Skip to content

अन्तराष्ट्रिय महिला दिवस: व्यवहारमा शुन्य


आज १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस । महिला हक अधिकार र महिला मुक्तिको लागि हरेक वर्ष ८ मार्चका दिन विश्वभर यो दिवस मनाइने गरेको छ । सर्वं प्रथम पहिलो पटक १९ मार्च १९११मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको प्रमाण भेटिन्छ । पहिलो पटक तत्कालीन पर्सियाका राजाले १९ मार्च १८४८का दिन महिलालाई मतदानको अधिकारको घोषणा गरी समानताको अधिकार प्रत्याभुत गरेका कारण यो दिवस मनाइएको थियो तर विविध कारण नियमित हुन सकेन र सन १९१३ देखी हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै आएको पाइन्छ । संयुक्त राष्ट्र संघले सन १९७५मा मेक्सिको सिटीमा पहिलो सम्मेलनको आयोजना गरी सन १९७७बाट महिला अधिकार तथा अन्तर्राष्ट्रिय शान्ति घोषणा गरेको थियो । सन २०१७ को लागि #BeBoldForChange भन्ने नारा राखिएको छ ।

नेपाल पनि पक्ष राष्ट्र भएकाले हरेक वर्ष विविध कार्यक्रम गर्दै चोक चोक र गल्लीहरुमा महिला मुक्ति र शसक्तीकरणको आवाज उठाउदै आएको छ । समानता र अधिकारका पक्षमा सफल भएका महिलाहरुको उर्जा र हौसलालाई बुलन्द गर्ने सानो प्रयास गर्दै पनि आएको छ । महिला हक र अधिकारका गफ लडाइदै आएको छ तर के ती गफ र आवाजहरुले महिलाको हक अधिकार सुनिश्चित भयो त ? नेपालको महिला हिँसाको तथ्याङकलाई मध्ये नजर गर्ने हो भने पक्कै पनि नभएको सहजै अनुमान लगाउन सकिन्छ यदि भएको थियो भने नेपालका ४८ प्रतिशत महिलाहरू कुनै न कुनै हिसावले लैङगिक हिँसाको सिकार बन्दैनथे होला । अधिकाँश महिला हिँसाहरू दबाएर राख्छन अर्थात हिँसा पीडितहरू परिवारका डरका कारण खुलेर समाजसामु आफ्ना पीडा पोख्न सक्दैन्न । तराइका जिल्लाहरुमा दाइजो कम ल्याएका कारण दिनदहाडै महिला जिउँदै जलाइन्छ । महिला अधिकारवादीहरुले नारा जुलुस गरेर न्याय चाहियो भन्दै सडकमा उत्रन्छन तर उनीहरुको माग केबल मागमा मात्र सीमित हुन्छ । किनकि महिला हिँसाको जड महिला नै हुन । एउटी महिला अर्की महिलामाथि दमन गर्छे बोक्सीको आरोप लगाउँछे मुलमुत्र ख्वाउछे र आत्महत्या गर्न वाध्य बनाउँछे ।

सुरक्षित मातृत्वले सन् २००८÷२००९मा गरेको अध्ययनमा नेपालमा प्रजनन् उमेरका महिला मुत्युदरको १६ प्रतिशत कारण आत्महत्या रहेको पाइएको थियो । संयुक्त राष्ट्र संघले सन २०१६मा प्रकाशनमा ल्याएको प्रतिवेदनमा भनिएको छ ‘विश्वमा १० मध्ये ७ जना महिला पिटिन्छन बलात्कृत हुन्छन या त अन्य प्रकारको हिँसामा परेको हुन्छन’ । नेपालको भौगोलिक स्वास्थ्य प्रतिवेदनले समेत यो कुरालाई पुष्टि गर्छ । सन २०११मा प्रकाशनमा ल्याइएको प्रतिवेदनमा भनिएको छ ‘ २२ प्रतिशत १५–४९ वर्षका महिलाहरू शारिरिक हिँसाको सिकार बन्ने गरेका छन । त्यसमा १० मध्ये १ले मात्र आफू हिँसामा परेको समाजसामु खुलेर भन्ने गरेका छन’ । ४८ प्रतिशत नेपाली महिलाहरू हिँसामा परेको विभिन्न अध्ययनहरुले देखाउँछ । ४० प्रतिशत मानसिक हिँसा, २७ प्रतिशत शारिरिक र १५ प्रतिशत बलात्कृत नै हुने गरेका छन । हिँसामा परेका मध्ये १ तिहाइ आफनै श्रीमानबाट पीडित हुने गरेका छन । बाँकी परिवारका अन्य सदस्य र समाजबाट हिसाँको सिकार बन्ने गरेका छन । तराइका जिल्लाहरुमा धेरै जसो महिलाहरू कुटिने पिटिने र जिउदै जलाइन्छन ।

सिविन र न्यू एराको अध्ययन अनुसार नेपालवाट वर्षेनी ४–५ हजार महिला भारतको विभिन्न शहरका कोठीहरुमा बिक्रि हुने गरेको तथ्य स्पष्ट देखिन आएको छ । त्यसैगरी आफ्नो जीविकोपार्जनको कुनै आधार नभएको कारण बाध्य भई देहव्यापारमा लाग्नेहरुको संख्या पनि लगभग ५ हजार माथि पुगिसकेको छ । विभिन्न चरणहरुमा ल्याएको योजनामा महिलाहरुको वास्तविक स्थितिलाई पहिचान गरी उनीहरुलाई विकासको मूल प्रवाहमा समाहित गर्ने, लैंगिक भेदभाव हटाइ समानता प्रदान गर्ने, राजनैतिक क्षेत्र, शैक्षिक कार्य र अन्य विकासका कार्यहरुमा महिलाहरुको सशक्तिकरण गरी सम्पूर्ण क्षेत्रमा सहभागी गर्ने लक्ष्य लिइएको थियो । तरपनि यसवाट खासै प्रगति भएको देखिदैन् । महिला र पुरुषबीच समानता कायम गर्न, पिछडिएका महिलाका उत्थानका लागि विशेष कानून बनाई अगाडि बढाउने भनिएता पनि महिलाहरुको उत्थानका लागि खासै विशेष किसिमको कानून बनाई प्रभावकारी रुपमा लागु भएको उदाहरणहरू पाइएका छैनन् ।

महिलाहरुलाई शारिरिक रुपमा हिँसा दिनुका साथै कानूनले संरक्षणमा निकै प्रयासहरू थालेपनि महिलाहरू माथि महिलाले नै दमन गर्ने प्रवृतीमा कमी आउन सकेको छैन । नेपालको पश्चिमी क्षेत्रमा देउकी र छाउपडीका नाममा महिलामाथि ज्यादती गरिने क्रममा कमी आउन सकेको छैन । विभिन्न भाकल गरी चढाइएकी देउकीले मन्दिरमा दर्शनार्थीहरुले दिएको प्रसादले जीवन गुजारा गर्न नसकेपछि देहव्यपार अंगाल्ने गरेका छन यो पनि एक प्रकारको हिँसा पीडित हुन बाध्य बनाइएको परिस्थिति हो विभिन्न कलकारखाना र उद्योगहरुमा पनि महिलाहरुलाई पारिश्रमिकमा भेदभाव गरिएको पाइन्छ । तराइ क्षेत्रमा छोरीको विवाह गर्दा सकेर वा नसकेर केटा पक्षले मागे जतिको दाइजो पूरा गर्नुपर्ने, ज्यानै गुमाउनुपर्नेसम्मको अवस्था सृजना भई ज्यान गुमाएका महिलाको संख्या पनि अधिक नै छ ।

३३ प्रतिशतको अधिकारको लागि जतिसुकै चर्को आवाज घन्काए पनि यथार्थमा लागू हुन भने सकेको छैन । अरू त अरू देशको मूल कानून बनाउने संविधानसभामा समेत ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुन सकेको छैन । दोस्रो संविधानसभामा महिलाको प्रतिनिधित्व २९ प्रतिशत (२६ मनोनित बाहेक) रहेका छन् । देशको मूल राजनीतिक पार्टीहरूमा नै महिला नेतृको संख्या औंलामा गन्न सकिने अवस्थामा मात्र रहेका छन् । विश्वकै सापेक्ष परिवेशलाई नियाल्ने हो भने महिलाहरुलाई पछाडि पारिएको अवस्था विधमान छ । अमेरीका जस्तो उदारवादी देशमा समेत महिलाहरू हिसाँ पीडित बनेका छन फलस्वरुप सम्वन्ध विच्छेद गर्नेहरुको सुचीमा अंग्रपंक्तिमा नाम छ । विभिन्न प्रकारका शारिरिक र मानसिक हिँसाका कारण आत्महत्याको क्रम पनि बढदो अवस्थामा छ । महिला अधिकारका नारा उराल्ने अधिकारवादीहरुमात्र होइन पश्चिम नेपालका महिला साँसदहरू अँझै पनि छाउपडी बार्न वाध्य भएको समाचार प्रकाशनमा आएको छ । यसरी देशको कानून बनाउने साँसद नै हिँसामा पर्ने गरेपछि सर्वसाधारण महिलाहरुको अधिकारको प्रत्याभुत गर्ने कस्ले ? चोकमा महिला अधिकारको नारा उराल्ने अधिकारकर्मी घर परिवारकोसामु आफनो अधिकारको लडाइबाट पराजीत भइरहेका छन । तर्सथ काठमाण्डौको खुल्ला मञ्च मात्र होइन इलामको लाकुरी चौतारीमा पराजीत मानसिक्ता बोकेर खोक्रो भाषण होइन व्यवहारिक रुपमा महिला अधिकार प्रत्याभुतका लागि जागरुक बनाउन सक्नुपर्छ । १०७ औ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सम्पूर्ण महिलाहरुमा शुभकामना ।

नमीन ढकाल

संयुक्त राष्ट्रसंघले प्रकाशनमा ल्याएको विभिन्न बुकलेट र प्रतिवेदनहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *