सुख्खा याम थियो यहाँ मन भरी आशा पलायो अब
पाखा पर्वत वस्तीमा प्रकृतिमा उल्लास छायो अब
टाढाबाट घुमी वसन्त ऋतुको सन्देश आयो अब
मेरै बारी पुछारको रुख बसी क्वैली करायो अब ।।११९।।
हावा हुन्डरी वा बतासहरुको टन्टा नआओस् अब
हाम्रा सिर्जनसम्पदा सब धराशायी नपारोस् अब
कालो राक्षस झैं सुनामी पहिले यो देशमा आउँथ्यो
त्यस्तो ताण्डव गर्न राक्षस यहाँ फर्की नआओस् अब ।।१२०।।
आफैं भित्र रुवाउँदै मनभरी सन्त्रास फैलाउँदै
आफैंलाई भुलाउँदै प्रकृतिको उल्लास बिर्साउँदै
पीडाको भुँवरी लिएर मुटुमा सन्तोष के पाउनु
सोची सोची विदेशको रहरले फर्केर के आउने ? ।।१२१।।
