आफ्नै सेनापतिद्वारा कैद हुनुपर्ने
मेरो सुप्रीम कमाण्डरको अति प्रिय लालसैनिक
म बालकृष्ण ढुङ्गेल।
जसको आदेशमा मैले घनघोर युद्ध लडें
कयौं मोर्चा जितें कयौं मोर्चा हारें
जेल र नेल बेहोरें,
प्रतिक्रियावादी सत्ताले वलात्कारी र दुराचारी करार गरेका
अपराधीहरुको लात्ती र भकुण्डो खाएर
कालकोठरीमा वर्षौं गुजारें
कमरेड,
मलाई चिन्नुहुन्छ ?
म बालकृष्ण ढुङ्गेल
तिनका यातना गृहमा
निर्मम यातनाद्वारा प्रताडित भएर
बारमबार मर्दै/बाच्दै
अन्तत: जीर्ण भएको
आफ्नै शरीरको भारी बोकेर
२/४ दिन खुला आकाश मुनि छोडिएको
म त्यही हजुरको अब्बल रातो सैनिक।
मेरा कति हिसाब किताब त्यतिकै छ्न
अधुरै/अपुरै
लिनु मेरो पनि कम्ती थिएन, तिनीहरूसँग
मैले कोसँग मागौ ?
हिजो अरुको ठाउमा आज हजुर हुनुहुन्छ
उनीहरू हजुरलाई देखाउँछन
हजुर अरुलाई देखाउनुहुन्छ
अनि भन्नू हुन्छ भो छोडिदेउ।
कयौं साल छोडें पनि मैले
तर उनीहरुले छोडेनन।
आज
मलाई खुला हावामा सास फेर्न
मलाई स्वतन्त्र भएर बाँच्न अनि मर्न पनि
प्रतिबन्ध छ।
तपाईले बिर्सिए पनि
तपाईलाई सम्झिरहने
म हजुरको प्रिय सिपाही बालकृष्ण ढुङ्गेल।
विचाराधिन हजारौं मुद्धा अलपत्र पार्दै
हामीले हाम्रा अदालत विघटन गर्यौं
उहीँ थोत्रा जुत्ता चप्पल भिर्न
हामीले आफ्ना मेहनतले निर्माण गरेको
त्यो महान बिकल्प खारेज गर्यौं।
कयौं आफ्नै सपनाहरुको रेटि रेटि हत्या गर्यौं
हजारौं कुशल र अब्बल कमाण्डरहरुलाई
कयौंलाई सित्तैमा बेच्यौं
कयौंलाई अरबका मरुभूमि खेद् यौं
मेरो प्रिय सुप्रीम कमाण्डर !
के म एउटा प्रश्न सोध्न सक्छु ?
अरुबाट लखेटिन्दा लखेटिन्दा
थकित गलित यो शरीरले
हजुरको लखेटाई कसरी सहन गर्छ ?
एउटा जवाफ फेरि चाहिएको छ
बिघटित हाम्रा अदालत
फेरि पुनर्स्थापित गरौं या लम्पसार परौं
मेरो प्रिय सुप्रीमो
भन्नुस अब
म बालकृष्ण ढुङ्गेल के गरौं
https://www.majheri.com/taxonomy_vtn/term/4184
