अब फेरि भर्नाको लफडो आयो


छोरीको दाँत उम्रनु कता हो कता घरमा देउसी भैलो खेल्नेहरुको जस्तै लावालस्कर लाग्न थाल्यो छोरी माग्नेहरुको । मानौ यी सबै कन्यार्थी वरहरू हुन् । एउटा टोली घरबाट निस्कन पाएका छैन, अर्को टोली थपक्क घरमा आइपुग्छ, अर्को निस्कन पाएको छैन, अर्को लगत्तै आइपुग्छ । कस्तो कचेडा हो यो, अनि कस्तो लफडा हो यो ! म आजित हुन लागिसकें । आमाको दूध छुटाएकै छैन उसलाई भर्ना गर्नुको तानातान देखेर विरक्तीन थालिसकी छोरीकी आमा पनि । उसलाई किन्नर गार्डेनमा भर्ना गरिहाल्नु अरे । यिनीहरुका आँखाबाट यो नानीलाई लुकाउनै पर्ने भयो । केही सिप नलागेर लुकाएँ पनि । मानौं म छोरीलाई दाँतै नउम्रिई गुफा बसाउँदै छु । खुला सास फेर्न दिने भएनन् पापीहरुले, मलाई आफ्नो खुसीले केही गर्न दिने भएनन् असतीहरुले । यिनका अघि पार्नु भनेको शिकारीहरुले शिकार पाउनु जस्तो हुन्छ भनेर नै यिनका आँखाबाट छोरी र उसकी आमालाई अलग्गै राखें तर के गर्नु र छोराछोरी घरमा थुन्नु पनि ता भएन । अलिक खुकुलो ता गर्नु पनि पर्यो । छोरी र उसकी आमालाई देखे कि यिनका तीन नेत्र ताता हुन थाले । कसैले छोरीको रुपको, कसैले उसको आकारप्रकारको, कसैले उसका अनुहारको र कसैले ता उसका बाँकी इन्द्रियहरुको पनि गुणगान गर्न छालिसके । यिनको के रिन खाइदिएको छ र आफ्ना छोराछोरीलाई घरमा गुम्स्याऊँ हँ भन्ने लागेर अलिक खुकुला गरिदिएको ता यो गति पो भयो । अलिक हलुका गरेको पनि यिनले आँखा गाडीसके भनेर आमाचैं रिसले चूरचूर भइसकी । बरु म माइत जान्छु है भनेर उसले भन्न थालिसकी । छोरी माग्न दुई चार टोली दैनिक जसो आइरहेकोले आजित भइसकियो ।

उज्यालो हुनै नपाई ढोका ढक्ढक्यायो एक टोलीले । भित्रैबाट कराएँ— ‘मेरा छोरीको भर्खर पास्नी मात्र भएको छ । यसो दाँत ता पलाउँन दिनुहोस् न, दाँत आएपछि तपाईंकैमा आएर भर्ना गर्छु, प्रोसपेक्टसहरू के के छन् सबै कुरा छाडेर अहिलेलाई जानुहोस् है ।”

सबैले देशका एक एक भाग दाबी गरेर पनि आफ्नो कित्ता नछुटिएकोमा पछि परिने भयो भनेर आन्दोलनको तयारीमा फलानो जातकाहरुको भेलाका लागि आमन्त्रण गर्न पो आएका रहेछन् ती ता ।

जा है कुरा मिलेनछ भन्ने लाग्यो र कुरा मिलाएँ ।

फेरि पनि मैले छोरी माग्नेहरुकै लफडामा लाग्नु परिरह्यो । केही दिनसम्म ता मैले आफैं यिनका अघि डिल पनि गरिहेरें । यिनले नानाभाँतीका अफर पनि गरे । त्यसबाट मैले के बुझेें भने यिनले पढाइलाईभन्दा पनि विद्यालयको सुविधा, विद्यालयको ड्रेस, विद्यालयको भवन, त्यसका कोठा, त्यहाँ प्रयोग गरिने कम्प्युटर, खेलकुदको मैदान, पार्किङको व्यवस्था, स्वीमिङ पुल, यातायातमा कार भए कार, वस भए बस, अर्थात् जे चाह्यो त्यसको सुविधा प्रोभाइड गर्नेहरू हुन् र यी । त्यसैको विज्ञापन गर्न आएका हुन् । एउटा टोलीले ता आफ्नो विद्यालयको बढाइँ गर्दा कक्षा कोठाहरू एस्सी, नन एसी भएका र एट्याच बाथरुमहरू समेत भएको बताउन पनि पछि परेनन् । मैले ठानें मानौं यी पाँच तारे होटेलहरू हुन् । मेरा लागि यी त्यस्तै देखिए ।

सोधें पनि अँ यो मेरो छोरी जन्मदै मात्र छ, दूध पनि छुटेको छैन, यसलाई एट्याज बाथरुम र खेलकुद मैनादको के अर्थ ?

उनीहरुमध्ये एक जना मिसले उनीहरुकै बीचमा खासखुस भाषामा भनेको सुनियो यो कुरा ता अलिक ठुलाठुला नानीहरुलाई माग्नु पर्दा पो भन्ने हो त । तपाईं पनि कस्तो फसाद पार्ने होउ, यहाँ भन्ने होइन । बुझ्नु भएन ?

उनीहरुका साउतीबाट मैले के बुझें भने उनीहरुमा कुन ठाउँमा भन्नु पर्ने कुरा पनि थाहा नपाएका मिस मेडमहरू रहेछन् ।

मेरा घरमा यस्तैहरुको लावालस्कर लाग्यो छोरी जन्मदैदेखि । धेरैले आधाउधी नेपाली मिसिएको कच्याककुचुक्क परेको अङ्ग्रेजी नै बोले । कसैले नास्ता पाइने, कसैले ड्रेस पाइने, कसैले औषधी उपचार गरिदिने, कसैले जुत्ता हालिदिने, कसैले गुडिया किनिदिने जस्ता कुरा गरेर मलाई अचम्मै पारिसके । सबैले नानाभाँतीका ललिपप देखाएर घरमा सुत्न बस्न नपाउने स्थिति भइसक्यो । मलाई सजिलैसँग भन्न अप्ठेरो पर्ने कुराहरू आमाचैंलाई भनियो । उसकी आमा पनि आिजत भइसकी । उसको छोरी देखाउनै भएको छैन । अपहरण नै पो गरेर लाने हुन् कि भन्ने भइसक्यो । न भोक, न निद्रा भइयो । यस्तो हुन थालेकोमा उसकी आमाचैलाई पनि विद्यालयबाट आएका डफ्फाहरुले एकान्तमा पारेर केही अफर गरेछन् । उसलाई भने महिलाहरुलाई नै लगाएर फकाएछन् । एकान्तमा लगेर भनेछन्, छोरालाई हगी लगाइदिने, धाइको दुध चुसाउने, मालिस गरिदिने लगायतका नाना अफरहरू भएछन् । छोरीलाई जस्तो ड्रेस लगादिनु भन्नुहुन्छ उस्तै लगाइदिन्छौ भनेछन् । जे माग्नुहुन्छ त्यही कुरा पाइन्छ भनेछन् । एउटा विद्यालयबाट ता तपाईंकी छोरी ठुली भएपछि जस्तो लुगा चाहियो भन्छे त्यस्तै हालिदिन्छौसम्म पनि भनेछन् । छोरी भर्ना हुनु ता परै जाओस् अहिले कोक्रोमा पनि हालिएको छैन । अनि कहाँकाट यो सबै लफडा आएको होला भनेर मलाई टाउको भारी भइसक्यो ।

दिक्क भएर छोरीकी उसकी आमाले नै एक जुक्ती झिकी— आ लगेर एउटा स्कुलमा भर्ना गरिहाल्नुपर्छ, अनि मात्र यिनको मेख मर्छ । नत्र यिनले यत्तिकै हो, कसैले के दिने, कसैले के दिने भन्छन् । अकास र पत्तालको कुरा देखाएर चौपट ! दिँदा दिँदा उनका विद्यालयमा भर्ना गर्ने हो भने उनीहरुकोमा भर्ना भई मात्र दिनुपर्छ हाम्री छोरीले पढ्नु पर्ने कुरा पनि उनीहरुले नै पढिदेलान् जस्तो गरिसके । परीक्षा पनि उनीहरुले नै लेखिदेलान् भनेजस्तै भइसक्यो । लौ छोरीलाई भोलि नै एउटा विद्यालयमा लगेर भर्ना गरिहाल्नुहोस् । अनेकका कचेडा र लफडामा नफस्नुहोस् ।

हो त नि भनेर मैले पनि भोलिपल्टै छोरीलाई काखमा बोकेर हिंडे कोठा कोठा खोलिएका बोर्डिगमा । वास्तवमा यिनले घरमा बस्न दिएनन्, मार्ने भए भन्ने ठानेर शहरका बोर्डिंगतिर धाइफल तोडें । बाटोको घरैपिछे दायाँबायाँ सबैतिर विद्यालय भएपछि पो समस्या पर्ने भयो । कता र कुनमा भर्ना गर्ने हो भन्ने कुरामा म रनभुल्लमा परें । बाटैमा पहिले देखियो पेन्टागन, अलिक पछि गएको त्यहाँ आइन्सटाइन रहेछ । त्यसपछि चहार्दैजाँदा कतै गोल्डेन गेट, कतै फ्लोरिडा, कतै वासिङटन्, कतै नासा, कतै चेल्सी, कतै वार्सिलोना, कतै पाइथागोरस, कतै क्याराभान, कतै चर्चिल, कतै वार्सा, क्लियोप्याट्रा कतै क्रिस्ट, कतै जाभिएर हरे म ता निकै फसादमा पो परें । अब कुन विद्यालयमा भर्ना गर्ने हो भनेर मलाई रिंगटै चल्यो । नेपाली नाम भएको विद्यालय एउटा पनि पाइएन । विद्यालयका नामैले मलाई छक्का छुटाए । कुनैभन्दा कुनै कम देखिएनन् । धेरैतिर खोज्न जान पनि सकिनँ । खोज्दै जाँदा सायद कार्गिल, पेसावर, रावलपिन्डी, आणविक भट्टी, हिरोसीमा, नागासाकी, चेर्नोभिल, भोपाल जस्ता विद्यालयहरू पनि पाइन्थे होला, तर कोसिस गरिनँ । जति भेटिए ती सबै काफी थिए ।

पढाइभन्दा पनि नाम र दाममा उत्तम लाग्ने खालका यी विद्यालयहरुले मेरो सातो उडाए । एउटा विद्यालयमा लुसुक्क पसेर छोरीको भर्ना गर्नु पर्यो भनेको ता लोकसेवा आयोगको मौखिक परीक्षामा जस्तो गरी मलाई पो सोधियो कति वर्षकी छोरी छे, कस्ती छे, के कस्तो लुगा लगाउन रुचाउँछे, कुन वर्णकी छे, कति उचाइकी छे, उसका केटा साथी छन् छैनन् आदि इत्यादि । छोरीका बारेमा लामो मौखिक अन्तर्वार्ता सकियो । सोध्दासोध्दा हुने पनि नहुने पनि सोधिसकेपछि अनि पालो आयो छोरीका आमाबाबुको विषयमा बुझ्ने ।

किन यस्तो सास्ती गर्नुहुन्छ ? । एकैचोटि भर्ना गरे हुँदैन ? मैले अलिक रिसाएर सोधें ।

काँ त्यसरी हुन्छ ? तपाई छोरीको शुल्क तिर्न सक्नुहुन्छ हुन्न ? तपाईंको स्टाटस कस्तो छ ? आदि इत्यादि बुझ्नु पर्यो नि ! त्यसैले सोधेको । उत्तर पाएँ । सायद मेरो योग्यताले र मेरो आयले नै यिनले मेरी छोरीलाई भर्ना गर्ने रहेछन् भन्ने लाग्यो । अनि झनक्क रिस उठेर आयो ।

म पनि तपाईंहरुको स्टाटस बुझ्न सक्छु ? भनेर सोध्रे ।

हुन्छ सोध्नुहोस् न भन्ने जवाफ पाएपछि मेले उनीहरलाई सोधें तपाईंहका यी मिस्त्री के टालिरहेका हुन् ? कताकता टालटुल गरेको छ तपाईंहरुले ? भूकम्प आयो भने भाग्ने ठाउँ खोइ ? अनि भूकम्पप्रतिरोधी भवन छ तपाईंहरुको ? यो मित्तो केका लागि टालेको ? किन टालेको ? कक्षा कोठाहरू कति टालटुल पार्नुभएको छ ? लौ देखाउनुहोस् ।

मैले जंगिएर भनेपछि प्रिन्सिपल अलिक हच्कििएका देखिए । तपाईंहरुको विद्यालय कहिले लड्ने हो केही ठेगान रैनछ म मेरी छोरी तपाईंहरुकोमा किचाउन र मार्न अहिले भर्ना गर्दिनँ है । भन्दै त्यहाँबाट बाहिर निस्किएँ । बरु अरु अरुका स्टाटस पनि केही दिनसम्मलाई बुझ्नुपर्यो र भर्ना गर्नु पर्ला भन्दै मनभरि बोझ बोकेर बाहिर निस्किएँ ।

बाहिर ता आएँ, अहिले म बिलखबन्दमा परेको छु । अब कता लगेर यो छोरीलाई भर्ना गर्नु पर्ने हो, दशैंको भेडाच्याङ्ग्राहरुको जस्तो मेरो स्टाटस हेरेर छोरी भर्ना गर्ने रहेछन् । विद्यार्थीहरुको योग्यताभन्दा पनि बाबुआमाको आमदानीलाई नै यिनले मूल विषयवस्तु बनाएका हुँदा रहेछन् । बरु होस् एकै चिहान बनाउने खालको बहिर रँगाएको र भित्र टालेको विद्यालयमा पढाउन भर्ना गर्नुभन्दा कुनै मान्द्रोहरुले बेरबार गरेका विद्यालय छन् कि छेनन् बुझ्नु पो पर्ने भो भन्दै लुसुलुसु घरतिर लागें ।
हेरौं के हुन्छ अब…..

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *