Skip to content

वर्तमानमा जिउने कला छ नयाँ वर्षमा

उकाली ओराली पार गर्दै २०७३ साल पनि वितिसक्यो । २०७४ सालदेखि हरेक पल आशा गरे अनूरुप मङ्गलमय होस् यही शुभ–कामना गरौं । नूतन वर्षको स्वर्ण रश्मीले छरेर गगन आल्हादित होस् । समुच्च विश्व नै हर्षित, प्रमुदित र उत्साहित होस् । हृदय सरोवर होस् । वन्धुत्व सर्वत्र छाओस् । जनजनमा उल्लास आओस् । यस्तो खुसी आओस् जसले भेदभाव तोडिदेओस् । नवल लालीले सारा जगतलाई उन्मादित गरिदेओस् । आयो नयाँ वर्ष तपाईंको दैलोमा, ढकढकाइरहेछ बारम्बार ढोकामा । वितेका वर्षका भारी विसाई ल्याइसक्यो नयाँ प्रेम उमङ्ग । दुबै हात फैलाई स्वागत गरेको छु नव वर्ष तिमीलाई । ईंश्वरलाई पनि धन्यवाद दिएको छु । आउनुहोस् सबैजना नयाँ वर्षको पहिलो कुञ्ज प्रभातको मिर्मिरे हेरौं । अनि सङ्कल्प गरौं । मेटौं आपसी वैरभाव । आपसमा बाडौं उपहार । सबैजना बनौं साथी आत्मीय । सबै समाज मिली देशलाई प्रेमील बनाऔं । नयाँ उमङ्गले सिकौं भुलिसकेको प्रेमलाई । संसारलाई भनौं “हामी एक हौ”ं । यही विजयको प्रेमले सबैलाई दिऊँ नयाँ वर्षको शुभ–कामना ।

पहिलेको जे छ राम्रो त्यसलाई लिएर अघि बढौं । पहिलेको जे छ खराब त्यसलाई भुलौं । नयाँ सपनाका साथ होस् तपाईंकोे त्यो उमङ्ग । जीवनको डोर त त्यही पुरानो हो तर उडाऔं नयाँ चङ्गा । गरेर आफ्नो हौसला बुलन्द, अघि तपाईं बढ्दै जानुहोस् । पहिलेका गल्ती अब नदोहोर्याउनुहोस् , त्यसबाट शिक्षा लिनुहोस् । जीवनमा जतिसुकै ठूलो भूकम्प आएता पनि हिम्मतले साहसका साथ सामना गरौं । आफूलाई मजबुत पारौं, गाह«ो साँघुरोबाट कहिल्यै नडगौं । जीवन हो अथाह सागर, सदैव यसमा बढ्नुहोस् । तपाईंको नाउलाई चलाउने बहानाले तपाईंकै हातले किनारामा ल्याउनु छ । प्रेमभाव, आदर, भक्ति विश्वासमा सदा अटल हुनुपर्छ । कसैलाई त किन अपशब्द गरी आफू खराब हुने ? सपना देख्न नछोड्नुहोस् । विपना बनाउन असन्तोष पनि चाहिन्छ अनि हुन्छ सपना साकार । कोशिशले हरेक साल बाँध्दै जानुहोस् गाँठो । त्यही गाँठोको सिँढीमा परिपक्वताका साथ उक्लिनु छ नयाँ चढान । एउटा नयाँ आकाशमा उडान भर्नु छ । एउटा नयाँ दिशामा अवश्य सफल होइन्छ ।

वितेको सालले जे पूरा गर्न सकेन त्यो कार्यभार अब नयाँ वर्षलाई आयो । आपसी झैंझगडा मनमुटावहरूका विष फाल्ने तपाईंको काँधमा आयो । ग्लोबल वार्मिङ्गका कारण जनजीवन दुरुह छ । संगठीत भएर कार्य गरी नयाँ किरणले बचाउनु छ यसलाई । विवश छन् कति निरीहहरू आत्महत्या गर्न । अब त्यस्तो गर्न नपर्ने गरी नयाँ क्रान्ति ल्याउनु जरुरी छ । अन्धविश्वास, अज्ञानता, अमानवीयताको दुश्चक्रमा फसेको छ सर्वत्र समाज । यसले प्रगति रोकिएको छ । आर्जित गरेर ज्ञान, सगरमाथाको चुचुरो चुम्नु छ । नैयालाई डुब्नुबाट पार लाउनु छ । धर्म, जात, भाषाका जञ्जीरले एक आपसमा वैमनष्यता फैलाइएको छ , त्यसलाई मानवताले मिलेर हामी सबै एक हुनु छ ।

स्वागत छ नयाँ वर्ष तिमीलाई । नयाँ किरण फैलाऊ तिमी । फोकटमा नवितोस् यो अबको नयाँ वर्ष । सुल्झाउन सकोस् नयाँ रुपले । समाधान होस् सबैको लक्ष्य । नयाँको यो उमङ्ग साँच्चिक्कै सुअवसर हो । हामी सबै नयाँ वर्ष अङ्गालिरहेका छौं । पुरानो सालको निर्जन, सुख्खा, बाँझो पनि झेल्यौं । अब हुनेछ नयाँ उमङ्ग । भूकम्प, नाकाबन्दीले थिलथिलो पार्दा हामीले रुनु परेको थियो । अझै आलो घाउ भरिएको छैन । त्यसलाई मलमपट्टी गर्नु नै छ । हाम्रो खुसी हामीसँग कुरा गर्न खोज्दा पनि एक्लो छ । यी सम्पूर्ण कुराहरूको लेखाजोखा गरिरहँदा हाम्रा तमाम विश्वासहरू डिगमिग भइरहेका छन् । भ्रष्टाचारको जालो खत्तम भएमा जनताले केही राहत पाउने थिए । हरेक नयाँ वर्षमा सफल हुन असफल प्रयासहरू भइरहेका छन् । हो कि ? होइन कि ? तर यो साल सफल हुन्छ भत्रे लागेको छ । हरेक दिशाको कुना–कन्दराबाट जुन पुकार आइरहेको छ त्यही आवाजले हरेक दुःखीयारीहरूमा खुसीयाली ल्याउनु छ । हरेक चेहरामा उदासी भगाई उत्साहित बनाउनु छ । एकपटक फेरि शुभ–कामनाले भारी बनाएर बहार फैलाऔं ।

कालको प्रवाहबाट निक्लेर अगाडि खडा हुन्छ नव वर्ष फक्रिएर र गर्न थाल्नेछ निवेदन र याद दिलाउने छ हाम्रो निरीह वचन । समयको नदीको तटमा चिन्तन एकान्तमा बसेर, गरेर प्रतिक्षा, नयाँ वर्षको अवसर ल्याउनका लागि म आफैँ नव वर्षसँग संवाद गर्न थालेँ । के भयो तिम्रो जे गरेका थियौ तिमीले वाचा केही मसँग, केही अरुसँग, केही आफूसँग र केही अन्यबाट पनि । लिएको थिएँ केही निर्णय मैले हाँसेर भनेँ । वाचा, कसम, निर्णय कुन जमानाको नव वर्ष हौ तिमी ? दिल बहलाउने एउटै तरिका छ, हरेक नव वर्ष यो पक्का छ । कैयौं वर्षको हाम्रो तपस्या छ । यदि तिमीले गम्भिरताले लिएमा अवश्य सफल हुनेछ नत्र यस्तै होइनेछ । मैले फेरि सोधेँ । हामीलाई नयाँ वर्षमा केही होइन पूरै नयाँ चाहिन्छ । त के नयाँ वर्षको कामना खराब हो ? नयाँ वर्षको उमङ्गको पहिलो दिन राम्रा–राम्रा बाचा गरिनेछन् । हरेक साल जस्तै वर्ष वित्दै जाँदा अभिलाषा घट्दै नजाउन् । धेरै उदासी हामीले विगतका नयाँ वर्षहरूमा झेल्यौं । के हामीले यसलाई भुल्न सक्छौं ? हामीले धेरै आँसु झारी सक्यौं अब खुसीको आँसु ल्याउनु छ यो नयाँ वर्षले ।

गीत नयाँ गाउने कि के ! धुमधाम मनाउने कि के ! आफूलाई मस्तीले हदैसम्म भुलेर नयाँ वर्षको स्वागत गर्छन् सबैजना । बेलगाम जिन्दगीलाई एकदिन डुबाएर कहाँ सधैं ३६५ दिन यस्तै हुन्छ र ? वर्षको आखिरि दिनको आखिरि रात मात्र क्यालेण्डर परिवर्तन भइरहेछ । सबैका जिन्दगी उस्तै छ । बस् नयाँ वर्ष मनाउने तरिका परिवर्तन हुनु जरुरी छ कि जसले ३६५ दिन नै सुखद बनाओस् । एउटा अरु वर्ष वितिगयो । वितेका समय साथ हामी पनि त वितिरहेछौं । हामी बूढो हुँदैछौं यसलाई नस्विकारौं । हामी वरिष्ठ हुँदैछौं, परिपक्व हुँदैछौं यसलाई स्विकारौं । अनि हामीमा सदा उमङ्ग हुनेछ । यही उमङ्गको रश्मीले कालरात्रि मेट्नेछ । उमेरको जुन पूँजी छ यो दुनीयाँको प्रगतीमा लगाऔं । नेताको भाषण जस्तो पूरा नहुने वाचा–कसम नहोउन् । गरेका वाचा–कसम सबै पूरा होउन् । साँच्चै नयाँ वर्ष नवीनताको पखेटा हो र पलपलको उडानले जूनताराको सयर गर्न पाउने छ । धर्तीमा सुगन्ध आउने छ । आशा कहिल्यै कृतिम नहोउन् । नाच्नेछन् कठपुतली पनि, आशाले बाँसुरी बजाउने छ । मनमा धर्ती हुनेछ र धर्तीभरि सुन हुनेछ । जिन्दगी बदलेको छैन । मात्र हामी धेरै अभिलाषा गर्छौं नयाँ वर्षमा अनि भन्छौं “विगतको गल्ती नदोहोर्याऔं । नयाँ समय आउँछ तर सोचेजस्तो परिवर्तन भइरहेको छैन । अभिलाषा पूरा भएन ।” समाजको समस्या यस्तो छ कि यसको ग्राफ यू (U)आकारले नघुमी सुल्झेला जस्तो छैन । सञ्चीत भएकोे नयाँ वर्षको अभिलाषाको कथा सुनाएँ यसरी मैले यहाँहरूलाई ।

तसर्थ बुलन्द हौसला हुनुपर्छ । हर सपना साकार हुनुपर्छ । वितिसकेको समय जो वितेर गयो । समयले जतिसुकै कोल्टे फेरे पनि तपाईंको त्यो वर्तमान नै हो नयाँ वर्ष । अगाडिको समय सबै त पूरै सोह्रै आना आफ्नो नै आफ्नो हो नि ! अनि किन धकाउने ? आउन दिनुहोस् ती नयाँ पलहरूलाई । नयाँ समय आउने जाने क्रम त भइरहन्छ वितेका समयको खराब कुराहरू त्याग्दै असल कुराहरूलाई निरन्तरता गर्दै वर्तमानमा जिए कुनै फिक्रीबिना अवश्य नै सुनमा सुगन्ध हुनेछ । तपाईंले अन्धकार मेटाउन बालेको दियो निभ्न सक्छ, यसलाई टिकाउन सचेत हुनैपर्छ । जिऊँ त जिऊँ होशपूर्वक वर्तमानमा प्रत्येक पल जिऊँ । सफलता यसमै छ । प्रत्येक समयको दृढ सन्देश यही छ र यसैले अवश्य ल्याउने छ सदा वसन्त । कालो बादलमा पनि चाँदीको सुनौलो टलक हुन्छ यही त हो नव वर्षको सन्देश र यसरी वर्तमानमा होशियारीका साथ जिउनुपर्छ भत्रे यत्ति ठूलो र उत्कृष्ट गन्तब्य देखाएको छ नयाँ वर्षले ।

नोट :– यो लेख २०७४ बैशाख १ गते नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा पनि प्रकाशन भइसकेको छ । साथै ढिलै भए पनि नव वर्ष २०७४को शुभकामनामा साथ यो नववर्ष सम्बन्धी निवन्धात्मक लेख यस मझेरी डट कमका पाठकहरुका लागि पेश गरेको छु ।

बिजु सुवेदी “विजय”
भक्तजन मार्ग
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *