यौटा मोम अगाडि बल्छ अहिले हेर्दैछु हेर्दैछु म
आई झ्याप्प निभाउने पवनले सम्भावना देख्तिनँ
कालो खान्छ प्रकाश छर्छ यसले माथि धुवाँ फाल्दछ
टाढा भाग्दछ अन्धकार जब यो बत्ती कतै बल्दछ ।।
एकातर्फ प्रकाश छर्छ यसले आफैं जली रुन्छ कि
अर्कातर्फ सुशान्त श्निग्ध छ शिखा मानौ दुःखी पो छ कि
यौटी भर्खरकी कुनै युवती झैं सर्माउँदै पो छ कि
मानौ भर्खर भर्खरै पर सरी कौमार्य छर्दैछ कि ।।
पैलो पल्ट रजश्वला भई कुनै बाला नुहाईकन
आफैं भित्र भएछ सर्म कि बरा मुन्टो लुकाईकन
नौलो ज्ञान हुँदा बडो चकित झैं मुस्कान छाडिन् कि क्या
सेकौं ढाड भनी शरीर तिनले केही झुकाइन् कि क्या ।।
त्यो नौलो अनुभूतिले चकित झैं लाग्ने कुनै नारी हुन्
आफैं भित्र हराउने थकित भै लाग्ने कुनै प्यारी हुन्
मानौ यो अनुहार हो युवतीको मुस्कान छर्दैछ कि
यौटी सुन्दरीको मुहार सरिको यो मोम बल्दैछ कि ।।
आँखाका भरि वेदना छ त्यहीं नै छल्कन्छ आँसु पनि
आँखैको पुलती उमङ्गित हुँदै झल्कन्छ हाँसो पनि
मानौ शल्य क्रिया गरे पछि कुनै आमा फिरिन् होसमा
सारै कष्ट सहेर भर्खर थिइन् सन्त्रासका रापमा ।।
हेर्दैछिन् नवजात पुत्र अघिको बिर्सेर सारा पिर
लामो घोर पीडा सहेर अहिले ठाडो लगाई शिर
बल्दो दीपशिखा तिनै जननीको सन्तुष्ट त्यो नेत्र हो
शुभ्र शान्त शिखा म देख्छु अहिले यो मोमका बत्तीमा ।।
चम्किए सरी धप्प धप्प गरी यो बल्दैछ एकातिर
आँसु झार्दछ तप्प तप्प चुहिँदै लाग्दैछ अर्कातिर
आयो कि विधवा कुनै युवतीमा त्यो यामको कल्पना
एकैसाथ सुहार रात र पति स्वर्गीयको सम्झना ।
पग्ली तप्तप मोम झर्दछ यहाँ यस्कै अगाडि छु म
हेरिबस्छु शिखा छ श्निग्ध अहिले निस्तब्धतामा छु म
यस्को दृश्य मलाई आज किन हो लाग्यो बडो मार्मिक
पा¥यो छाप मलाई नारीहरुका बेग्लै अवस्थासँग ।।
।। समाप्त ।।
