्दो निराशा र यसकारण बढिरहेको आत्महत्यालाई राज्य विहीनताको स्थितिका रुपमा लिएका छन् । यसलाई सामान्य ढंगले लिएर राज्य पन्छिन पाउँदैन । राज्यले नागरिकका लागि गर्नुपर्ने दायित्व निर्वाह नगरेकोले यस्तो भयावह स्थिति आएको हो ।

विश्व स्वास्थ्य संगठनको एकअनुसन्धानमा सबैभन्दा बढी आत्महत्या गर्ने मुलुकहरूमा नेपाल आठौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा प्रति एकलाख मानिसमा आत्महत्याको दर २४.९ छ । अर्थात् एक लाखमा झण्डै २५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार सन् २०१२मा नेपालमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये महिलाको संख्या २४ सय ६७ र पुरुषको संख्या ३१ सय ४ रहेको छ ।

विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि लिङ् अङ्ले नेपालमा आत्महत्या विरुद्धको राष्ट्रिय नीति नै आवश्यक रहेको र ग्रामीण तहसम्मको कार्यान्वयन र सामुदायिक सक्रियतामा यो न्यूनीकरण हुन सक्ने बताएका छन् । आत्महत्या व्यक्तिको आत्मनिर्णय भएकोले स्वेच्छाले आत्महत्या गर्न पाउनुपर्ने विचार पनि केहीको होला, तर अपराधशास्त्री प्रा. आचार्य भने सामाजिक अमनचयन तथा सांस्कृतिक सुव्यवस्था कायम राख्नका लागि पनि आत्महत्याका कारक माथि कारवाही गर्ने कानून बन्नुपर्ने आवश्यकता रहेको औल्याउँछन् ।

सरकारी तथ्याङ्क अनुसार अँझै पनि मुलुकमा ४३ प्रतिशत बेरोजगार र चौथाई जनता गरिबीको रेखामुनिरहेको देखिएको छ । आत्महत्याका विभिन्न कारणहरू मध्ये राष्ट्रले जनतालाई न्यूनतम शिक्षा, स्वास्थ्य र गाँस–बासको सुविधा दिलाउन नसक्नु पनि हो । अर्थशास्त्री प्रा. विश्वम्भर प्याकुर्याल सरकारले सामाजिक सुरक्षा बढाउनै पर्ने ठान्छन् । आर्थिक आत्महत्या भएका र उन्मुखहरूको तथ्याङ्क राख्न केन्द्रीय स्तरमा एउटा निकाय बनाउन सकिन्छ भन्ने उनको तर्क छ । ‘‘यसले आत्महत्याका कारणहरू पहिल्याई त्यसको न्यूनीकरणका नीति बनाउन सहयोग गर्न सक्छ ।’’

व्यक्तिलाई आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्था भनेको अत्यधिक चिन्ता र तनाव नै हो । जब मानिसलाई पीडा बोध हुन थाल्दछ त्यति बेला जीवन नै भारी बनेर आउँदछ र जीवनका चौबाटाहरू ठप्पै भएको ठान्दछ अनि आत्महत्या जस्तो जघन्य अपराधपूर्ण बाटो समाउन पुग्दछ । त्यति बेला उसलाई आवश्यक परामर्श उपलब्ध गराउने र जीवनका अप्ठ्यारा बाटाहरूमा निभर्यका साथ हिंड्न दृढ मनोवल प्रदान गर्न सक्ने हो भने आत्महत्या रोकिन सक्दछ ।

हुन त, हामीले अन्य मृत्युका कारणहरूझैं आत्महत्यालाई निदान गर्न सक्दैनौ तर रोकथामका लागि दुईवटा कुरामा ध्यान दिनु नितान्त जरुरी देखिन्छ ।

एउटा आत्महत्यासम्म पुर्याउन सक्ने रोग लागेको छ भने सो रोगको मनोपरामर्शको माध्यमबाट निदान गर्ने प्रयास गर्नुपर्दछ । अर्को आत्महत्या मात्र समस्याको समाधान होइन, आत्महत्या बाहेक अरुपनि समस्याका निदान छन् । जीवनका बाटाहरू अनगिन्ती छन् भनेर जीवनसीप समेत सिकाउनु जरुरी पर्दछ । विशेषगरी घरका सदस्य र अविभावकहरू सचेत हुनुपर्ने नितान्त आवश्यक भएको मनोचिकित्सहरूको भनाई छ ।

email: [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *