‘लिम्बुवान पुस्तकालय संस्थापक समुह, सिङ्गापुर’ ले लिम्बुवान अध्ययन केन्द्रलाई ‘लिम्बुवान पुस्तकालय’ स्थापनाको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।
२०७३ साल चैत्र ३१ गते अध्ययन केन्द्रको कार्यालय, ललितपुर चुम्लुङ हिममा आयोजित एक कार्यक्रममा अध्ययन केन्द्रका संयोजक अर्जुन लिम्बूलाई संयुक्त रुपमा रुपैयाँ पाँच लाख पाँच रुपैयाँको चेक हस्तान्तरण भएको हो । उक्त कार्यक्रममा लिम्बुवान पुस्तकालय संस्थापक समुह सिंगापुरको तर्फबाट तीन जना सदस्यहरु मान बहादुर कन्दङ्वा, भुपेन तुम्बापो र राजन लाबुङको उपस्थिती रहेको थियो ।
‘लिम्बुवान पुस्तकालय संस्थापक समुह, सिङ्गापुर’ मा सेवानिवृत्त साथै सिंगापुरमा सेवारत गरि जम्मा १८ जना सदस्यहरु रहेका छन् । उनीहरुको नामावली निम्न लिखित रहेको छ:
१. मान बहादुर कन्दङ्वा
२. टंक याङ्हिङ्वाङ
३. राजन लाबुङ
४. भुपेन तुम्बापो
५. गोपालसिं पाक्सॉंवा
६. मिलन इम्सङ
७. ज्ञानेन्द्र यक्सो
८. उपेन्द्र लिवाङ
९. नर कुमार पाङ्मा
१०. अग्नि प्रसाद इस्वो
११. दिलिप वनेम
१२. रंजित थाङ्देन
१३. क्षितिज लावती
१४. लक्की लिम्बू खिम्दिङ
१५. नरेन लिम्बू मावो
१६. हाङ्पाल आङ्बुहाङ
१७. लक्ष्मीकुमार याङ्हिङ्वाङ
१८. कर्णदीप तुम्वाहाम्फे
जसमध्ये संस्थापक समुहका सदस्य मान बहादुर कन्दङ्वाले सबैभन्दा बढी रुपैयाँ एक लाख सत्तरी हजार रुपैयाँको योगदान दिएका छन् । पुस्तकालय स्थापनासँगै यसको निरन्तर सञ्चालन र व्यवस्थापनका लागि पनि सहयोग जारि रहने कुरा सिङ्गापुरबाट संयोजन गरिरहेका टंक याङहिङबाङले बताएका छन् ।
उक्त कार्यक्रममा लिम्बुवान अध्ययन केन्द्रका सदस्य डिबी आङबुङले लिम्बुवान पुस्तकालय स्थापनाको औचित्य, आवश्यकता, महत्व तथा विविध पक्षमा पेपर प्रस्तुत गरेका थिए । उनका अनुसार लिम्बू जाति र लिम्बुवानसम्बन्धी जति पनि भएका सम्पूर्ण अध्ययन सामग्री पुस्तक र पत्र-पत्रिका तथा ऐतिहासिक दस्तावेजहरू एकै ठाउँमा कतै पनि छैनन् । ती कति त सकेर हराएर गए भने कति चाँही उचित संरक्षण, सम्वर्द्धन र व्यवस्थापनको अभावले चाँडै हराएर जाने अवस्थामा छन् । यस्ता सम्पूर्ण प्रकाशित, हस्तलिखित वा सङ्कलित विभिन्न अध्ययन सामग्रीहरूलाई मागेर, किनेर वा नक्कलप्रति उतारेरै भए पनि एकै ठाउामा सङ्कलन गरी राख् नसक्नु आजको पहिलो र प्रमुख आवश्यकता भएकाले लिम्बुवान अध्ययन केन्द्रले कदम अघि बढाएको बताए ।
कार्यक्रममा बोल्दै कियाचु केन्द्रीय महासचिव गोविन्द आङबुङले यस लिम्बुवान लाइब्रेरीले लिम्बू समुदायको बौद्धिक तथा प्राज्ञिक विकासमा ठूलो जग निर्माण गर्ने कुरा बताए ।
कार्यक्रममा अध्ययन केन्द्रका संयोजक अर्जुन लिम्बूले लाइबे्ररीजस्तो महत्वकांक्षी योजनामा साथ दिएकोमा लिम्बुवान पुस्तकालय संस्थापक समुह, सिङ्गापुरप्रति आभार प्रकट गर्दै अन्य व्यक्ति वा समुदायलाई पनि यसको निरन्तर सञ्चालन र व्यवस्थापनका लागि सहयोगको अपिल गरे । साथै यथासक्य चाँडो अध्ययन सामग्रीहरू खरिद वा सङ्कलन गरी पुस्तकालयको आरम्भ हुने पनि उनले जानकारी दिए ।
लिम्बुवान अध्ययन केन्द्र एउटा बिशुद्ध प्राज्ञिक संस्था हो जसले लिम्बू समुदायका विभिन्न पक्षमा अध्ययन, अनुसन्धान, अन्तरक्रिया, अभिलेखीकरण, प्रकाशन लगायतका क्षेत्रमा कार्य गरिरहेको छ । ‘लिम्बुवान लाइब्रेरी’ हाल किरात याक्थुङ चुम्लुङ अन्तर्गत् यसको एक विषयगत सङ्गठनका रुपमा गठित प्राज्ञिक संस्था लिम्बुवान अध्ययन केन्द्रको मातहतमा रहने पुस्तकालय हो । यसको अवधारणा, व्यवस्थापन र सञ्चालन सम्बन्धी विशेष विनियम बनाई लिम्बुवान अध्ययन केन्द्रले नियमित रुपमा व्यवस्थापन र सञ्चालन गर्नेछ । यसले अहिले काठमाण्डौ, लिम्बुवान तथा देश-विदेशमा उच्चशिक्षा हासिल गरिहेका विद्यार्थी र विभिन्न क्षेत्रका स्वतन्त्र अध्येता तथा अभियन्ताहरूलाई समेत एक अध्ययन केन्द्र ( Resource Centre )को रुपमा सेवा प्रदान गर्नेछ ।
references:
yakthungonline.com
nayasamachar.com.np
