Skip to content

नेवार महिला सदैब सौभाग्यवती रहन्छन्


 

वैदिक सनातनी समाजमा पतिको मृत्यु पछि महिलाहरूले बांकी जीवन आ-आफ्नो परम्परागत सामाजिक मान्यता अनुसार सामान्य जीवनभन्दा बेग्लै कष्टकर जीवन यापन गर्नु पर्ने परम्परागत संस्कार रहेको छ । विधवा जीवन वैदिक सनातनी याने हिन्दू महिलाहरूका लागि एउटा कष्टकर चुनौती हो । तर हिन्दू नै भएतापनि नेवार समुदायका महिलाहरू कल्यै विधवा हुन्नन् । आफ्नो पतिको देहान्तपश्चात पनि सदैव सौभाग्यवती नै रहिरहने नेवार रीतिथिति र शास्त्रीय मान्यता एवं सामाजिक मान्यता कायम रही आएका छन् । नेवार समाजमा बालविवाह र सति प्रथा जस्तो अमानवीय कूप्रथा भित्रन नदिन एउटा प्रगतिशील र क्रान्तिकारी रीतिथिति बिधिव्यवहारको संस्कार चलनमा ल्याई थालिएको “इही” संस्कार नै यसको मूल आधार हो ।

विवाहित लोग्ने मरेपछिहरूले सह-गमन गर्नु पर्ने अथवा सतिब्रत (पतिब्रतामा)रहनु पर्ने वैदिक धर्म शास्त्रका ग्रन्थहरूमा उल्लेखित गरिएकाले वैदिक प्राचिनकालदेखि नै आफ्ना लोग्ने मरेपछिपत्निहरू कोही सति गै सह- गमन गर्थे भने कोही सति धर्ममा रहन्थे । यसै कारणले नेपाल र भारतीय हिन्दू समाजमा महिला हिंसाका सबभन्दा चरमरुपमा रहेको बालविवाह र सति प्रथा तथा विधवा प्रथाले जडा गाडीयकाले यस समाजमा विधवा जीवन एउटा अभिसापका रुपमा कायम भै आएको देखिन्छ । महिलाले विवाहित लोग्ने मरेपछि जिउँदै लोग्नेको लाससँगै जिउँदै जलेर सति गएर सह-गमन गर्नु पर्ने अथवा सतीब्रत याने पतिब्रतामा रही नरकीय जीवन यापन गर्नु पर्ने शास्त्रीय मान्यता रहेका कारण विधवा विवाह गर्नु हुन्न अर्थात विधवाले विवाह गर्न हुन्न भन्ने प्राचीनकाल देखि नै समाजिक मान्यता रही आएको देखिन्छन् ।

नेपालमा राजा त्रिभूवनको शासनकालमा २५ आषाढ १९७७ (८ जुलाई १९२०)मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले कडा कानून नै बनाई सति प्रथाको अन्त्य गरेतापनि विधवा महिलाहरूले नरकीय जीवन यापन गरी नै आएका थिए भने केही वर्ष अघि देखि अग्रगामी प्रगतिशील विचार र समाज सुधारको गतिको क्रममा विधवा महिलाहरू विवाह गर्न र गराउन राज्यले प्रोत्साहान दिने कार्य थालिन्दै आएका छन् । तर महिला सदैव सौभाग्यवतीरही कहिल्यै विधवा नहुने शास्त्रीय र परम्परागत सामाजिक मूल्य मान्यता रहेको बिधिव्यवहारको संस्कार नेवार समाजमा गैर नेवार समाजकोभन्दा पृथक र भिन्न विधि व्यवहारको “इही” संस्कार नेवार समाजको सभ्यताको सुरुबाट नै चलन कायम भै आएको देखिन्छन् । त्यसै कारण इही संस्कारका विषयमा विद्वान स्वयम्भूलाल श्रेष्ठजी यसलाई प्रगतिशील र क्रान्तिकारी कदम हो भन्ने आफ्नो विचार राखेको देखिन्छ। देशमा अन्य विषयहरूमा ऐन कानून निर्माण भएतापनि विधवा प्रथा र विधवाको मान्यतालाई अन्त्य गर्ने ऐन कानून बनाएन तर पनि नेवार समाजमा भने यस्तो यस्तो मान्यता नै छैन । नेवार समाजले यसलाई जातीय गौरबता मान्नु पर्ने कुरा श्रेष्ठजीको भनाइरहेका देखिन्छन् ।

“इही” भन्नाले हाम्रो मनमस्तितमा सानू बच्चामा नेवार कण्याहरूलाई गर्नु पर्ने एउटा सामान्य संस्कार मात्र हो भन्ने लाग्छ । तर नेवार भाषामा “इही” को शाब्दिक अर्थ इहीपा याने विवाह हो । आजभोलि सभ्य समाज विकासका नाममा नेवारहरूले वास्तविक जीवनमा गरिने विवाहलाई इहीपा भन्ने परम्परा त्याग्दै नेवार मौलिकता आफैले मास्दै आएको यहाँ देख्न सकिन्छ । विवाहको निमन्त्रणा पत्रमा समेत “इहीपा” नलेखी “शुभ-विवाह” लेख्ने परम्परा थालिन्दै आएका छन् । जुन नेवार परम्परा र मौलिकतालाई मास्ने काम नेवार आफैले गर्दै आएको यहाँ प्रस्त नै देख्न थालेका छन् ।

सनातन हिन्दू संस्कारमा सोह्र संस्कार हुन्छन् तर पनि नेवार समुदाय भित्र हिन्दू नै भएतापनि दशकर्म संस्कार मात्र हुने गर्दछन् । दशकर्म संस्कार मध्ये छोरीलाई गरिने संस्कारहरू मध्यका एक संस्कार “इही” संस्कार हो । सामान्यतया नेवार समुदायमा छोरी पाँचदेखी सात,वर्ष भित्र इहि संस्कार गर्दा उत्तम मानिन्छन । यो संस्कार सनातन धर्मले निर्देशित विधि हो भन्ने प्रमान आदित्य पूराणमा उल्लेखित पंक्ति ” पिपलाम्बु सुवर्ण वा श्रीफलै:सार्धमुव्दहत । एभि: समुध्द हे बृषलीत्वात प्रमुच्यते ।। अर्थात – पिपल, जल, सुन वा बेल यी मध्ये कुनै एकसँग कन्याको विवाह गरिंदा ती कन्या बृषली (चण्डालिनी) हुनबाट जोगिन्छे ।

सनातन हिन्दू धर्म अनुसार कन्यालाई बाह्र वर्षभित्र कन्यादान गरिएन भने ती कन्या रजपूर्ण हुन्छे । आफ्ना कन्याहरू विवाह पूर्व रजपूर्ण याने रजस्वला भयो भने तिनका बुवाआमा र दाजुभाइ नरक जाने छन भन्ने कथन रहेका छन । आफ्ना छोरी चेलीको रज-दोषबाट मुक्तरही नरक जानबाट वच्न नै गैर नेवार हिन्दूहरू आफ्ना छोरीचेलीलाई सानैमा कन्यादान गरी बालविवाह गराई कन्यादानको पून्य लिने चेष्टा गरेको देखिन्छ्न । यसै कारणले गैर नेवारहरूमा बालविवाह जस्तो कुप्रथाले जडा गाडेको हुनसक्दछ्न । धर्म शास्त्रले निर्देशित गरिए अनुसार आफ्ना छोरीचेलिको रज-दोषकारण नरक जानू पर्ने सन्त्रासले पनि आफ्नु समुदायमा बालविवाह जस्तो कुप्रथाले प्रवेश पाउन सक्ने संभावनालाई निषेधित गर्न नेवार समुदायका पूरर्खौली विद्वानहरूले चलाखीपूर्ण तरीकाले सनातन धर्मशास्त्रले निर्देशित गरिएअनुसार नै नीतिगतरुपमा नै यो संस्कार र प्रथा प्रतिपादनगरी एउटा प्रगतिशील तथा कार्न्तिकारी संस्कृतिको विकास गरी दिए ।

नेवार समुदायमा इहि गर्ने यो संस्कार कहिले देखि सुरुभयो भन्ने लिखित आधार कहीं कतै देखिन्दैनन । तथापि यो संस्कार सनातनदेखि नै चलिआएको मानिन्छन । यो इहि संस्कार नेवार समुदायको छुट्टै पहीचान भएतापनि नेवार समुदाय भित्रकै शाही (खड्गी),द्य:ला (पोडे च्यामे),कपाली (जोगी, दर्सनधारी) र धोवी (कनौजी, मघैया) लगायत केही नेवार जाती उपजातीले यो संस्कारलाई अंगाली आएको देखिन्दैनन । किन यो संकारलाई अंगालेन भन्ने विषयमा एउटा खोजको विषय हो । तर आजभोलि केहीले यस संस्कारलाई देखासिखी रुपमा अंगालेको पनि देखिन्छ । तर पनि शाही (खड्गीक, नाय:,सिंह) समुदायले आजसम्म पनि यस संस्कारलाई अंगालेको छैनन । किन अंगालेन त भन्ने विषयमा शाही जातिको पहिचानको सवालमा चिन्तशिलरहनु हुने बामान शाही र बिनोद शाहीको भनाईमा ” हामी शाही (खड्गी,नाय: सिंह) नेवार सूचिकरण भित्र परेतापनि वास्तवमा हामी नेवार हैनन, राजपुत सिंह हो । शाही जाती भित्र पनि विभिन्न उप-जातीहरू भएको “भनाइरहेकाछन ।

पौराणिक स्वस्थानी कथामा उल्लेखित भएअनुसार – पार्वतीले श्रीस्वस्थानीको व्रत प्रभाववाट महादेव पति पाएपछि पार्वतीले आफ्नो माइती घरको चेलीले आफूसरह अखण्ड शौभाग्यती हुन पाउन वर माग्दा – “सुवर्णकुमार (हिरण्य गर्भ:)सँग कन्याको विवाह भयो भने सदा सर्वदा हिमालय पर्वतका महिलाहरू शौभागवती हुनेछन” भन्ने महादेवले पार्वतीलाई दिनुभएको वरदान अनुसार नेवार महिलाहरू कहिले पनि विधवा नहुन र सदा सर्वदा शौभाग्यती नै हुने छन भन्ने धार्मिक नीतिनियम बमोजिम पूर्वजलेपछिका आफ्ना सन्तानहरूको कल्याणका लागि देवादीदेव महादेवको प्रतिकका रुपमा बेल फललाई उपस्थितिमा राखी याने साक्षी राखी विष्णु भगवानको प्रतिकका रुपमा सुवर्ण कुमार (हिरण्य गर्भ:)सँग वैदिक तन्त्रनिर्देशन अनुसार इहि याने इहिपा गराई यो इहि संस्कार थिति चलाई गएको रीतिथिति संस्कार त्यसैबेला देखि हिमाली पर्वत क्षत्र नेपालमण्डलका नेवारहरूमा चलेको हुनु पर्दछ । यही सनातान धार्मिक मान्यता अनुसार नेवारहरूको शुद्ध नेवार रीतिथिति अनुसार याने मौलिक रीतिथिति अनुसार विवाह गर्ने अवसरमा ज्वाइँ हुने व्यक्ति याने दुलाहा हुने व्यक्ति जन्तिसँग जाने चलन छैनन । यसै कारणले पनि नेवारहरूको विवाह कार्यमा बाबुले कन्यादान गर्नु पर्ने चलन छैइन ।

इही संस्कार बारे केही मान्यजनहरूबाट आफ्नो आलेखहरूमा लेखिएका केही भनाईहरू यहाँ स्मरण गर्न सान्दर्भिक देखिन्छन् –

(१) सरदार इकवाल अलि शाहले नेपालका विषयमा लेखिएको पुस्तकमा – नेवार महिला लोग्नेको मृत्यु भै विधवा भयो भने प्राथमिक विवाह बेलसँग गरेको विवाहको महत्व देखिन्छ । यसमा फेरि विवाह गर्न हुने सुत्र देखाउँछ, (२) इतिहासकार डिल्लीरमण रेग्मी आफ्नो प्राचीन नेपाल भन्ने पुस्तकमा “इही” बारे लेखेको छ – नेवारहरूको बालविवाह प्रथा छैन तर उनीहरूले आफ्नो छोरिचेलीलाई दैविक तथा स्थायीपत्नित्वको सिध्दान्तमा जीवनभर विधवा हुन सदाका लागि बचाई राखेको छ, (३) त्यस्तै अर्का एक विद्वानले आफ्नो एक आलेखमा इही बारे भनेका छन् – नेवार महिलाहरू सानैमा बेलसँग विवाह गरेको कारण र बेलको सदा सर्वदा जीवन रहने भएकाले महिला कहील्यै विधवा हुँदैनन् । वहाँ विद्वानहरूको भनाई अनुसार “इही” विधवा नहुनका लागि गर्ने गरेको शास्त्रगत मान्यता प्राप्त संस्कार हो।

पौरानिक कथामा जे जस्तो लेखिराखेको भएतापनि अथवा धार्मिक विचारका मानिसलाई बोध गराउनका लागि धार्मिक रंग वा उपमा दिइराखेको हुनसक्ने भएतापनि यो “इहि” संस्कार गर्ने चलन एक चतुर विद्वानको देन मान्नु पर्दछ । विधवा भै प्रकृतिले उपहार दिएको जीवन काम कृडा, आदिलाई तिताँजली दिई मन बाँधी बस्नु कम गार्होकाम हैनन । अन्य देश र अन्य जातजातियामा भरखरै मात्रै विधवा विवाह गर्न र गर्ने चलन चलाई प्रत्सोहान दिन थाकेका छन भने नेवारहरूको पुर्खाले अघिनै यसलाई सामाजिक रुपमा नै मान्यता दिएर विधवा भन्ने नै समाजमा नहुने गरी सदा सर्वदा सौभाग्यवती भैरहने धार्मिक र सामाजिक बिधिविधान प्रतिपादन र व्यवस्थागरी उध्दारणीय काम गरी गए । आफू खुसी वा देखासिखी म विधवा भनेर बस्ने नेवारहरूको कुरो अर्कै नै हो तर सनातन नेवार परम्परामा चाहिँ छैनन ।

नेवार समाजमा कन्याको वास्तविक दाम्पत्य जीवनका लागि गरीने विवाह (इहिपा) आफनै मूल्य मान्यता रहेको भएतापनि सम्बन्ध बीच्छेदन गर्ने अर्थात पारपाचुकेको सरल प्रकृया, सामाजिक र सांस्कृतिक मान्यताका रुपमा नै छन र यस्को अधिकार महिलामा नै निहित छ । यसबाट महिलाहरूले आफ्नो पतिलाई सुपारी (ग्वय) फिर्ता दिएको कारणले सम्बन्ध (पारपाचुके) गर्ने कार्य पति जीवित अवस्थामा मात्र होइन जीवनको अन्तिम क्षणको अवस्थामा वा ब्रन्हनालमा पुगिसक्दाको अथवा मृत्यु भै सवयात्रा कै अवस्थामा वा चितामा आगो दन्किरहन्दाका अवस्था समयमा समेत पनि सम्भव छ । हुनत यस विषयमा नेवार समाजभित्रमा नै अली फरक फरक मत रहेको पाइन्छन । कसैको यो सुविधा चितामा दागवती दिन्दासम्म मात्र हुने छ भने कसैको दागवती दिइसकेपछि पनि सम्भव छ भन्ने गरिन्छन । र यति गरिसकेपछि महिलाले आसोच वार्नु पर्दैनन । त्यस पछि महिलाले एकल जीवन यापन गर्ने वा अन्य कुनै पूरुषसँग विवाहगरी जाने वा नजाने भन्ने विषयमा निर्णय गर्न महिला आफै स्वतन्त्र हुनेछन भन्ने सामाजिक र सांस्कृतिक मान्यता रहेको छ । यो नेपालमा अघि मात्री सत्तात्मक राज्य प्रणालीको रहेको थियो भन्ने प्रमाणको अवशेष हो भन्ने सकिन्छ ।

नेवार समाजभित्र आज कालन्तरमा आएर आफ्नो जातीय मूल्य मान्यातालाई जोगाई राख्ने अथवा मासी पथाउने क्रममा विधवाको को मान्यता लिने पनि सूरु हुन्दै आयो । पति मरेको महिला विधवा हो भन्दै खस ब्राम्हनको जस्तै सेतो कपडा लगाएर वर्खी बस्ने गर्दछन र गैर नेवार सरह एकल र अपहेलित जीवनयापन गर्ने सिको गर्दै आएका छन । तर पनि यस सिकोलाई नेवार समाजमा बाहीरीय गैर नेवार समाजको संगतको परीणामका रुपमा लिने गर्दछन । परम्परा र संस्कारका नाउँमा “इहि” संस्कार आज पनि अनिवार्य रुपमा गर्ने गर्दै आएकै छन । तर पनि अन्य समाजको नक्कल गर्ने कार्य पनि भएका छन । यसबाट नयाँ पुस्तालाई इहि संस्कार भित्रको गुह्य अर्थ (कुरा) आज पनि आश्चर्यको विषय रहिरहे कै छ । नेवार समाजभित्र हिन्दू र बुध्दिस्त धर्ममा प्रभाव पर्ने क्रममा आफ्नो आफ्नो जातीय मौलिकता र जातीय पहीचान बिर्सने सुरु भयो वा अर्थ नबुझे पनि यस्को निरन्तरन्तारही नै रहेका छन । सहज र आदिवासी जीवन शैलीमा नेवार समाजभित्र बाह्य प्रभावलाई रोकलगाई (निषेधित्त गराई) बालविवाह र विधवाको मान्यता नदिन “इहि” संस्कार चलाई आएको हो ।

नेवार समाजमा लैगिकभेदलाई बदवाको तेवा दिन कुनै पनि आधार धार्मिक ग्रन्थमा देखिन्दैन । यही कुराको आधारमा नेवार समाजमा महिलाको स्थान पूरुष सरह समान रहेको प्रस्त रहेको देखिन्छ । तैपनि विभिन्न समय र परिस्थितिमा देखिने असमानताको प्रश्नमा त्यस्ता भेदभाव देखिन थालिएको सही नै हो । तथापि त्यसलाई परम्पराका रुपमा लिनु र मान्नु चाहिँ सही छैन । त्यो त अन्य समाजको प्रभाव र बिकृति अनि बिसंगति हो । मौलिक मान्यता, संस्कृति र बिधिव्यवहार माथि परेको बाहिरी प्रभाव हट्ने हो भने लैंगिक समानताको जीवनशैली स्वत: पुन:स्थापित हुन्छ र यो हुन अनिवार्य पनि छ ।

www.shilpakarpm.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *