Skip to content


वर्षाको महिना भए पनि भनेको समयमा वर्षा हुँदैन । त्यसैले गर्दा मनोहराको फाँटमा नै भएको भए पनि खेतमा कुलो नलगाई धान रोपाई गर्ने कुनै सम्भावना नै रहँदैन । भोलि हाम्रो पनि बेसीखेतको रोपाई थियो । आजै राती गएर खेतमा कुलो लगाउने पालो यसपाली हाम्रो परिवारमा साहिलो काका र मेरो भागमा परेको थियो । काका त पहिले नै खाना खाएर बेसी झरी सक्नु भएछ । म घर पुग्दा अलि ढिला भएकाले अब एक्लै बेसी झर्नु पर्ने भयो ।

ला एक्लै पो बेसी झर्नु पर्ने भो । मनमनै भने । मनको कुनै कुनामा एक मुठृी हल्का डर पलायो । वास्तवमा नै हाम्रो गाउँको सडकवाट बेसीतिर जानका लागि ओरालो झर्ने वित्तिकै एक प्रकारले सुनसान बाटो भएर अगाडि बढ्नु पर्ने हुँनथ्यो । बुढाबुढीहरू भन्थे दिनको मध्यान्ह्को बाह् बजे र सूर्यास्तको समयमा साँझमा केटाकेटीहरू बेसी नझर्नु नत्र भुतको सम्मुख पर्न सक्छन । अनि उनीहरू त्यस्ता भुतको सम्मुख परेर अनेक दूर्घटनाहरू भएका कता कताका एक दूईटा कथा पनि सुनाउने गर्थे । ती सत्य थिए वा असत्य थिए तिनै सुनाउनेहरू नै जानून तर सून्दा रमाइलो लाग्ने ती कथाहरुले सुत्दा भने निकै सताउने गर्थ्यो । सुन्दासम्म त रमाइलो कथा झै लाग्ने तर सुनिसकेपछि एक्लै पर्दा भने आफ्नै घर, चोटा, कोठामा ओहोर दोहोर गर्दा पनि एक प्रकारको डरले थिलथिल्याउथ्यो ।

जतिसुकै डर लागे पनि बेसी त एक्लै झर्नु पर्ने जिम्मेवारी छदै थियो । त्यसैले मनभित्र डरले डेरा जमाएकै भए पनि बाहिर अनुहारमा डर लागे जस्तो देखाउने कुरो पनि भएन । खाना खाई सक्ने बित्तिकै म पनि कम्मरमा पटुकी बाँधेर, काँधमा कोदाली, बगलीमा एउटा टर्च लाईट, र हातमा एउटा दरो लठृी लिएर मस्त साहास बटुलेर घरवाट निक्लिए ।

“सरासर खेतैमा जा है बाबु, कतै पनि नअलमलिनु । काका त कुलोको मुहानतिर जान्छ तर तैले खेत पटक्कै नछोड्नु । खेतमा मान्छे देखेनन कि पारी गाउलेले कुलो तलतिर झारी हाल्छन है । हाम्रो भोलि रोपाई छ हाम्रो खेत नभरी हामी कुलो छोड्दैनौ भन्नु ।” हजुरआमाले बार्दलीवाटै सम्झाउनुभयो ।

मैले पनि “हस हस” को रट लगाउँदै आफ्ना पाईलाहरुमा गति भरे । घरवाट निक्लेपछि गाउँको मध्यभाग हुँदै तन्किएको सडकवाट दश मिनेट जति हिडेपछि बेसी झर्ने डिलमा पुगिनथ्यो । म अगाडि बढ्दै जाँदा माथ्लो गाउँको पाटीमा बसेर दुनियाभरका गफ हालिरहेका एक हुल बुढाहरू देखिए । मलाई मनमा लागिसकेको थियो ती मध्ये कोही न कोही बुढाले मलाई केही न केही त पक्कै सोध्छन वा भन्छन भनेर । तर म भने तिनीहरुतिर ध्यान नै नदिई अगाडितिर हुत्तिरहेको थिए । मलाई तिनीहरू कसैसँग पनि संवाद गरेर समय नष्ट गर्ने मन थिएन । किनकि जति ढिला गर्यो त्यति नै अँध्यारो हुने सम्भावना बढी थियो र म चाहन्थे कि म खेतमा पुग्दासम्ममा पुरै अन्धकार नहोस ।

तर तीनै मध्ये लाहुरे बुढाले मलाई सम्बोधन गर्दै सोधी हाले ।

“ए बाबु तेरो भोलि रोपाई हो?”

मेरो पहिरन र मैले बोकेका सामानहरू तथा हिडेको समयका आधारमा गाउँका जोसुकैले पनि भोलि रोपाई भएका कारणले आज खेतमा कुलो लगाउन बेसी झर्न लागेको हो भन्ने सहजै बुझ्न वा अनुमान लगाउन सक्थे ।

“हो हजुरबा ।” मैले उत्तर दिए । तर पाईलाहरुलाई भने अघि बढाउन रोकिन ।
“ल त्यसो भए अचार च्युरा खान आउनु पर्ला भोलि । म खेतमा नै आउँला । खाजा खाने बेलामा सम्झेस है ।” लाहुरे बुढाले प्रस्ताव राखे ।

“भैहाल्छ नि हजुरबा । मलाई पनि त तपाईकै घरतिर पात काट्न आउनुछ भोलि ।” मैले भने ।

“भैहाल्छ नि लाटा आईजो न । म पनि सघाई दिउँला ।” लाहुरे बुढाले सहमति जनाए । वास्तवमा खेतालाहरुलाई अचार बाडनका लागि पात चाहिन्छ र ती पात काट्न तीनै लाहुरे बुढाकै बगैचामा जानुपर्छ । त्यही त छ अलि ठूला र सफा पातहरू ।

“नडराई जा है नाति, त्यो ठूलो उकालोमा पोहोर मरेको बाघ आउन सक्छ । आयो भने त्यो मरेको बाघको गाला पड्काईदे है ।” कान्ते बुढाले भने । अरु बुढाहरू हललल हाँसे । ती कान्ते बुढा अलि ठट्यौलो खालका छन । तर तिनले खाली फोकटमा मलाई किन तर्साउनु परेको हो कुन्नि । “मर्न नसकेका बुढा” भनेर मुखवाट फ्याट्टै निक्ली हालेछ । तर कसैले पनि सुनेनन ।

“आउदैन ब्यारे नाति नडराई जा । यसै पनि अँझै उज्यालै छ । काका अघि नै बेसी झरिसकेको छ । डराउनु पर्दैन ।” लाहुरे बुढाले ढाढस दिए ।

“आ के को डराउनु हजुरबा, कोदालीको पाताले दिन्छु बाघ आवोस कि बाघको बाउ आवोस ।” आफ्नो डरलाई भित्रै दबाउने कोशिस गर्दै शब्दलाई शक्तिमा ढाल्ने प्रयास गरे ।

हिड्न नरोकिकन नै संवाद जारी राखेकाले म यतिखेर सम्ममा ती बुढाहरुबाट ओझेल भैसकेको थिए । उनीहरू भने के के भन्दै थिए कुन्नि मसिना स्वरहरू अँझै आइरहेको थियो ।

बेसी झर्ने क्रममा सडकवाट तलतिर ओर्लिन शुरु गर्नु अघि डिलमा ठिंग उभिएर नजरलाई पर परसम्म देखिएको मनोहराको फाँटसम्म दौडाए । साँझले उज्यालो निल्दै थियो । शून्यताले पुरा फाँटलाई नै आफ्नो साम्राज्य बनाउँदै गरेझै महशुस हुनथ्यो । बिस्तारै आफ्ना पाईलाहरुलाई ओरालो झारे । बाटो शून्य थियो, कोही पनि वटुवा देखिएनन वाटैभरी । मेरा पाईलाका गतिहरू अगाडि बढ्दै गए ।

“ओहो भतिज, खेतमा पानी लगाउन जान लागेको हो कि क्या हो?” एउटा आकृति र उसैसँग आएका आवाजहरुले मनमात्रै झसँगै बनाएन बरु मेरा ठूलो ओरालोमा ओर्लदै गरेका पाईलाहरुलाई समेत टक्क रोक्कायो । अनायासै आएका यी आवाजहरुले गर्दा म डरले थररर कामे ।

“तर्सिस कि क्या हो भतिज?” मभन्दा अली पर उभिएका थिए पल्ला गाउका भिमसेन काका । उनी भर्खरै पाखोतिरवाट बुदु्रक उफ्रिएर बाटोमा आइपुगेका थिए । कुनो परेको ठाउँ भएकाले उनी बाटोमा नआई पुगिकन उनलाई देख्न सकिन्नथ्यो । मलाई झनक्कै रीस उठ्यो । तर उनको गल्ती भने थिएन ।

“म त झस्यांगै भाको नि काका । अचानक काकालाई देख्दा झसँग त हुने नै भयो नि ।” मैले मन र मुटुलाई दरो पार्दै भने । तर पाईलाहरुलाई भने रोकिन । मसँग बीच बाटोमा रोकिएर कसैसँग गफ गरिरहने समय नै कहाँ थियो र ।

“अहिले उज्यालोमा त डराउँछस, भरे राती कुलो कुर्दा के होला । फाँटमा त भुत लाग्छ भन्छन । अलि विचार गर है । अनि को छ साथी ।” म अगाडि पुगिसकेकोले भिमसेन काकाको स्वर ठूलै भएपनि मसिनै सुनियो ।

“साहिलो काका हुनुहुन्छ, डर छैन काका ।” भन्दै मैले मेरा पाईलाहरुलाई फेरि अगाडि बढाए ।

अब खहरे हुँदै अगाडि बढ्नु पर्थ्यो । खहरेका बालुवामा पाईलाहरू त्यति फटाफट चलिरहेका थिएनन । अलि परको खतिवडा गाउँ पनि काँडाका झयांग र बाटो छेउको अग्लो कान्लाहरुले विरानो बनाइदियो । तर खतिवडा गाउँका भुराभुरीहरू खेल्दै थिए क्यारे तिनका आवाजहरू मसिनो आइरहेको थियो ।

खहरेको बालुवासँग मेरा पाईलाहरू सकि नसकी जुधिरहेका थिए । लागथ्यो खहरेको बालुवाहरुले मेरा बालक पाईलाहरुलाई दूख दिइरहेको छ । यत्तिकैमा दाहिनेतिर देखियो पोखरी डोल । पोखरी डोलको ठुलो डाँडाहरू र सन्नाटाहरुले मलाई टोकौला झै गरेर हेरेको आभास भयो । हैन सबै कुराहरुले किन अत्याउँछ मलाई आज, मनमनै भने ।

यो पोखरी डोल त प्रकृतिको काख जस्तै रमाइलो र प्यारो पो लागथ्यो त मलाई । गोठाला झरेको दिनमा एकछिन पोखरी डोलमा विश्राम नगरे मनले शान्ति नै पाउदैन थियो । “कस्तो नीष्ठूरी पोखरी डोल, अँध्यारो भए त उसैको राज भनेर तर्साएको होला मलाई ।” मनमनै भने ।

खहरेसँग जुध्दा जुध्दै अगाडि नै बढ्ने क्रममा कतैतिरवाट गाँजाको गन्ध आएको आभास भयो । सोचे नगिचमा कोही गाँजा तान्दैछ होला । वरिपरि हेरे तर कोही पनि मान्छे छैन, कहाबाट आयो यो गन्ध । पक्कै पनि ठेस्ना केटाहरुले कान्लामुनी लुकेर बसेर गाँजा तानेको हुनुपर्छ, मूर्खहरु, गन्धैले पनि पत्ता लाग्छ कहाँ छन गाँजा तान्नेहरू भन्ने पनि नसोचेका, मनमनै सोचे र आफै हाँसे । अब त पर परसम्म फैलिएको मकैवारी र अलिअलि घरहरू पनि देखिदै थियो । मकैका वोटहरू आधा आधी मात्रै भएका हुनाले बारीहरू त्यति डरलाग्दो देखिएनन । गाँजाको गन्ध आउन छोडेन । यत्तिकैमा एउटा बुढो खोकीको मधुरो आवाज आयो । आवाज आएतिर मेरा ध्यानहरू दौडिए । आवाज गएर परको एउटा सानो घरमा गएर रोकियो । सिताराम महाराज बेसी लाहुरेको पिढीमा बसेर गाँजा तान्दै रहेछन ।

“बुढालाई थेगी नसक्नुको खोकी लाग्दैछ तैपनि गाँजा तान्न छोड्दैनन, काल नजिक आको हो कि क्या हो यो महाराजलाई ।” मनमनै के भन्दै थिए उतावाट आवाज आई हाल्यो ।

“ए बाबु यति साँझमा कहाँ जान लाग्यौ, खेतमा पानी लाउन जान लागेको हो? भोलि लोपाई होकि क्या हो?” तोते स्वरमा आवाज आयो । हैन थाहा नै भैसकेपछि पनि यी मान्छेहरू किन प्रश्न गरिरहन्छन । फेरि अन्तर्मनवाट हल्का आक्रोस झर्यो, तर मुखारबिन्दमै रोकियो ।

“हो महाराज ।” मैले जवाफ दिए ।

“लाती अलि होस गर्नु है । मसान जागा हुन्त, फलाम हातवाट नछोडे भुतदेखि डलाउनु पल्दैन । म भोलि खेतैमा आउतु खाजा खान ।” सिताराम महाराजको मसिनो स्वर सुनिदै गर्दा मैले दोवाटो काटेर फाँटतिर झरिसकेको थिए ।

“हुन्छ महाराज, हस ।” भनेर खहरेवाट फाँटतिर झरे ।

किन हरेक मान्छे रातसँग भुत, मसान आदि ईत्यादि जोड्छन । आफैले आफैलाई प्रश्न गर्दै थिए । उनीहरू सत्य बोल्दैछन कि वा केवल मलाई डरमात्रै देखाइरहेका छन । म केही बुझ्न सकिरहेको थिइन । तर सत्य कुरा यो हो कि धेरै पटक सुनेपनि मैले भुत प्रेत भन्ने आजसम्म पनि देखेको छैन । एक मनले त सोचथ्यो कि कतै आजैको रात मैले भुत देख्नेछु । अनि म आफै आफैसँग प्रश्न गर्थे यदि मैले आज राती साँच्चै भुत देखे भने के होला? तर मसँग खासै जवाफ थिएन ।

अब म खुल्ला फाँटमा हिड्दै थिए । सुकेको कुलो मसँगसँगै अगाडि बढ्दै थियो । पर चौरीको धारोमा केही उरेन्ठेउला केटाहरू एउटी लाटीलाई जिस्काउँदै थिए । लाटी मस्कदै र उनीहरुलाई धारे हात लगाएर यताउता भाग्दै गर्दै थिई । लाटी त्यही कि स्थानीय केटी हो । जवानीको भुमरीले उसलाई पनि लपेटेको भान हुँन्छ । त्यसैले ऊ धेरैजसो समय तीनै उरन्ठेउला ठीटाहरुको अगाडि पछाडि नै देखा पर्छे । ती छुल्यहा केटाहरू भने कहिले लाटीले फरिया माथि सार्ली भनेर आशा गरिरहन्छन । छन पनि त्यस्तै छे त्यो लाटी यसो उसो गर्छे फरिया माथि माथि सार्न थाली हाल्छे, रिसाउँदा पनि खूसी हुँदा पनि । त्यो लाटीले उसका फरियालाई घुँडाभन्दा माथि सार्ने बित्तिकै मलाई चाहि आँखा बन्द गर्न हतारो भई हाल्छ । त्यसैले केटीहरू भन्छन म लाजको पुरी छुँ रे ।

कहिलेकाहीं गोठाला झरेका समयमा दिउँसो त्यो विशाल चौरीको बीचमा रहेको त्यो धारामा पानी पिउँन जाँदा त्यो लाटी भेटिन्छे । पहिले पहिले लाटीले मलाई बेपत्ता जिस्काउँथी । कहिले कपाल तानिदिन्थी, कहिले कमिजको फेरो तानिदिन्थी । दिदीहरू सरहकी भएर पनि त्यो लाटी मलाई किन सताउँछे म आफै बुझ्न सक्दिनथे । धारामा एकनासले पानी पिइरहेका समयमा कतावाट आईछे कुन्नि एक पटक त त्यसले मेरो हनुमान कटृु नै पो तानि दिई । देखाउँन नहुँने कुरा देखियो । अरु सबै गललल हाँसे ।

“लाटीलाई बैस चलेको, मरेस तँ” भनेर पुरा पानी पनि नपिई म त्यहाँबाट टाप ठोके । तर त्यस दिनपछि त्यो लाटीले मलाई कहिले पनि त्यस्तो हर्कत गरिन । त्यस पछिका दिनहरुमा मलाई उसले अर्कै तरिकाले माया गर्न थाली, आफ्नै भाइ जस्तै । धेरै जसो मकै र साँधेको गुन्दु्रक खान दिन्थी । र कहिलेकाही ताजा मोही पनि । सबै मीठा र रसिला थिए ।

मान्छेहरू भन्थे लाटीको बिहे हुँदैन, लाटीसँग कसैले बिहे गर्दैन, तर म प्राथना गर्थे कि लाटीको पनि बिहे होस र उसको पनि अरु केटीहरुको जस्तै घर बसोस । मलाई लाटीको माया लागथ्यो । मलाई चाहना थियो कि ऊ ती उरन्ठेउला केटाहरुको रमाइलोको पात्र नबनोस ।
यस्तै अनेक सोच्दै र सम्झदै अगाडि बढ्ने क्रममा आफ्नो खेतमा पूग्दा त अन्धकार नै भइसकेको थियो । दश मीटर अगाडिको मान्छे नै चिन्न नसकिएला जस्तो भयो । उता पर चौरी पनि हरायो र त्यो लाटी पनि ।
काकालाई खेतमा नै भेटे । काका उता खेतमा पानी पटाउनका लागि अँझै कुलेसो खोल्दै हुनुहुदो रहेछ । उहाँ काम गर्दा गीत गुनगुनाउँदै हुनु हुँनथ्यो । शब्द र स्वर भने मैले पत्तो लगाउन सकिन । एकछिनमा उहाँको कुलेसो खन्ने काम सकियो ।

“ल बाबु त यही बस, कसैले कुलो तान्ला हेर्दै गर्नु । कुलो सुक्यो भने कुलो सुक्यो भनेर ठूलो श्वरमा कराउँनु, रात छिप्पिदै गएपछि स्वर परपरसम्म पुग्छ । म तेरो आवाजको हिसाबले यता आउँला । नत्र म उता मुहानमा नै बस्नुपर्छ । मुहान त कुनैपनि बेला भत्किन सक्छ । डराउँलास नि, डराउँनु पर्दैन । केही पनि आउँदैन । आयो भनेपनि हातमा लठी नछोड्नु केही पनि फरक पर्दैन । केही भैहाल्यो भने मलाई बोलाउँनु ।” काका यति भनेर माथि मुहानतिर लाग्नुभयो ।

“हस काका । म यही खेतमा नै बसिरन्छु । कतै पनि जान्न । मलाई डर लाग्दैन । पक्का । केही पर्यो भने म तपाँईलाई बोलाउँला ।” मैले जवाफ दिए ।

म भने कुलोको डिल हुँदै फाँटभरी तन्किएको त्यही गोरेटोमा थच्च बसे ।

रात छिप्पिदै गइरहेको थियो । पर मनोहरा खोलाको बहावको कुलकुल आवाज पनि बिस्तारै तिखो हुँदै आइरहेको थियो । मनोहरा खोला साबिकको स्थानबाट अँझै नजिक आएजस्तो लाग्दै थियो । खोलाको बगरमा चराहरू भार्रभुर्र गरिरहेको आवाज पनि आइरहेको थियो ।

“लठृक चराहरु, राती पनि खोलामा खेल्छन, खुरुक्क गुँडमा फर्केर मज्जासँग नसुतेर ।” मैले आफैसँग भने ।

धर्तीमा बिस्तारै अँध्यारोले राज गर्दै गयो । अब त अलिकति पर पनि केही नदेखिने भयो । हातमा टर्च लाईट त थियो तर एक्लै हुँदा आवश्यकता नपरी टर्च बत्ती नबाल्नु भन्ने सल्लाह थियो । त्यसो त मलाई आवश्यकता पनि थिएन त्यसैले टर्च लाईट खेतको ड्यांगमा पानीको लेभल हेर्ने बेला बाहेक अरु बेला बाल्ने काम गरिन ।

चार रोपनीका दूईवटा गराहरू थोरै पानी चढाएर पनि नपुग्ने । समय त लाग्ने नै भयो । सबैभन्दा राम्रो कुरो आज भने अरु कोही पनि किसानहरू अँझैसम्म पनि पानी लगाउन भनेर फाँटमा आएका थिएनन । नत्र विवाद हुनथ्यो । बाँढेर कुलो लगाउँनु पर्यो भने कहिलेकाही त पुरा रात नै फाँटमा नै बिताउँनु पर्ने हुनथ्यो ।

कुलो खेतमा एकनासले झरिरहेको थियो तर आवाज भने पटक्कै थिएन । त्यसैले कुलोको डिलमा नै बसेर खेतमा पानी पसे नपसेको जाँच गरिरहनु पर्थ्यो ।

बिस्तारै मनोहराको फाँटमा सन्नाटा छाउन थाल्यो । चराहरू पनि हराए, तिनका आवाजहरू पनि हरायो । मनभरी डर पलाउँन थाल्यो । कोही आउने पो हो कि, आक्रमण पो गर्ने हो कि भनेर । फेरि अर्को मन भन्छ कोही किन मलाई आक्रमण गरोस, मसँग के छ र लुटेरै लैजानका लागि पनि । आ बेकारमा के नचाहिदो सोच्नु अर्को मन भनथ्यो । कोही आक्रमण गर्न नै भनेर आएछ भने काकालाई चिच्याएर बोलाउँला । बुढाले यो शून्य रातमा जहाँ भएपनि नसुन्ने त कुरै हुदैन नि, अर्को मनले यस्तै भन्दै थियो ।

एउटा मनले भन्छ भुतले तर्साउन पनि सक्छ । आ फलामको भाँडो बोकेकालाई भुतले केही गर्न सक्दैन भनेर त भनेकै छन अनि फलामकै कोदाली हातमा नछुटाई बसेका अवस्थमा त्यो मोरो भुतसँग पनि डराउँने कुरै भएन । यसको मतलब डराउनु पर्ने कारण नै भएन । मन एकछिन ढुक्क हुँनथ्यो र आफूलाई निडर महशुस गर्न थाल्थे । फेरि एकछिन पछि सोचाइका तरंगहरू डरकै छेउछाउमा पुगथ्यो । यस्तो लागथ्यो कि डरले मलाई लखेटिरहेको थियो मनभित्रकै संसारमा । म डरले खेदिइरहेको थिए, तर आफ्नै मनभरीमात्रै । मैले सोचे डर भन्ने कुरा सायद मान्छेले आफ्नै मनभित्रवाट पैदा गर्ने शत्रु रहेछ क्यारे । नत्र किन मलाई डराउँनु परेको होला । कसैले केही गर्न त आएको छैन ।

अनायासै केही अनौठो खाले आवाजले मेरो ध्यान तान्यो । आवाज आएतिर मैले नजरहरू दौडाए । मेरा आँखाहरू मनोहरा खोला किनाराको सानो घाँसे मैदानमा पर्न गयो । त्यहाँ मैले केही मानवाकृतिहरू देखे । तर त्यो अँध्यारो रातमा ती आकृतिहरुलाई चिन्न सकिन । मन ढुक्क भयो । कम्तीमा पनि अरु मान्छेहरू अलि पर भएकाले अब मलाई कसैले पनि आक्रमण गर्न सक्दैन भन्ने लाग्यो । ओहो कुलो तान्न आएका त होइनन तिनीहरू अर्को मनले भन्यो । त्यसैले सतर्क बनेर बसे ।

ती मानवाकृतिहरू चलिरहेका देखिए । दूईजना बसिरहेका देखिन्थे भने एउटा उभिएको देखिनथ्यो । उभिने मानवाकृति कहिले हात हल्लाउथ्यो कहिले खुटृा उचालथ्यो त कहिले उफ्रे झै गर्थ्यो । उसले सन्यासी योगीहरुले लगाउने जस्तो जामा पगरी लगाएको जस्तो पनि देखिनथ्यो । समग्रमा ती आकृतिहरू केवल कालो छायाहरू जस्तो मात्र देखिइरहेको थियो ।

मलाई तिनीहरू को हुँन र यो मध्यरातमा यो फाँटमा के गरिरहेका छन भनेर जान्ने जिज्ञासा पलायो । डर स्वाठै हरायो । त्यसैले म बस्दै बस्दै लुक्दै लुक्दै खेतको डिलको छेउ छेउ हुँदै तिनीहरू भएतिर गए । म चाहन्थे कि तिनीहरुले मलाई नदेखुन । किनकि मलाई यतिखेर कसैसँग पनि कुरा गर्न मन लागेको थिएन । यदि तिनीहरुले मलाई देखे भने त अनेक प्रश्नहरू सोध्नेछन अनेक कुरा गर्नेछन, मेरो ध्यान तान्नेछन जसले गर्दा म जुन कामका लागि बेसी झरेको हो त्यो काम त त्यसै रहन सक्छ ।

करिब एक खेतको दूरीमा पुगिसकेपछि भने मैले तिनीहरू सबै जनालाई चिने । उभिने मानव त्यही गजडी महाराज थिए । बस्ने दूई जनामा एउटी त्यही पर गाउँकी लाटी र अर्को बेसी गाउँको हिरो काका भन्ने थियो ।

काठमाण्डौको अफिसमा काम गरेर त्यो हिरो काका सधैं अवेर घर आउँछ भन्ने मैले सुनेको थिए । डाँछीवाट मनोहरा फाँटतिर झर्नु पहिले ऊ जाँडको नसाले फिटृु हुन्छ भन्ने पनि थाहा थियो । हिरो काकाले जाँडको घ्याम्पै पिउन सक्छ भन्थे मान्छेहरू । मान्छेहरू यो पनि भन्थे कि रातमा घर फर्कदा ऊ मस्त गीत गाउँदै आउँछ । खहरेको डिलैडिल । अनि उसकी प्रेमिका दिशा बस्न जाने निहुँ गरेर लोटा टिपेर घरवाट निस्कन्छे र त्यो लोटालाई त्यही पर्खालको डिलमा राखेर मनोहरा फाँटतिर लाग्छे जतातिरवाट उसको प्रेमी गीत गाउँदै आउँछ । तर त्यो केटी को हो भन्ने चाहिं मलाई थाहा थिएन । त्यसपछि एकाध घण्टा उनीहरू प्रेममिलन गर्छन, बात मार्छन, अर्थात प्रेमालाप गर्छन, अनि दुवैजना फेरि आआफ्नो वासमा फर्कन्छन । तब मनोहराको फाँटमा फेरि सन्नाटा छाउँछ । उनीहरू नजिकका तर फरक गाउँका वासिन्दाहरू हुँन ।

हिरो काका फेरि गीत गाउँदै त्यही कुलोको डिलैडिल घरमा पुग्छ । उसकी पत्नी आफ्नो पतिको प्रतिक्षामा घरको मुलछेनमा बसिरहेकी हुँन्छे । ऊ ढोका खोलिदिन्छे, हातखुटृा धुन पानी दिन्छे, खाना ख्वाउँछे । आफू खान्छे ।

कहिलेकाही हिरोकाका उसकी त्यस्ती सज्जन पत्नीसँग झगडा पनि गर्छ रे । हातपात पनि गर्छ रे । अनि त्यो घरमा आधा रातमा रुवावासी चल्छ थाल्छ रे । हिरोकाकाका गाउँलेहरुले आएर त्यो घरको झगडा साम्य पारिदिनु पर्छ रे । मान्छेहरू भन्छन । मैले यी सबै कुराहरू सम्झँदा र हिरोकाकालाई यस मुद्रामा देख्दा मलाई झनक्क रीस उठ्यो । गएर उसका गाला पड्काई दिउ जस्तो पनि लाग्यो । तर यो मेरो आक्रोस मात्र थियो । मसँग हिरोकाकाको गाला पड्काउने सामार्थ्य कहावाट आवोस ।

एउटा नयाँ रहस्य पत्ता लाग्यो आज । ओहो हिरोकाकाको प्रेमिका त त्यही लाटी पो रहिछ । मैले आजै थाहा पाए । मलाई अँझैसम्म पनि थाहा थिएन कि हिरोकाकाकी प्रेमिका त्यही पल्लो गाउँकी लाटी थिई । सायद गाउँमा अरुलाई पनि यो कुरा थाहा छैन होला । मलाई यस्तै लाग्यो ।

अर्को अचम्मको कुरा त लाटी पनि मस्त कुरा गरिरहेकी थिई । उनीहरू प्रेमालापमा व्यस्त भएका थिए । रोमाण्टिक वार्तालाप गरिरहेका थिए । उनीहरू वारवार एउटै डल्लो पर्थे । म छक्क परे कि किन यो लाटी अरु समयमा बोल्न नसक्ने युवतीको अभिनय गर्छे तर अहिले ऊ आफ्नो प्रेमीसँग प्रेमालापमा मस्त मदहोस झै छे । यो अदभुत द्धष्यले मलाई छक्क पार्यो ।

हिरो काकाको प्रेमिका को हो भन्ने मैले आजैमात्र चिने, लाटी वास्तवमा लाटी होइन रहिछ भन्ने पनि आजै थाहा भयो । उनीहरुले ती सबै काम गरे जो दूई प्रेमी प्रेमिकाहरुले वासनाको वसमा परेर एकान्तमा गर्ने गर्छन । तर यी सबै द्धष्यहरू मेरा लागि कुनै फिल्महलको पर्दामा देखाइरहेको फिल्म जस्तै महशुस भैरहेको थियो ।

तर यो महाराजको नृत्यको रहस्य के हो अँझै बुझ्न सकेको छैन । ऊ अँझै पनि उही अवस्थामा चलायमान भैरहेको छ । मानौ ऊ आफ्नै प्रकारको नृत्य गर्दैछ जो आम मान्छेहरुले गर्ने नृत्यभन्दा नितान्त फरक छ । आधारातमा खोलाको किनारामा आफ्नै तालमा नृत्य गर्ने महाराज पक्कै पनि मेरा लागि आश्चर्यको विषय नै थिए । उसको ध्यान त्यो लाटी र हिरोकाकाका कृयाकलापहरुले नखिचिएको प्रष्ट महशुस हुँनथ्यो । ती सबैजना यतिखेर आआफ्नै स्वतन्त्रताको भरपुर उपयोग गरिरहेका थिए ।

मलाई यस्तो लाग्यो कि अब यी सबै कुराहरुको सत्य जानकारी हुँने एउटै मात्र मान्छे हाम्रा गाउँमा म मात्रै हुँने भए र मैले यो कुरा अरुलाई सुनाउँदा म पो हिरो हुने भए । मलाई मनभित्रै देखि खुसी लाग्यो ।
“म अब मसान जगाउँछु । तिमीहरू होसियार ।” महाराजले अनायासै बडो जोडका साथ भन्न थाल्यो । अरु तीन चार पटक जोर जोरका साथ भन्यो । उसका आवाजले पुरा मनोहरा फाँट नै थर्कायो । यस्तो लाग्यो कि उसका आवाज चट्यांग झै दूर दूरसम्म पुगेको छ । हतपत हिरोकाका र लाटी घोप्टो परे । महाराज जोडले काम्न थाल्यो र हातको शक्तिले खिचे झै गरी एउटी युवतीलाई जमिन फुटाएर माथि निकाल्यो । त्यो केटीलाई महाराजले पछाडिवाट उठाएको थियो । यद्यपी महाराजले त्यो युवतीलाई छोएको भने थिएन । ओहो त्यो केटी त त्यही पल्ला गाउँकी केटी रोशी थिई । ऊ गाउँकी सून्दरी केटीहरुको गणनामा पहिलो नम्बरमा पर्थी । ऊ किन यो चौरको मुनी लुकेकी थिई मैले बुझ्नै सकिन । त्यस पछि ऊ नाँच्न थाली । महाराज मादल बजाउन थाल्यो ।

उसै त राम्री त्यसमाथि नाँच्दा त झनै राम्री देखिएकी थिई त्यो रोशी । यी सबै कुराहरू र द्धष्यहरू उस्तै थियो जस्तो कि पटक पटक सानोबुबा ठकुरीले हामीलाई केटाकेटी छँदा सुनाउँने गरेका अनौठा घट्नाहरु, मसान जगाएका कुराहरु, भुतलाई नचाएका कुराहरु, भुतलाई वसमा लिएका कुराहरू । साँझमा हामी उहाँको पिढीमा जम्मा भएर गुडुल्को परेर उहाँका कुराहरू चाख मानेर सुनथ्यौ तर सुनिसकेपछि घर फर्कन भने कम्ती डर लाग्दैन थियो । मानौ भुत हामीलाई बाटोमा नै पर्खेर बसेको होस । उहाँ तन्त्र मन्त्र गर्नु हुँनथ्यो ।

महाराज र रोशीको नाँच चलिरह्यो अँझै धेरै बेरसम्म । हिरोकाका र लाटी त अघि नै हराइसकेका थिए । मैले पनि रोशीको नाँच हेर्दा हेर्दै तिनीहरू कता हराए पत्तो नै पाइन । तिनीहरू अनौठो तालले बेपत्ता भएका थिए । मैले मेरा नजरहरुलाई यताउता दौडाए तर उनीहरुलाई कही कतै देख्न सकिन ।

मलाई अनायासै कसैले पछाडितिरवाट बोलाएको आभास भयो । म मलाई बोलाएको दिसातिर नै फर्के । काका आइसक्नुभएको रहेछ । कुलोमाथिको गोरेटोमा उभिएर मलाई बोलाइरहनु भएको थियो । म नबोलिकन फेरि अगाडितिर फर्किए । त्यहाँ महाराज पनि थिएन र रोशी पनि । उनीहरू पनि अनायासै कता हराए वा कता भागे पत्तो नै भएन ।

म काका भएतिर गए । काका रिसाउनु भएछ क्यारे ।

“तलाई खेतमा नै बस भनेको होइन? किन नि मसानतिर गाको नि । कसो भुतको फेला परिनस ।” काकाले भन्नुभयो । के को भुत नि कस्ता कस्ता द्धष्यहरू देखियो कस्तो कस्तो नाँच हेरियो, बुढा । मनमनै भने । तर अघि भर्खरै के देखेको थिए ती कुराहरू काकालाई एक छेउ पनि बताइन ।

“ल घर जाऊ हिड, खेत भरियो, मज्जैसँग भरियो । गलेर भरिएको छ, खेतालाहरुले बिहानैदेखि काम गर्न पाउँछन ।” काका अगाडि लाग्दै भन्नुभयो । म पछि पछि लागे ।

भोलिपल्ट । उज्यालो भए पछि यो कुरा कसलाई सुनाउ जस्तो भैरह्यो । तर कसैलाई भन्न पनि मन लागेन । रहस्यमय कुराहरू थाहा पाउन सकेको र आफ्नै आँखाले देख्न पाएकोमा मलाई गर्भ महशुस भैरहेको थियो । भोलिपल्टको दिनभर उतै खेतमा रोपाईको चटारोमा नै दिन बित्यो ।

पर्सिपल्ट । आमाले आँगनमा बसिरहेका बेलामा भन्नुभयो “हैन के भाको छ यसलाई । यो त एक्लै दंग परिरहन्छ । हाँसिरहन्छ । हिजो राती सुत्दा पनि मख्ख परेर गमक्क परेर र कहिलेकाही खुसीले गदगद भैरहेको देखेको थिए । के हो कुरा मलाई बता त बाबु ।”

मैले यताउता हेरे । कोही पनि नदेखेपछि आमाको नगिचै गएर अस्ति राती आफूले मनोहरा फाँटमा देखेका सबै द्धष्यहरू बताई दिए ।

आमा अचानक डराउन थाल्नुभयो । उहाँ भित्रैदेखि आँत्तिएको महशुस गरे मैले । मानौ उहाँमाथि कुनै ठूलै विपत्ति आई लागेको थियो, आकाश झर्दै थियो, पाताल उचालिदै थियो ।

“लौन ए द्धारेको बा । तपाई कहाँ हुनुहुन्छ । होइन यो के भन्छ ।” उहा कराउन थाल्नुभयो ।

बा र काका हतार हतार गरेर बाहिर आउनु भयो । म छक्क परे । बुझ्नै सकिन किन एकै क्षणमा मेरो घरको माहोल परिवर्तन भयो । आमाले बा, हजुरबा र काकालाई मैले उहाँलाई बताएका सबै कुराहरू सुनाउनु भयो ।

बाले भन्नुभयो “त्यो हिरो मरेको एक वर्ष भैसक्यो । बेस्सरी जाँड खाएर आएको बेला उतै खहरेमा लडेर घोप्टो परेर मुख गाडेर मरेको भोलिपल्ट वटुवाहरुले देखेका थिए । त्यो लाटीलाई ठूलो पाखो खस्दा त्यसैले पुरिएर मरेकी तीन चार वर्ष भैसकयो । त्यो लाटीको नाम नै रोशी हो । त्यो महाराज मरेको पनि चार पाँच वर्ष नै भैसक्यो । यी सबै कुराहरू तलाई थाहा थियो छोरा । त कसरी यस्तो कुरो गर्छस बाबु ।” बा को अनुहारमा अप्रत्यासित दूख झल्केको मैले देखे ।

“भुतको छाया पर्यो यसलाई ।” हजुरबाले पनि दिक्क मान्दै भन्नुभयो । हजुरबाको आदेशमा काका सानोबुबा ठकुरीलाई बोलाउन आँधी बेहरी सरी भएर जानुभयो ।

बा को कुरा सुनेर म पनि झसँग भए । मलाई पनि यी सबै कुराहरू थाहा थियो तर मैले त्यति बेला किन यी कुराहरू सोचिन वा सम्झिन भन्ने सवालले आफैलाई अनौठो लाग्न थाल्यो । मलाई पनि लाग्यो वास्तवमा नै म भुतको फेला नै परेको रहेछु । मलाई किन रोशी र लाटी फरक केटी लाग्यो । मलाई याद छ कि, म सधैं मान्छेहरू लाटीलाई लाटी होइन रोशी भनून वा रोशी भनेर सम्बोधन गरुन । रमाइलोका लागि लाटी शब्द प्रयोग गर्नुको सटृा उसलाई रोशी भनेर पुकारुन तब उसको सून्दरताको प्रशंसा हुँनेछ । रोशी नाम मलाई असाध्यै राम्रो लागथ्यो । जब म लाटीलाई रोशीको नामवाट पढ्न खोज्थे तब मलाई ऊ संसारकी नै एउटैमात्र सून्दरी केटी झै लागथ्यो ।

“तैले तिनीहरू कसैसँग दोहोरो कुरा गरिस कि? सम्झेर भन त ।” हजुरबाले सोध्नुभयो ।

मैले सम्झिए । वास्तवमा म तिनीहरू कसैसँग पनि बोलेको थिइन । बरु सबै द्धष्यहरू लुकेर अवलोकन गरेको थिए ।

“म तिनीहरुसँग बोलिन । मैलेमात्रै देखेको हो उनीहरुलाई । उनीहरुले त मलाई देखेकै छैनन । मैले सबै कुराहरू लुकेर हेरेको मात्र हो ।” मैले केही राहत मिले झै गरी स्पष्टिकरण दिए ।

“ल भो चिन्ता नगर बुहारी । दोहोरो कुरा गरेनछ त्यसैले केही फरक पर्दैन । बाँकी लागुभागु बौसाबले भगाउँछन चिन्ता गर्न पर्दैन ।” हजुरबाले मेरी आमातिर सम्बोधन गर्दै भन्नुभयो ।

मलाई मेरो आफ्नै गल्तीदेखि आफैलाई दिक्क लाग्यो । विभिन्न मान्छेहरू घरमा आएर विभिन्न कुराहरू भन्न थाले । घरमा दिनभर एक प्रकारको तनाव छाई नै रह्यो । बाहिरका मान्छेहरुलाई यो एउटा अनौठो घट्ना भयो र कौतुहलता निवारणका लागि ममाथि खाडी युद्धताका वर्षिने बमहरू झै प्रश्नका वर्षा गरिरहे । मलाई पनि भुतको सम्मुख परेको भन्ने कुरा पक्का भयो । तर म ढुक्क थिए किनकि सानोबुबा ठकुरी भन्नु हुनथ्यो “म त मन्त्रका बलले भुतका सात पुस्ता नै उडाई दिन्छु ।”

साँझ पर्यो । अनेक थरी सामानका साथ पूजा शुरु भयो । भुत भगाउनु पर्ने भएकाले मलाई अगाडि राखिएको थियो । पूजा सकिन लागेपछि एक मुठा छवालीलाई हातमा लिएर त्यसको एक छेउमा बाल्दै सानोबुबा ठकुरीले भने “ल यो बच्चालाई केही थाहा छैन, यसलाई नसता, त भुत भागी जा । त भुत भागि जा ।” यस्तै के के भन्दै बल्दै गरेको छ्वालीले मेरो जीउमा अँन्धाधुन्ध प्रहार गर्न थालेपछि म अचानक आत्तिए र त्यो आगोवाट बच्नका लागि त्यहावाट निस्केर बाहिरतिर भागे । मलाई अरु मान्छेहरुले लखेट्न थाले । भाग्ने क्रममा म एउटा खाल्डोमा नराम्रोसँग खसे ।

सायद यही भाग्ने क्रममा म खाटवाट खसेको रहेछु क्यारे । जीउ बेस्सरी दूखिरहेको थियो । मधुरो प्रकाशका बीच पनि भित्तामा झुण्डिएको घडीमा हेरे, रातपछिको दूई बजिरहेको थियो । पल्लो खाटमा सुतेको साथी भन्दै थियो “किन त एकनासले पटक पटक “त भुत भागि जा” भन्दै कराउँदै खाटवाट खसेको? के भयो तलाई? तलाई सन्चै त छ । परदेशमा पनि भुतले लखेटेको सपना देखिस कि क्या हो?”
मैले संक्षिप्त जवाफ दिए “सायद खराब सपना थियो ।”

तर मेरो मन र मस्तिष्क भने अँझै पनि लाटी, रोशी र उसका सून्दरताको बयानभित्र घुमिरहेको थियो र खराब सपनाभित्र पनि सत्यता खोज्ने प्रयास गर्दै थिए ।

http://www.samakalinsahitya.com

khadkabinod02@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *