लुसीलाई मैले मेरो साथीको घरबाट ल्याएको पनि सात वर्ष बितिसकेछ । हिजो जस्तो लाग्छ । तर सात वर्ष भएछ । लुसी र मेरो सम्बन्ध पनि सात वर्ष पुरानो भइसकेछ । लुसी अत्यन्तै प्यारी छे । सेतो-कालो र टाटेपाटे बुट्टाले लुसी झनै प्यारी देखिन्छे ।
लुसी अर्थात् पि्रय कुकुर ! मेरो आत्मीय साथी लुसीलाई घरमा ल्याउन भने मलाई निकै गाह्रो भएको थियो । मेरो घरमा म, मेरो सानो भाइ र मेरो बाबाले मात्र कुकुर मन पराउनु हुन्थ्यो । मम्मीलाई भने उत्ति मन पर्दैन थियो । मैले कत्ति कर गर्दा पनि उहाँले मलाई कुकुर पाल्न दिनु हुन्नथ्यो । एक दिन मेरो साथीको कुकुरले धेरै बच्चा जन्माएकी छे भनेर सुने । अनि म गएर सबैभन्दा सानी अनि प्यारी बच्चीलाई घर लिएर आएँ । अनि नाम राखे लुसी ।
मायाको साटो माया नै पाइन्छ । त्यही भएर होला मैले माया गरेको लुसीले मलाई पनि माया गर्छे । म कतै गए भने लुसीलाई दुःख लागेको मलाई अनुभव हुन्छ । अनि र्फकेर आउँदा ऊ निकै खुसी हुँदै मेरो अागालोमा लुटुपुटु हुन आइपुग्छे । एक दिन त अचम्मै भयो । हामी स-परविार मनकामना दर्शनका लागि जाने भयौं । त्यो बिहान घर छाड्ने बेलामा लुसी मेरो काखमा आएर रोएकी थिई । म पनि भावविह्वल हुन पुगेकी थिए । लुसीलाई छाड्ने मन नहुँदा नहुँदै पनि म गएँ । बाटैभर िउसको याद आइरह्यो । तर जब हामी र्फकेर घर आयौं, लुसी खुसीले पुच्छर हल्लाउँदै हामीतिर दौडेर आयो । यस्तो लाग्यो त्यो दिन लुसी हामीलाई स्वागत गर्दैछे ।
हिजो आज त मम्मीले पनि लुसीलाई धेरै माया गर्नुहुन्छ । आमाको मन हो, पग्लियो होला । बेलामा दूध दिनु, खाना खाएकी छ छैन, हेर्नु अनि लुसीलाई बिहान-बेलुकी घुमाउन लानु, मम्मीको दिनचर्या नै भएको छ । मम्मी पनि यसमा आनन्द महसुस गर्नुहुन्छ ।
लुसीलाई दूध-भात मन पर्छ तर नुहाउन भने त्यति मन गर्दिन । धारा र पानी भने पछि पर-पर भाग्छे । मेरो खुट्टामा आएर बिन्तीभाउ गर्छे ।
लुसी र मेरो माया असाध्यै गहिरो छ । हाम्रो घर छेउमा वडा प्रहरी कार्यालय छ । बिगतको जनयुद्ध कालमा उक्त कार्यालयमा आक्रमण हुँदा गोलाबारुद पड्किएको आवाजले लुसी धेरै तर्सिएकी थिई । अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भनेजस्तै, तिहारमा पटाका पड्किएको आवाजले ऊ निकै तर्सिन्छे । अनि म सुत्ने खटियामुनी आएर लुक्छे । बिचरी, मेरो लुसी । मलाई पनि उसको औधी माया लाग्छ अनि उसलाई उठाएर मसँगै सुताउँछु ।
मैले अनुभव गरकिी छु, मानिस र जनावरको स्वभाव एउटै हुन्छ । फरक यति मात्रै हो मानिस आफूलाई हुने दुःख, कष्ट, पीडा र खुसीहरू शब्दमा व्यक्त गर्न सक्छन् । म मेरो लुसीलाई धेरै माया गर्छु । मेरो अफिसबाट जब म थकित अनि चिन्तित घर र्फकन्छु, लुसी मलाई लिन घरको ढोकामा आइपुग्छे । लुसी खुरुरु आएको देखेर मेरो पनि सबै थकान र चिन्ता हराउँछ । म पनि उसलाई अंगालोमा बाँधेर खुबै माया गर्छु, अनि उसितै धेरै कुराकानी गर्छु । यसैले म गर्वसाथ भन्न सक्छु, लुसी मेरो सुख-दुःखको विश्वासिलो र भरपर्दाे साथी हो ।
