बाहिर प्रचण्ड गर्मी छ । ह्युमिडिटी बढिरहेको छ । अफिसबाट वासस्थानमा फर्केपछि पहिलो काम शरिरवाट जुत्ता अलग्याउनु हो । शरिरमा शक्ति पनि यति कम भएछ कि आफ्नो खुटृाको जुत्ता उतार्न पनि निहुरिन मन छैन । उभिएको उभियै जुत्ता फुकाल्ने प्रयास के गरेको थिए एकातिरको जुत्ताको तलुवा प्वाकल्याक्कै निक्लियो । सायद तातो भूईमा टेकिरहँदा जुत्तालाई पनि खपि नसक्नु तातोले गलाएकोले होला अलिकति बल पर्दा पनि प्वाकल्याक्कै निक्लेको ।
“ला खत्तम पो भो त । अब भोलि कुन जुत्ता लगाएर जाने । नयाँ किन्ने पर्ने पो हो कि क्या हो यो बेटाईममा । पैसाको नास ।” मनमनै भने । “आ कसले किनोस नयाँ यदि यसैलाई बनाएर चल्छ भने । भरे भरेतिर मोचीकोमा झर्नुपर्ला ।” निर्णय गरे । नगिचै बसिरहेकाहरुले मेरो जुत्ताको अवस्था थाहा नै पाएनन । कसैले खिस्याउँने मौका नै पाएन ।
त्यो साँझ त्यत्तिकै भयो । अल्छीको मारे घरवाटै निक्लिन । भोलिपल्ट अफिस जानका लागि दराजवाट अर्को जोर जुत्ता निकाले । मन डरायो, कतै यो जुत्ताको पनि त्यही हालत भयो भने त अर्को जगेडा त छैन त । जुत्ता मर्मत गर्नु पर्ने निष्कर्ष निस्कियो ।
केही दिनपछिको एउटा साँझ अर्थात झुमारातको साँझमा भने जुत्तालाई झोलामा हालेर लागे बाहिरतिर । मेरा पाईलाहरू त्यतैतिर बढे जहाँ म पहिले पनि मेरा जुत्ताहरू मर्मत गराउँथे । तर परैवाट देखियो, आज मोचीको क्याविन बन्द रहेछ । खुलेको भए त त्यो क्याविनको खापाहरुले चारैतिर हाँगा फैलाएर त्यही सानो क्याविन पनि ठूलो पो देखिनथ्यो त । सोचे अलि पछि खुल्ला ।
उतैतिर पुगेर यता उता टहल्लिइरहे । केही बेरमा एउटा अग्लो ठिटो पठान त्यो क्याविनको बगलमा देखा पर्यो । उसले क्याविन खोल्न शुरु गर्यो । निकै समय लगाएर उसले सबै खापाहरू खोलिसक्यो । त्यति बीचमा मभन्दा पहिले नै उसका अरु केही ग्राहकहरू त्यहाँ जम्मा भैसकेका रहेछन । सबैले एक एक गरेर उसलाई आआफ्ना समस्या बताउँदै गए । त्यो तन्नेरी मोचीले एक एकको समस्या समाधान गर्दै गयो । मेरो पालो आयो । म अहिलेसम्ममा अन्तिममा नै रहेछु र मभन्दा पछाडि उसका अरु कुनै ग्राहकहरू देखिन । त्यो तन्नेरी मोचीलाई मैले मेरो जुत्ताको समस्या बताए । उसले त्यसलाई चारैतिरवाट हेरेर समाधान बतायो । हाम्रो सम्झौता भयो । उसले काम शुरु गर्यो । म सानो काठको एउटा बाकसमा बसे । ऊ आफ्नो काममा तल्लिन थियो ।
त्यो तन्नेरी मोचीको मुड ठिक छैन जस्तो लागेर मैले कुराको मेलो निकालीन । उसले पनि कामको सन्दर्भभन्दा बाहिर कुनै कुरै निकालेन । तर म भने एउटा अतिततिर तरंगिए ।
ती बुढा मोची हक्की स्वभावका थिए । मैले एकपटक मेरो एउटा जुत्ता धेरै पटक बिग्रिरहेपछि उनीसँग सल्लाह मागेको थिए कि म अर्को एकजोर नयाँ जुत्ता किनु तर उनले मलाई भनेका थिए कि “पैशालाई चिन्ने कोशिस गर, पैशाकै लागि आज हामी आफ्नो घरपरिवारबाट टाढा छौ, केवल पैशाका लागि । पैशा, जब चाहिन्छ तब भएन भने जीवनभरको मिहेनतको कुनै औचित्य नै रहदैन । त्यसलाई जहिलेलाई चाहिन्छ तबसम्म आफैसँग सुरक्षित राख, यदि तिमीलाई तिम्रो आफ्नो जीवनकालमा चाहिएन भने यति सम्झनु कि तिमी यो धर्तीको भाग्यमानी मान्छे हौ । म यहाँ छँदा छँदै तिमीलाई किन नयाँ जुत्ता किन्नु पर्यो, म बनाई दिउला, अरु कति नै पटक यो बिग्रिरहला र । सोच्लास कि यो मोचीले मर्मतमा पैशा बनाउने सोच्यो, म तेरा जुत्ता बनाएको पैसा नै लिन्न । “खुस” उनले मलाई भनेका थिए । तर मैले उनको निशुल्क मर्मतको प्रस्ताव मानिन । हाम्रो सम्झौता भयो, मैले नयाँ जुत्ता किनिन ।
मेरो सधैं अफिस जाने आउने बाटो एउटा दोवाटोमा गएर ठोक्किनथ्यो जहाँको एउटा कुनोमा उनको काठको क्याबिन थियो । बिहान अफिस जाँदा त त्यो क्याविन खुलेको हुँदैन थियो तर साँझमा भने सधैं खुल्ला हुँनथ्यो र ती बुढा मोची आफ्नो काममा तल्लिन भएर खटेका देखिन्थे । जुलाईदेखि सेप्टेम्बरसम्मका समरका ताता महिनाहरुमा उनी सिरदेखि पाउसम्म पसिनाले निथु्रक्क भिजेका देखिन्थे । म कहिलेकाही सोच्थे यदि उनलाई पिसाब लाग्यो भने कहाँ जाँदा हुँन ।
यदि उनीसँग ग्राहक नभएको अवस्था रह्यो वा उनी काम छोडेर आराम गरिरहेका छन भने म त्यहाँ केहीबेर रोकिनु पर्ने हुँनथ्यो । उनी एउटा सानो स्टुल मेरा अगाडि सारिदिन्थे । उनका हात र ब्रसहरू फटाफट मेरा जुत्तातिर दौडिन्थे र त्यो सेवा वापत उनले मसँग कहिले पनि पैशा लिएनन । तर ग्राहक रहेछन भने म “सलाम चाचा” भन्दै अगाडि बढ्थे । उनी मेरो सम्बोधनले धेरै खूसी हुँन्थे र ठूलो स्वरमा मलाई सलाम फर्काउँथे । उनी मेरा पिता उमेरका थिए । कहिलेकाही म देख्थे उनका ती फराकिला ठूला निधारबाट पसिनाका धाराहरू बगिरहेका हुँन्थे तर उनी काममा नै व्यस्त हुँन्थे । म परको सुपरमार्केटवाट एक बोतल चिसो पानी किनेर लेराएर उनको छेवैमा छाडेर जाँन्थे । भोलिपल्ट उनी मेरो हात समातेर हिजोको पानीको पैसा तिर्न खोज्थे । तर उनका हातहरू एकैपटक रोकिन्थे जब म भन्थे “चाचा किन मेरो अपमान गर्छौ दुँनियाकोसामु ।” यो संवाद हाम्रा बीचमा धेरै पटक चल्यो ।
उनी जब फुर्सदमा हुँन्थे या त शुक्रवारको प्रार्थना पछिको भेटमा जब हामीहरू अकाई राउण्ड एवाउटको एउटा कुनामा अवस्थित एउटा रेष्टुरेण्टमासँगै बसेर हैदरावादी ब्रियानी खाइरहेका हुँनथ्यौ तब हामी आआफ्नो जीवन, गाउँ वस्ती, र देशका कुराहरू गर्थ्यौ । उनी मसँग खुलेर उनका सबै कुराहरू बताउँथे । यस अर्थमा म उनको जीवनको गहिराइसम्म पुगेको थिए ।
कहिलेकाही हामी अनायासै एक अर्कोलाई नेशनल अगाडिको बेन्चीमा आधा रातको सन्नाटामा भेट्थ्यौ । उनी भन्थे जब परिवारको याद बेस्सरी आउँछ तब उनी निदाउन सक्दैनन । जब उनी निदाउँन सक्दैनन तब त्यो कोठाका सन्नाटाहरुले उनलाई चिथोर्न थाल्छ र त्यसैवाट बच्नका लागि उनी आफ्नो कोठावाट बाहिरिन्छन । त्यतिखेर उनको आश्रयस्थल भनेको यही नेशनलको बेन्चीहरू नै हो रे । उनी भन्थे यही बेन्चीमा बसेर जीवनका तरंगहरुमा होमिए पछि कतिखेर निदाउँछन पत्तै हुँदैन रे । कैयौ रात उनले आफ्नो निद्रा खुल्ला आकाशमुनी निदाएका छन रे ।
“खुल्ला आकाशमुनी निदाउँनुको मज्जा नै अर्कै हुँन्छ । सायद जब मान्छेहरू खुल्ला आकाशमुनि निदाउँछन तब उनीहरुलाई यो धर्ती यो आकाश आफ्नै हो हामीहरुकै साझा घर हो भन्ने लाग्छ र उनीहरुले यसलाई अँझै माया गर्न थाल्छन । मलाई पनि यस्तै लाग्छ । वास्तवमा यो धर्ती सबैको एउटा साझा घर हो चाहे त्यो धनी होस वा गरिब । त्यसैले त फुटपाथमा सुत्ने बेघरहरुका अनुहारहरुमा घरबिहीन हुनुका पीडाहरू देखिदैनन । हरेक रात उनीहरुलाई निद्राले पछ्याउँछ, हामीलाई जस्तो निद्रा खोज्दै यी बेन्चीहरुसम्म धाउनै पर्दैन ।” उनी भन्थे ।
“पीताजी त म बच्चै छँदा बेपत्ता भए । मरे, मारिए वा जिउँदै छन हामीलाई केही थाहा छैन । दुखले मलाई बच्चै उमेरदेखि साथ दियो त्यसैले दूखमा कसरी खूसी हुँनुपर्छ मलाई राम्रोसँग थाहा छ । हामी सात जना थियौ परिवारमा, दूई भाइ चार बहिनी र आमा । हामीलाई भोकले कहिले पक्रेन । हाम्रा भोकहरू सरहदका आतंकहरुले उडाइरहनथ्यो, मेटाइरहनथ्यो । भाइ ठानथ्यो दाज्युले खाएर भोक मेट्यो भने परिवारको रक्षा गर्ला त्यसैले उसले खाओस रोटी भनेर ऊ छोडेर जानथ्यो, म ठाँन्थे भाइले खाएर भोक मेट्यो भने परिवारको रक्षा गर्ला त्यसैले उसले खाओस रोटी, म रोटी छोडेर काममा जान्थे । बहिनीहरू ती रोटी आमाले खाउन तब उनीहरुले मातृत्व पाइरहनेछन र यो धर्तीका भाग्यमानी छोरीहरू बन्न सक्नेछन, त्यसैले त्यो रोटी उनीहरू पनि खाँदैनथे । तर आमाले हरेक सन्तानलाई बराबर रोटी भाग लगाउन नसकेसम्म कहिले पनि आफूले खाइनन । म कति भाग्यमानी थिए कि म त्यस्तो परिवारमा दूखका साथ शानले हुर्किए जुन परिवारमा हामीहरू आफ्नो लागिभन्दा पनि अरुका लागि सोचथ्यौ । भोकले हाम्रो दैलोमा चिहाउनेसम्म आँट गरेन । बेलाबखत हामी नै भोकलाई बोलाउथ्यौ जब हामीहरुसँग पर्याप्त रोटीहरू हुँनथ्यो । दूखले हामीलाई कहिले साथ छोडेन त्यसैले हामी सधैं परिश्रमी बनिरह्यौ । त्यसैले मलाई लाग्छ म मेरा दूखहरू प्रति अँझै पनि शृणी छु । हामी खेतमा काम गर्थ्यौ जहाँको अनाजले हामीलाई आधा वर्ष मुश्किलले खान पुगथ्यौ । ती खेतहरू हाम्रा लागि हाम्री आमा जतिकै प्यारी थिइन । जब बन्दुक बोक्नेहरुले तीनै जग्गामा लडाइँ खेल्थे मलाई लागथ्यो तिनले ती अनाज नष्ट गरेका होइनन बरु आमाको छातीलाई छियाछिया पारेका हुँन । म अनाज नष्ट भएका कारणलेभन्दा पनि त्यो धर्तीलाई क्षतविक्षत पारेको पीडा सहन नसकेर आफ्नो खेतको आलीमा बसेर दिनभर रोइरहन्थे । जति रोए पनि आशुको अभाव हुँदैनथ्यो । मलाई आँशुले पनि साथ दिइरह्यो । त्यसैले मलाई लाग्छ म मेरा आँशुहरू प्रति पनि उत्तिकै शृणी छु । तीनै आँशुहरुले त पीडा पखाल्न सहयोग गर्थे र फेरि अर्को बिहान म मेरो खेतको आलीमा पुरा शक्तिका साथ उभिएको हुँन्थे ।” उनी भन्थे ।
“पन्ध्र वर्षको उमेरमा म मेरो काकासँग उनैको हातको औला समातेर यो परदेशको भूमिमा प्रवेश गरेको हुँ । उनै काका बितेपछि उनैले संचालन गरेको यो पसल मैले चलाउन थालेको हो । जुन दिनदेखि मैले यो भूमिमा मेरा पाईलाहरू हाले त्यसको पछिल्लो महिनापछि मेरो परिवारवाट भोकले सधैका लागि बिदा लियो । अनाज अभावका सवालहरू सधैका लागि विलिन भए । मेरा लागि मैले एउटा नयाँ शृण बोके, यो भूमिको शृण, जसले मलाई सबै कुराहरू दियो शान्तिदियो सूरक्षा दियो र मेरो परिवारमा उज्यालो रोशनी छर्ने मौका दियो । तर मैले दूख र परिश्रमलाई कहिले पनि छोड्न चाहिन । जब म पसिना बगाएर जुत्ताहरुमा घोटिृइरहेको हुँन्छु तब मलाई म आफ्नै खेतमा काम गरिरहेको अनुभूति हुन्छ जुन मेरा लागि अपार आनन्दको क्षण हो जसलाई म शब्दमा बयान गर्न नै सक्दिन ।” आफूलाई यसरी खोलिरहँदा उनका आँखाहरुमा आँशुहरू टप्किरहेका देखिन्थे । म आफै भावुक हुँन्थे । मलाई लागथ्यो दूख केवल दूखामात्रै पनि होइन बरु प्रेरणा पनि हो जसले मान्छेलाई सूख सन्तुष्टितिर डोर्याउने गर्छ ।
कहिलेकाहीको भेटमा उनी निकै भावुक भेटिन्थे त कहिलेकाही एकदम बिन्दास खुस । त्यसैले उनका आफ्नै बारेका प्रस्तुतिहरुमा पनि फरकपन भेटिनथ्यो ।
“पच्चिस वर्षको उमेरमा तीन महिनाका लागि छुटृीमा घरमा गएको समयमा बिहे गरेर आएको थिए । अहिले साठी वर्ष पुगे ।” एक पटक उनले भनेका थिए ।
“कति कति वर्षमा घर गइन्छ चाचा?” मैले प्रश्न गरेको थिए ।
“चार चार वर्षमा । चाँडो गएर फाईदा छैन । अलि ढिला गयो भने सबैले साबिकभन्दा बढी माया गर्छन । पत्नीले लामो समयपछिको भेटमा हर्षका आँशु झारेर छातीमा हिर्काउदाको मज्जा नै अर्कै हुँन्छ । अहिले साठीको भए । बिहे गरेपछि नौ पटक घर गएछु । घर गएपिच्छे तीन चार महिना उतै बसिन्छ ।” उनमा हल्का खूसीका रेखाहरू दौडिए । सायद बिहेको सम्झनाले हौसिएका थिए उनी ।
“पहिलेको घर बमले ध्वँस्त भएपछि मैले यतैको कमाईले अर्को घर बनाएको हुँ । त्यो बम हादशामा आमा र भाइले जीवन गुमाए । त्यतिखेर म ईमर्जेन्सीमा मुलुक गएको थिए ।” उनी भन्दै गए । मैले मेरी प्यारी आमा गुमाए, भाइ गुमाए, वास्तवमा मैले सबै नै गुमाए । कम्तीमा पनि तेरो देशमा यस्तो विपद छैन । तिमीहरू धेरै भाग्यमानी हौ । हामीले धेरै विपद भोगेका छौ । दूख र विपद दूई फरक कुराहरू हुँन । दूखलाई टार्न सकिन्छ तर विपदले त डसिरहन्छ । हामीले दूखलाई साथी बनायौ तर विपदले हामीलाई टोकिरह्यो ।” फेरि उनका परेलीहरू रसाउँन थाले ।
“कति जना बच्चाहरू छन चाचा?” मैले अँझै उसलाई उसको पीडादायी अतिततिर घचेट्नु उपयुक्त ठानिन । त्यसैले विषय परिवर्तन गर्ने जमर्को गर्दै नयाँ प्रश्न राखेको थिए ।
“धत, त्यति पनि जान्दैनो, पढेलेखेको मान्छेले त सजिलै हिसाब निकाल्न सक्छ कतिजना बच्चा भयो भनेर जब मैलै म कतिपटक घर गए भनेर भनिसकेपछि । बिहेपछि नौ पटक घर गए भनेपछि दश जना नै बच्चाहरू भयो । प्रष्ट छैन र? तर दूखको कुरो म कहिले पनि मेरी पत्नी सुत्केरी हुँने समयमा घरमा पुग्न सकिन । मेरी पत्नीका लागि यो साह्ै दूखद थियो र हाम्रो भेटमा ऊ बारम्बार मलाई यही सिकायत गरिरहन्छे । वास्तवमा ऊ सही थिई, म त्यस समयहरुमा घरमा नै हुँनै पर्थ्यो ।” हल्का भावुक भएका थिए उनी । उनका ४ छोराहरू र ६ जना छोरीहरू रहेछन । उनी भन्थे “गोला बारुदका धमाकाहरुमा हाम्रो जीवन शुरु हुँन्छ तर अन्त त्यस्तो नहोस । बोर्डरमा छ हाम्रो घर । बोर्डरमा दुवै देशका धेरै सिपाहीहरू हुँन्छन त्यसैले त त्यहाँ सूरक्षा कम हुँन्छ । तर हाम्ले के नै पो गर्न सक्छौ र । बरु यतै आनन्द छ । सुरक्षा छ, शान्ति छ । सुबिधा पनि छ । तर परिवार सूखमा छैनन । आफ्नो मुलुक छोड्न पनि सकिन्न, बोर्डरमा शान्ति पनि हुँदैन । शान्ति भै नै हाल्यो भने पनि मुर्दा शान्तिमात्रै । मुलुक छोड्नु भनेको आमा छोड्नु हो । आमालाई पनि कसैले छोड्न सक्छ भलै कालले नै बोकोस आफूलाई । तर जीवनमा एउटै रहर छ शान्तिसाथ बाँकी जीवन परिवारका साथ आफ्नै वस्तीमा गुजारा गर्ने । आशा छ बोर्डरमा छिटृै नै गोला बारुद बन्द हुँनेछ ।” उनले एउटा लामो उच्छबास फालेका थिए ।
एक साँझ म अफिसवाट फर्कदै थिए । उनको क्याविन बन्द थियो र बन्द क्याविन बाहिरको सानो पेटीमा ती बुढा मोची दिक्क भएर बसिरहेका थिए । उनको अनुहारमा आपतकालीन भावहरू झल्किरहेको थियो ।
“चाचा किन क्याविन नखोलेको? के भयो? सन्चो छैन कि?” मैले प्रश्न गरे । तर उनी निकैवेर बोलेनन । तर उनका झप्प परेका चारकोशे झाडीजस्ता दारी भने फरररर हल्लेको मैले महशुस गरे । दारी हल्लेकै आधारमा पनि अनुमान गर्न सकिनथ्यो कि उनीसँग सूखद समाचार होइन बरु विपदको समाचार नै छ ।
“छोरो एम्बुसमा पर्यो । बेहोस छ । उसकै लागि प्रार्थना गरिरहेको छुँ ।” उनले हतार हतारमा बोले । उनका आँखावाट आँशुका बलिन्द्र धाराहरू झरिरहेका थिए । सुन्ने बित्तिकै मेरा खुटृाहरू थररर कामे । एकछिन उनैसँग बसे र पछि आफ्नो कोठातिर लागे । उनको छोरोले देह त्याग गर्यो । उनको त्यो त्यही छोरो थियो जो इन्जिनिएर थियो र उनैले आफ्नै पसिनाको कमाईले उसलाई इन्जिनिएर बनाएका थिए । उनी हरेक पल्ट त्यो छोराको प्रसंग निकाल्न पछि पर्दैनथे । उनी भन्थे गरिबले अब घर जग्गाको नक्साको लागि इन्जिनियरको फिस तिर्नु पर्दैन, मेरो छोराले निशुल्क गरी दिन्छ ।
समयको अन्तरालमा, नेशनलको पल्लो साईडमा अवस्थित म बसेको घर भत्काइने भयो । त्यहाँ अर्कै आधुनिक संरचना बनाइने भयो । मैले बसाई नाज्मा भन्ने ठाउँतिर सारे । ती बुढा मोचीसंगको मेरो तीन चार वर्षको सम्पर्क पातलो हुँदै गयो । पछि उनले पनि आफ्नो ठेगाना परिवर्तन गरे । परिवर्तित ठेगानामा म कहिलेकाहीको सप्ताहन्तमा उनलाई भेट्न जान्थे । पछिल्लो पटकको भेट करिबन डेढ वर्ष जति पहिले भएको थियो । त्यतिखेर उनी निकै गलेका देखिन्थे । उनले त्यस पटक मसँग सोधेका थिए “आँशुको वजन कति हुँन्छ?” मैले उनको प्रश्नको उत्तर खोजेर लेराउँछु भनेर निक्लेको थिए । आज अचानक म उनको क्याबिनमा आइपुगेको थिए । तर मैले उनको अन्तिम प्रश्नको उत्तर अहिलेसम्म भेटेको छैन । भेटेको भए पनि त्यो ढिला भइसक्यो किनकि अब प्रश्नकर्ता नै नभएपछि उत्तरको के अर्थ रह्यो र ।
निकै समयसम्म त्यसको हावभाव बुझिसकेपछि र अब उसले नकारात्मक प्रतिक्रिया दिदैन भन्ने लागेपछि त्यो तन्नेरी मोचीसँग मैले नै कुरा निकाले र सोधे कि यहाँ एक जना चाचा बस्थे उनी कता गएछन । उसले जवाफ दियो “मेरा बा हुँन । अहिले एक वर्ष भयो उनी बितेको ।”
“ओहो” अनायासै मेरो मुखबाट यो शब्द निक्लियो । मनभित्रैदेखि भक्कानिएर आयो । यस्तो लाग्यो कि मैले आफ्नै नगिचको नाताको कसैलाई गुमाएको छुँ । आँखादेखि एक झर वर्षा झर्यो । मैले रुमाल निकालेर पुछे । त्यो तन्नेरी मोचीले ममा अचानक आएको परिवर्तनलाई गौर गरेर हेर्यो र भन्यो “तपाईलाई ठिक छ?” मैले ठीकै छ भन्ने जवाफ दिए । उसले उसको पानीको बोतल मलाई दियो । मैले पिए । तातो थियो पानी । अलिकति घुटुक्क पारेर बोतल उसैलाई फर्काई दिए ।
“गोली लाग्यो, तीन गोली, सबै टाउकामा तर कसको लाग्यो थाहा भएन । जसको लागे पनि दुश्मनकै लाग्यो । छुटृीमा गएको तेश्रो दिनको साँझमा खेततिर घुम्दै गर्दा यो सबै भयो । गाउँ गएका बेला हरेक साँझ उनी आफ्नो खेतवारीमा घुम्न जान्थे । म माहिलो छोरो । मैले यो दुकान चलाउँन थालेको छ महिना जतिमात्रै भयो । बाबालाई चिन्नेहरू अँझै पनि मेरो पनि ग्राहक बनेका छन ।” उसले मेरो अनुहारतिर नहेरिकन नै भन्यो ।
निकै बेर सोचेर उसले सोध्यो “त नेपाली हो?”
“हो” मैले संक्षिप्त जवाफ दिए ।
“त नै होस त्यो नेपाली जोसँग मेरा पिताले झुमाका दिनमा हैदरावादी ब्रियानी खाने गरेका थिए?” उसले कौतुहलता मिश्रित श्वरमा सोध्यो ।
“तलाई कसरी थाहा भयो?” मैले आश्चर्यजनक भावमा फटाफट सोधे ।
“पिताजीले हरेक पत्रहरुमा आधा बयान तेरै गरेका हुँन्थे । हाम्रो परिवारमा तलाई सबैले चिनेका छन । उनी भन्थे त त्यही मान्छे होस जसले उनलाई शान्ति के हो भनेर जान्ने मौका दियो ।” ऊ भन्दै गयो ।
म भित्रैदेखि भक्कानिए । आँखाबाट बलिन्द्र धारा आँशुहरू झरिरहे । म त्यहाँ बस्न सकिन र जुरुक्कै उठे र हिडीहाले ।
त्यो रातभर म र निद्राको बीचको दूरीमा ती बुढा मोची आइरहे । उनको त्यो अन्तिम अनुत्तरित प्रश्न पनि आइरह्यो “आँशुको वजन कति हुँन्छ?”
तर मसँग अँझै पनि त्यो प्रश्नको सही उत्तर थिएन ।
५ जुलाई २०१६, मंगलबार, दोहा, कतार ।
khadkabinod02@yahoo.com
