आत्मगौरव – १


माया लाग्छ मनै भरी पलपलै सम्झिन् कि प्यारा भनी
माया लाग्दछ पुत्रको छिन छिनै सझ्यो कि बाबा भनी ।
आमा दाजु बुबा र भाइहरुको माया अझै लाग्दछ
झर्छन् आँसु उराठिलो जमिनमा झन् बाडुली लाग्दछ ।।११०।।

के बस्ने यस ठाउँको जीवनमा खाई बडो हन्डर
अर्काको बँधुवा छु यो मुलुकमा बुझ्ने यहाँ को छ र
रित्तै हात लिएर फर्किन पनि के फर्कने हो घर ? ।।१११।।

तिम्रो देश रुँदैछ मित्र कति हो आराम फर्माउँछौ
बारीको किन काम गर्न जहिल्यै अत्यन्त सर्माउँछौ
अर्काको घरमा भएर बँधुवा के सक्तछौ पाउन
सारै कन्तबिजोग भो फिर छिटै छाडेर सर्माउन ।।११२।।

गौरीशंकरबाट केही नजिकै कैलास मेरोे घर
मेरै दक्षिणतर्फ ध्यान गतिमा बस्छन् सधैं शङ्कर
मेरो के छ सडेर जानु छ छिटै भो जिन्दगी जर्जर
आमा केही रहेन शून्य सब भो पर्दैछु तिम्रै भर ।।११३।।

आफैं भित्र कुवा छ भावहरुको खोजेर हे¥यौं भने
आफैंमा छ अथाह सिर्जन कला रोजेर हे¥यौं भने
आफैं भित्र अनन्त सिर्जनहरु वैलेर झर्छन् यहाँ
नाभीबाट सुवास चल्छ मृगले खोजेर भेट्ला कहाँ ? ।।११४।।

प्यारा सुन्दर शब्दका लहरमा आह्वान यो गर्दछन्
मानौं काव्यकला र कर्मीहरुले लेख्तै कला भर्दछन्
पढ्दैमा अहिल्यै फिरेर घरमा जाऊँ कि जाऊँ हुने
लेख्छन् काव्य कथा व्यथा मुटु छुने आफै रचेझै हुने ।।११५।।

यस्तै उन्नतिशील सोचहरुले कैले लघार्छन् यहाँ
कैले चाहिं निरासका नियतिले सारै पछार्छन् यहाँ
के गर्ने कति बस्नु यो अगतिमा यो त्रासमा द्वन्द्वमा
आफैं भित्र हराउँदैछु म यहाँ आफैं परें बन्दमा ।।११६।।

भेडोकै गतिमा छ जिन्दगी यहाँ दाम्लै नलाए पनि
आगैमाथि डढेर सुत्नु छ यहाँ आगै नलाए पनि
थाहै हुन्न तिथी घडी मितिहरु पाइन्न पात्रो पनि
के गर्ने यस ठाउँमा मरिगए पाइन्न कात्रो पनि ।।११७।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *