आधुनिक संगीतको त कुरै छोडौँ, पप र र्यापको यो लोकप्रियता, यो जगजगीलाई उनी घोर अधर्मको परिणति ठान्छन् । उनी आधुनिक या पप, यसमा लाग्नेहरू सबैमा कलियुग जागेको देख्छन् । “आजका संगीत पनि कुनै संगीत हुन् ? यिनले त हाम्रो धर्म-संस्कारलाई नै नष्टभ्रष्ट गररिहेछन् ।” जीवनको ८४औँ उत्तरार्द्धमा हिँडिरहेका ध्रुपद गायनका ओस्ताद पं भवनाथ शर्मा, अधिकारीका विचार आजका पुस्तालाई मानमर्दनजस्तो लाग्ला । तर, उनले संगीतका लागि आफूले त्यागेको सम्पूर्ण बैँस र सांसारकितालाई बोध गर्ने हो भने उनका यी वचनमा दम छ ।
उनी आफूमा चेतना फक्रिएदेखि नै ईश्वरीय भक्तिमा लागे । माध्यम थियो, यही ध्रुपद राग । त्यसैले उनले आजका आधुनिक र पप भनिने गीतमा गाइने पे्रमभावलाई स्वीकारेनन् । विवाह गर्यो भने गृहस्थी झमेलामा परिन्छ भनेर उनी आजीवन ब्रह्मचारी बसे । त्यसैले कुनै पनि गीत भनेको ईश्वरको आराधना हो, मोक्ष प्राप्तिको मार्ग हो भन्ने उनको धारणा बनेको छ ।
ध्रुपदमा आधुनिक गीत बन्न सक्तैन ? यो प्रश्न भुइँमा र्झन पाउँदैन, उनी राँकिन्छन्, “कहाँको धर्ममा आधारति सत्यवाणी भएको ध्रुपद, कहाँको विषयी, सुन्नै नहुने आधुनिक गीत, यो कहाँ मिल्छ र ?” उनी थप्छन्, कान्छाले कान्छीलाई लग्यो वनको बाटो लाल्टिनै बालेरजस्ता कामातुर गीतहरूमा ध्रुपदलाई मिसाउन मिल्छ ? यो त अपराध हो, महापाप हो ।” त्यसैले उनले आजसम्म कुनै आधुनिक गीत गाउनु त परै जाओस्, सुन्नु पनि धृष्टता ठाने । “तातो न छारो,” उनी अझ कड्किन्छन्, “कुसंगतको संगत गरेपछि मान्छे सप्रेको देख्नुभएको छ ? आधुनिक गीत सुन्नु मेरा लागि यस्तै हो ।” पंक्तिकारलाई फेरि ठट्टा गर्न मन लाग्यो र सोध्यो, ध्रुपदमा ‘कान्छाले कान्छीलाई …गाउँदा कस्तो होला ? स्वाभाविक थियो, उनी झन् राँकिए । भने, “रक्सीमा दूध मिसाएर खायो भने के हुन्छ ? हो, त्यही हुन्छ ।”
गएको पूणिर्माको साँझ किराँतेश्वर मन्दिरमा उनको ‘ध्रुपद’ गायन सुनेर मानिसहरू मोहित भए । यहाँ मात्र होइन, उनी जुन थलोमा पुगेर गाउँछन्, त्यहाँ उनको संगीतले सम्पूर्ण वातावरणलाई स्वर्गीय आनन्द दिलाउँछ । कहाँबाट आउँछ उनको गलामा यस्तो शक्ति ? उनका हरेक गायनमा पहिलोपल्ट सहभागी हुने श्रोता यसरी नै आश्चर्यचकित हुन पुग्छन् । उनको स्वरमा मस्त डाँगो घोडा हिनहिनाएजस्तो शक्तिशाली स्वर गुन्जिन्छ । अनि, श्रोताहरू यसरी मुग्ध हुन पुग्छन्, मानौँ सबै ध्यानमग्न छन् । “त्यसैले मैले भनेको शास्त्रीय संगीतमा जुन शक्ति छ, त्यो अरू संगीतमा छैन ।” यही भएर पनि उनले अरू संगीतलाई गन्ती नगरेका हुन्, सायद । उनकी शिष्या प्रसिद्ध तबलावादिका सरिता मिश्रले शास्त्रीय विधाका विभिन्न साधकहरूलाई पछिल्लो समय आफ्नो आयोजनाका मञ्चहरूमा प्रस्तुत गर्दै आएकी छन् । यस क्रममा भवनाथले किरातेश्वर, गुरुकुल, नेपाल संगीत विद्यालयजस्ता विशिष्ट थलोहरूमा आफ्नो प्रभावकारी प्रस्तुति दिँदै आएका छन् । सरिता भन्छिन्, “यस उमेरमा गुरुको यस कोटिको विलक्षण आवाज हुनु दैवी शक्ति नै हो ।” सरिताका अनुसार उनी एक-डेढ घन्टा लगातार गाएर पनि थाक्तैनन् ।
भवनाथको अनुभव छ, उनी जब मुठी बन्द गरेर स्वर र तालको आरोह-अवरोहमा लीन हुन थाल्छन्, उनलाई आफ्नै पनि हेक्का हुँदैन । ईश्वरीय भक्तिभावमा चुर्लुम्म डुब्न पुग्छन् उनी । जब पलेँटी कसेर ध्रुपद गाउन थाल्छन्, उनी यो चराचरलाई बिर्सेर ईश्वरमै लीन हुन खोजेजस्तो मुद्रामा देखिन्छन् । भन्छन्, “म नाभिस्थलबाट स्वर निकाल्छु, त्यसैले यसबाट अर्कै आनन्द प्राप्त हुन्छ सुन्नेलाई पनि । आधुनिक गीत गाउनेहरू गलाबाट मात्र गाउँछन् ।”
तर, सारै थोरैलाई थाहा छ, उनको यो विशिष्ट गायनबारे । सायद आजका पुस्ताका अधिकांश संगीतकर्मीहरूले त उनको विशेषता र विलक्षणता बुझेका पनि छैनन् । त्यसैले उनी प्रचारप्रसारको यस बाढीमा पनि किनारमै हुत्तिएका छन् । पुरस्कार र सम्मानहरूबाट वञ्चित छन् । यद्यपि उनले यही संगीतमा आफ्नो जीवन समर्पण गरे । विवाह पनि गरेनन् । त्यसो भए तपाईँले ध्रुपद गायनसँगै विवाह गर्नुभयो, होइन ? यस प्रश्नमा उनी हाँस्छन् मात्र तर हाँसोमा कुनै विरोध या प्रतिकार हुँदैन । विषयवासनामा लागेपछि मान्छे बिग्रन्छ, शक्ति क्षीण हुन्छ भन्ने बुझेर उनले विवाह गरेनन् । विवाह गरेपछि इन्द्रिय र मन छाडा हुन्छ । छाडापनले त मानिसलाई साधनाबाट बिटुल्याउँछ । त्यसैले उनी यस झन्झटमा पर्न चाहेनन् । विवाहको प्रस्ताव आउँदा उनी भागेका छन् धेरैपल्ट । एकपल्ट त उनी रेडियो नेपालबाट कार्यक्रम गर्दागर्दै भागे । उनलाई विवाहको प्रस्ताव लिएर उनका दाजु त्यहाँ पुगेका थिए तर राम्रोसँग कुरा पनि नसुनी उनी टाप कसे ।
गायनबाट भने उनले कहिल्यै भाग्नुपरेन । “अहिलेका ठिटाहरूले मतिर नचिहाए पनि हुन्छ,” उनी गर्वोक्ति गर्छन् । उनी गाउँदा शिवजीलाई आत्मामा राखेर गाउँछन् । यसैबाट मोक्ष प्राप्ति हुन्छ । उनी ईश्वरका लागि गाउँछन् । त्यसैले आफैँमा हराएर गाउँछन् ।
उनले राणाका कोठीदेखि विभिन्न छोटेबडे दरबारहरूमा पनि गाए । नारायणहिटी दरबार दक्षिणढोकामा पनि धेरै गाए । उनको गायन सुनेर राजा महेन्द्र पनि मुग्ध हुन्थे । एकपटकको कुरा हो, उनी दक्षिणढोकामा गाउन गए । त्यहाँ महेन्द्र आउने कुरो थियो तर उनको गाउने पालो आउन्जेल राजा आइपुगेनन् । आज नआउने रहेछन् भनेर उनी आफ्नो गायन सकेर घरतिर लागे, हिँड्दै लखरलखर । तर, उनी जयनेपाल सिनेमा हल पनि कटेका थिएनन्, संगीतप्रवीण नरराज ढकाल हातमा जुत्ता बोकेर दौडँदै आए र पछाडिबाट उनको हात च्याप्प समातेर भने, “कहाँ लुसुक्क हिँडेको, सरकारले तपाईंलाई खोजी बक्सेको छ ।” त्यस दिन झन्डै खलबली नै मच्चिएको । उनी त्यस कालखण्डको सम्झना गरेर साह्रै आनन्दको अनुभूति गर्छन् ।
राजा महेन्द्रसँगको उनको अर्को प्रसंग पनि रोचक छ । त्यसताका शास्त्रीय गायनमा प्रसिद्धि कमाएका एक जना ब्राह्मण थिए । उनी पनि दक्षिणढोकामा गाउँथे । भवनाथको ध्रुपद रागबाट मोहित भएर राजाले एकपटक ती ब्राह्मण गायकसँग सोधनी गरेछन्, “यिनले यति मधुर गायन कोसँग सिकेका ?” उनले महेन्द्रलाई गफ लाएछन्, “सरकार ! यसको गुरु यही भक्त हो ।” महेन्द्र हरेक कुरामा बाठा थिए । संगीतमा पनि उनको बठ्याइँ कम थिएन । अनि, फेरि सोधेछन्, “त्यसो भए, तिमीले चाहिँ किन ध्रुपद गाएनौ त !” भवनाथ सम्झन्छन्, यसरी उनका नाममा आफ्नो नाम जोडेर माथि उठ्नेहरू धेरै भए तर उनी जे छन्, आफैँले बनाएका हुन् । “मैलै कसैसँग संगीत विद्या सिकिनँ ।” उनी भुइँफुट्टा संगीतज्ञ हुन् ।
भवनाथ महेन्द्रबाहेक दरबारले कलाकारलाई एक कन्चो दाम नदिएको सत्य बोल्छन् । त्यसैले शाह खलक कन्जुस हुन् भन्ने ठम्याइ छ उनको । एकपटक रत्नाले रातभरि उनलाई ध्रुपद गाउन लगाएर रित्तो हात पठाइदिएको सम्झना गर्दा उनलाई आज पनि विचित्र र विरक्तिको अनुभूति हुन्छ । “तर, मैले कसैको चाकरी गरनिँ, चाकरी गर्यो भने आफूले आर्जेको विद्या नाश हुन्छ ।”
फुकिढल पिटिक्क भाँचिएलाजस्तो जीउडाल देखिन्छ । चार पाइला मच्चिएर हिँड्यो भने उनको मेरुदण्डले काम गर्दैन । श्वासप्रश्वासको गति तीव्र हुन्छ । तर, उनको यो शरीर हेरेर लख काट्नु र गायन प्रत्यक्ष हेरेर अनुभव बटुल्नु बेग्लाबेग्लै सत्य हुन् । भवनाथ स्वरको असीम आरोह-अवरोहमा हुइँकिन सक्छन् । युवकयुवतीले तिहारमा पिङ मच्चाएजस्तो स्वरहरूको लेकबेँसीमा हुइँकिन्छन् उनी । हेर्दा कसैले पत्याउन सक्तैन । कतिले त बोकाको मासु खाएकाले पनि बूढा यति तगडा भएको ठान्छन् । उनको सबैभन्दा प्रिय खान्की बोकाको मासु र भात हो । उनी बोकाको मासु ईश्वरलाई भोग दिएको प्रसाद भएकाले सबै ब्राह्मण जातिले खानुपर्ने तर्क दिन्छन् । यद्यपि, छ महिना नपुगेको बोकाको मासु भोग दिन पनि नहुने खान पनि नहुने उनको भनाइ छ ।
बोकाको मासु खाने त धेरै होलान् तर नेपालमा ध्रुपद गाउने उनको जोडा छैन । उनले भारतका मै हुँ भन्नेहरूका पनि यस गायनमा धतुरो झारेका छन् । तर, उनका चेलाचपेटा छैनन । अनि, यो विद्यालाई आफैँसँग लैजाने किन ठाने त ? यस कुरामा उनको अनुहार अलि मलिन हुन्छ । हल्का खोक्छन् । यो खोकी लागेर खोकेको होइन, कुरा टार्न खोकेजस्तो अनुभव हुन्छ । पंक्तिकार फेरि आफ्नो प्रश्न दोहोर्याउँछ, किन तपाईंको धु्रपदको उत्तराधिकारी कोही भएन ? “छ महिनामा कलाकार बन्ने ध्येयले आउनेहरूलाई म कसरी संगीतको शिक्षा दिन सक्छु, एउटै राग सिक्नलाई १२ वर्ष लाग्छ,” भवनाथ यसको कारण बताउँछन् ।
आज शास्त्रीय संगीतको प्रभाव शिथिल हुँदै गएको छ । पहिला रेडियो नेपालबाट हरेक दिन यसका लागि केही समय छुट्याइएको हुन्थ्यो । तर, आज त त्यहाँ पनि शास्त्रीय संगीत बज्न लाग्दा रेडियोको कान बटारेर बन्द गर्नेहरूको बथान बढेपछि सर्वसाधारणको श्रवणबाट यो विधा नै वञ्चित हुन पुगेको छ । झन् आजका ‘पपपुस्ता’ले चलाएका एफएमहरूबाट शास्त्रीय संगीतको सुरक्षा खोज्नु बेमौसमको राग हुन्छ । तर, पण्डित भवनाथ शर्मा, अधिकारीचाहिँ १२ वर्षमा खोलो अवश्य फर्कन्छ भन्ने विश्वासमा छन् । “धर्मको प्रताप घटेकाले यस्तो भएको हो, कलियुग व्याप्त छ । त्यसैले सत्य अल्पमतमा परेको हो तर एकदिन फेरि सत्ययुग फर्कन्छ ।” अनि, उनको ध्रुपद रागले फेर िसर्वत्र सुवास फैलाउने छ । आशा गरौँ, यस्तै हुनेछ ।
नेपाल साप्ताहिक ३३४
