Skip to content

भ्यालेन्टाइन डे कि भाले टाइम डे ?


आफू त कुखुराको जात परियो । त्यसमा पनि भाले । चारै बजे बास्नुपर्ने । बासियो । डाको छोडेर बासेकोले होला वरपरका चल्ला पनि चिउँचिउँ कराउन थाले । फेरि छपक्क लागे । एका कुनामा पोथी ओथारो बसेकी थिई । घरीघरी लामो स्वरले क्वाँक्वाँ गर्थी । म सुनिराथेँ ।

मैले फेरि पखेटा भ्याटभ्याट गर्दै टोलै थर्किने गरी ‘कुखुरी काँssss ‘ गरेँ । ओथारे पोथी कोरकोराइन । पहिलेको चल्ला र अहिलेको अण्डामै उसको ध्यान देखेँ । खोरबाट बाहिर निस्किएँ । रिमरिम हटेर छ्याङ्ग उज्यालो भैसकेको रछ । घरको धुरीमा चढेर यसो तल्लो गाउँमा हेरेको त थुप्रै पोहोराहरू कोरकोराउँदै चर्दै र चर्दै कोरकोराउँदै गरिरहेका थिए । अनि, मलाई पनि ‘के खोज्छस् कानो आँखो’ भनेझैँ भयो ।

धुरीबाटै वेग हानेर स्वात्तै बेसी गाउँतिर झरेँ । बेसी गाउँ रमालो छ भन्ने मलाई पहिला नै थाहा थियो । त्यसमा पनि आज त झनै रमाइलो रहेछ ।

मेरा साथीहरू कौडे भाले र गिरिराज भाले पनि तिनै पोहोराको हूलमा चरिरहेका थिए । म पनि उनीहरूसँगै मिसिएर चर्न थालेँ । चर्दाचर्दै ती पोहोरा पोथीहरू पनि त्यहीँ आइपुगे । उनीहरूको हूल पनि सानोतिनो थिएन ।

म चैँ लेक गाउँको भएकोले होला- रातो वर्णको थिएँ । मेरा सिउर र छरी उस्तै चिटिक्क थिए । पोहोराहरू झन ओर झन ओर गर्दै चर्न थाले । म लाजले हटेहटे जस्तो गर्न थालेँ ।

बगालमध्यकी राम्री पोहोराले भन्न थाली “किन लजाको ? आज त ‘भाले टाइम डे’ हैन त !”

मैले सोधेँ “के हो यो ‘भाले टाइम डे’ भनेको ?”

उसले भनी “छि: यत्ति जाबो पनि नबुझ्ने, तिमी त के खालको भाले हौ ? भाले चैँ हुने ‘भाले टाइम डे’ चैँ नबुझ्ने, लाटा !”

मैले कुरो बुझेँ । अनि………….!

त्यसपछि त्यहाँ बसिराख्नु उपयुक्त होलाजस्तो लागेन । अघि झर्दा त वेग हानेर झरेको थिएँ तर अहिले चाहिँ लुरुलुरु परेर घरतिर फर्किएँ ।

घरमा आइपुग्दा त घरका मालिक कान्छा मुखिया ‘भाले हरायो’ भनेर राँक्किएर बसेका रैछन्- कान्छी मुखिनीमाथि । मलाई देख्नेवित्तिकै कड्किए- तेरीमा गोट्टी एका बिहानै कहाँ मर्न गाको थिस्, हँ ? मैले केही उत्तरापत्तरा गर्न सकिनँ । लुते सिउर लाएर उभिमात्र रहेँ । कान्छा मुखियाले मेरा दुवै खुट्टा च्याप्प समाते । उँधिमुन्टी लाउँदै कोर्मेमा लगेर थुनिदिए ।

कोर्मे बाहिर उनी गर्जिँदै थिए, “यसले आज मलाई ढिलो गरायो, बेसीतिर भ्यालेन्टाइन डे मनाउँन जाम्ला भन्दै थिएँ……. ।”

कोर्मेभित्र थुनिनु परे पनि मैले मनमनै अन्दाजी लगाएँ- “हाम्रो ‘भाले टाइम डे’ भनेको यिनीहरूको चैँ ‘भ्यालेन्टाइम डे’ रहेछ ।

यो कान्छो मुखिया पनि मै झैँ नकचरा छन् । बेसी झरेर मनाउन् कि लेक चढेर मनाउन् मलाई मतलव छैन तर कान्छा मुखियाले हाम्रो भाले टाइम डेलाई देखाशेखी गरेर भ्यालेन्टाइन डे चैँ पक्कै मनाउने भए । खै भ्यालेन्टाइन डे हो कि भाले टाइम डे हो !”

-इन्द्र थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *