तिमी मेरो सम्झनामा, आयौ सुस्त-सुस्त
सुगन्धझै ह्रदयमा, छायौ सुस्त-सुस्त
हर्ष हो कि पिडा हो यो, या हो अन्य केही
मात बनी मस्तिष्कमा, छायौ सुस्त-सुस्त
असर कस्तो पर्यो कुन्नी तिम्रो चाहनाको
कुटु-कुटु गर्दै मुटु, खायौ सुस्त-सुस्त
लक्ष तिम्रो के हो कुन्नि थाहा छैन केही
ह्रदयमै बिझ्ने गीत, गायौ सुस्त-सुस्त
तिम्रो कब्जा बढ्दै गा’छ, सोचाइमा पनि
मिठो बिष गिन्दगीमा, लायौ सुस्त-सुस्त
मेरो आफ्नै हक पनि , लाग्छ हराउदैछु
मेरो निजी अधिकार, पायौ सुस्त-सुस्त
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
